|

तनहुँ : साउन १ गतेदेखि प्रत्येक व्यक्तिले व्यक्तिगत स्थायी लेखा नम्बर (पान) लिन निर्देशन दिएको छ। सरकारको निर्देशन कार्यान्वयन गर्दै तनहुँमा व्यक्तिगत स्थायी लेखा नम्बर लिनेको संख्या बढ्नुका साथै आन्तरिक राजश्व कार्यालय तनहुँमा भीड बढेको छ।

सरकारको निर्देशन अनुरुप तनहुँमा २० दिनको अवधिमा दुई हजार १०८ जनाले व्यक्तिगत स्थायी लेखा नम्बर लिएका छन्। आन्तरिक राजश्व कार्यालयबाट साउन महिनाको १ देखि १६ गतेसम्मको अवधिमा दुई हजार १०८ भन्दा बढीले व्यक्तिगत स्थायी लेखा नम्बर लिएको कार्यालयका प्रमुख सूर्यप्रसाद सेढाईले जानकारी दिए।

आर्थिक वर्ष २०७६/०७७ को सुरुवातदेखि कुनै पनि कार्यालय वा स्थानमा सेवा गरी तलब, भत्ता, ज्याला वा पारिश्रमिक लिने व्यक्तिले अनिवार्य रुपमा व्यक्तिगत स्थायी लेखा नम्बर लिनुपर्ने व्यवस्था गरे अनुरुप राजश्व कार्यालयमा पान नम्बर लिन आउनेको भीड लाग्ने गरेको छ।

आर्थिक वर्ष २०७६/०७७ देखि लेखा नम्बर नभएका श्रमिकलाई वितरण गरिने पारिश्रमिक वा ज्यालामा स्थायी लेखा नम्बर उल्लेख नगरिए एक हजार रुपैयाँ भन्दा बढी मूल्यको बिजक वापतको खर्च कट्टी गर्न नपाउने नियम लागू गरिएसँगै व्यक्तिगत स्थायी लेखा नम्बर लिनेको संख्या बढेको सेढाईको भनाई छ।

सोही अवधिमा ८७६ जनाले व्यवसायिक स्थायी लेखा नम्बर लिएको कार्यालयका सूचना अधिकारी मोहनरमण त्रिपाठीले जानकारी दिए। व्यक्तिगत र व्यवसायिक गरी साउन २० गतेसम्म दुई हजार ९८४ जनाले स्थायी लेखा नम्बर लिएका थिए। ‘विगतमा दैनिक १०० को हाराहारीमा स्थायी लेखा नम्बर लिने सेवाग्राही रहे पनि साउनदेखि भने दैनिक ४००/५०० ले स्थायी लेखा नम्बर लिने गरेको हाम्रो तथ्यांकमा छ’, उनले भने।

कार्यालयबाट तनहुँ, गोरखा, लमजुङ र मनाङका सेवाग्राहीले व्यक्तिगत र व्यवसायिक स्थायी लेखा नम्बर लिदै आएका छन्। व्यास १० का राजेन्द्र मिश्रले सरकारले कडा गरेपछि तलवभत्ता लिनका लागि लाइनमा बसेर स्थायी लेखा नम्बर लिएको बताए। उनले भने ‘पहिले एकमुष्ट कर कट्टी गरेको हुन्थ्यो, अहिले सिधै आफ्नो खाताबाट काटिएको देखिने भयो र तलवभत्ता लिने समस्या पनि समाधान भयो। त्यसैले समयमै पान लिइहालें।’

करदाता बढे

करदाता सेवा कार्यालयबाट विसं.२०७५ असार २० गतेदेखि आन्तरिक राजश्व कार्यालयको रुपमा स्तरोन्नति भएपछि अझ सेवा प्रभावकारी बन्दै गएको छ। करको दायरामा नआएका करदातालाई करको दायरामा ल्याउन कर शिक्षा, कर जागरण लगायत कार्यक्रम सञ्चालन गर्दै आएको कार्यालयले जनाएको छ। कर शिक्षाका बारेमा जानकार भएपछि करदाता बढ्दै गएका छन्।

कार्यालयमा हालसम्म ३९ हजार २३३ करदाता रहेकामा आयतर्फ २६ हजार २६७, मूल्य अभिवृद्धितर्फ दुई हजार ७७३, अन्तःशुल्कतर्फ दुई हजार १४६ र व्यक्तिगततर्फ आठ हजार २९ जना करको दायरामा आइसकेको कार्यालयका प्रमुख सूर्यप्रसाद सेढाईले जानकारी दिए। 

कर्मचारी अभाव

तनहुँसहित लमजुङ, गोरखा र मनाङ गरी चार जिल्ला कार्य क्षेत्र भएको आन्तरिक राजश्व कार्यालय तनहुँमा कर्मचारी अभाव छ। कार्यालयमा २१ दरबन्दी भए पनि १५ जना कर्मचारीले सेवा प्रवाह गरिरहेको कार्यालयले जनाएको छ। 

स्थायी लेखा नम्बर लिन कार्यालयमा सेवाग्राहीको भीड बढेसँगै दरबन्दीअनुसारको कर्मचारी सङ्ख्या नहुँदा सेवा प्रवाहमा समस्या भइरहेको कार्यालयका प्रमुख सूर्यप्रसाद सेढाईंले बताए। ‘कामको चाप बढेको छ। कर्मचारी अभावले समस्या भएको छ। मन्त्रालयमा कर्मचारी माग गरेको छु। सकेसम्म छिटो कर्मचारी पूर्ति भएमा सहज हुने थियो’, उनले भने। 

त्यस्तै पान नम्बर लिनको लागि भवनको संरचनाको व्यवस्थापन राम्रो नहुँदा सेवाग्राहीहरू धेरै हिड्नुपर्ने अवस्था आएको कार्यालय प्रमुख सेढाईले बताए। ‘एउटा झ्यालबाट कागजात दिएपछि सबै काम सकेर मात्रै अर्को झ्यालबाट सेवाग्राहीले कागजात लिन पाउथे। तर  भवनको संरचनाअनुसार अहिले कागजात एउटा झ्यालबाट अर्को झ्यालसम्म सेवाग्राहीले नै पुर्‍याउनुपर्ने बाध्यता छ’, उनले भने।

सेवाग्राहीलाई सजिलोका लागि कार्यालय परिसरमै नेपाल बैंकको काउण्टर समेत राखिएको कार्यालयले जनाएको छ। 

५ अर्ब बढी राजश्व संकलन

आन्तरिक राजश्व कार्यालय दमौलीले आर्थिक वर्ष ०७५/७६ मा रु ५ अर्ब ३० करोड ३० लाख ६ हजार कर सङ्कलन गरेको छ । त्यस अवधिमा ५ अर्ब १९ करोड ५२ लाख ४० हजार कर सङ्कलन गर्ने लक्ष्य रहेकोमा लक्ष्य भन्दा रु १० करोड ७७ लाख ६६ हजार बढी कर सङ्कलन भएको कार्यालयले जनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.