वन मन्त्रालयको सम्मान र पुरस्कार
वन मन्त्रालयको सम्मान र पुरस्कार
विराटनगर : सुनवर्षी नगरपालिका-६ टुपियाखाडीका ७६ वर्षीय निलबहादुर चौहान बिहान ५ बजे उठेर तीन घण्टा पूजापाठमा व्यस्त हुन्छन्। विष्णु र लक्ष्मीनारायणको पूजा सकेपछि एक पटक आफ्नो खेतबारीमा फन्को मार्छन्। त्यसपछि खाना खाएर खेतमै पुग्छन्। ‘घोकन्ते विद्या, धावन्ते खेती’ पुरानै नेपाली उखान हो। वृद्ध निलबहादुर पनि त्यही खेतमा धाइरहन्छन्। उनले खेतमा धाएकै कारण राष्ट्रिय चर्चा बटुलेका छन्।
३५ वर्ष अगाडि तराईमा फँडानी हुँदा सालका धेरै रुख काटिए। काटिएका सालका रुखका जरा पनि धमाधम निकालियो। त्यहीबेला साल मासिने चिन्ताले निलबहादुर चौहानको मन पोल्यो। उनले मासिने चिन्ताले सालको विरुवा रोपेको २३ वर्ष पुग्यो। त्यसपछि उनको परिचय नै फेरियो। धेरैले चिन्ने उनको नाम हो सालबाजे। निजी वन लगाउनेमध्ये यसवर्ष (२०७५) को देशकै दोस्रो भए।
सुनवर्षीको टुपियाखाडीमा सानो सालघारी छ। रंगेलीबाट उर्लाबारी उक्लिने सडकखण्डको बक्राहा पुलबाटै देखिने सो सालघारीको निजी वन हो। सालको बीउ उमारेर आफ्नै पालामा जंगल बनेको यो देशमै उदाहरणीय वन हो। सालको विरुवा सर्दैन, उमार्दा उम्रिँदै र हुर्कन गाह्रो पनि गाह्रो पर्छ। वनविज्ञहरूको बुझाइमा पनि सालको विरूवा हुर्काउन धेरै गारो पर्छ। टुपियाखाडी वस्तीका चौहान बाले २०५२ सालमा एक सय सालका विरुवा वन कार्यालय पथरीबाट ल्याएर रोपेका थिए। त्यसमध्ये एउटा मात्रै बाँच्यो।
सबै विरुवा मरेपछि उनले २०५३ सालमा फेरि वन कार्यालयबाटै सालको बीउ ल्याएर रोपे। त्यही वीउबाट फैलिएर अहिले जंगल भएको छ। धान फलाउने खेतमा सालको विरुवा रोपेपछि धेरैले त्यतिबेला चौहानलाई ‘पागल’ पनि भने। कसैले सरकारले जग्गा खोस्ने भनेर डर त्रास पनि देखाए। तर उनले अनेक संघर्ष गरेर विरुवा हुर्काए। त्यसैको परिणाम अहिले त्यही सालको वन देशभरकै उत्कृष्ट २ मा पर्न सफल भयो।
१० कठ्ठा क्षेत्रफलको सालका रुखको गोलाई अहिले ४० इन्चदेखि १५ इन्चसम्म पुगेको छ। चौहानको वनमा २३ वर्ष पुगेका एक सय ६० वटा रूख छन्। २ वर्षमाथिका ५० वटा हुर्किने क्रममा छन्। १६५ वटा विरुवा यही जेठमा लगाइएको छ। त्यसबाहेक ४ विगाहा क्षेत्रफलमा अन्य ३० प्रजातिका विरुवा पनि लगाइसकेका छन्।
खेत मासेर जंगल बनाएँ
‘विरुवा त कति लगाइयो लगाइयो, भएजति र भेटेजति काम लाग्ने विरुवा रोपेको छु’, भोजपुरको कुलुङस्थित ठोटनेरीबाट झरेका सालबाजेले भने, ‘भावी पुस्तालाई साल र सखुवा चिनाउन खेत मासेर जंगल बनाएको हुँ।’ उनै चौहान अहिले सालबाजेको नामले परिचित छन्।
वन मन्त्रालयको सम्मान र पुरस्कार
सालबाजेलाई गत असार ३१ गते संघीय सरकार वन मन्त्रालयले ५० हजार राशिको पुरस्कारसहित सम्मानित गर्यो। यस्तै प्रदेश १ को वन मन्त्रालयले विरुवाको गोडमेल गर्न एक लाख ६४ हजार रुपैयाँको पावर टिलर दिएको छ। डिभिजन वन कार्यालय मोरङले पनि विभिन्न प्रोत्साहन र पुरस्कार प्रदान गरेको छ। निजी वन लगाएर आफ्नै बलबुतामा हुर्काएको अनुभव उनी सुनाउँछन्। आफ्नै खुसीले काम गरेर यो सफलता पाएको उनी सुनाउँछन्।
भावी सन्ततिलाई देखाउन सालका विरुवा रोपिदिएको उनी बताउँछन्। सालबाजेको जंगलमा चाडवाडमा पात लिन आउने छिमेकीको खाँचो हुँदैन। उनी जस्तै मोरङमा पछिल्लो समय निजी वन लगाउनेको संख्या बढिरहेको छ। सालबाजेको नजरमा वन लगाउनु भनेको छोराछोरी हुर्काउनु जस्तै अप्ठ्यारो छ।
बिहानदेखि बेलुकैसम्म जंगलमा रहँदा उनलाई आनन्द आउँछ। ‘यसले मलाई स्वस्थ्य र खुसीसँग बाँच्न सहयोग गरेको छ,’ उनी पुलकित हुँदै सुनाउँछन्। मिहिनेती कृषकलाई राज्यले सम्मान र अझै खुसी दिन सक्नुपर्ने उनको बुझाइ छ।
उनले धेरै दु:खले सालको रुख हुर्काए । तकाट्न भने विभिन्न झन्झट व्योहोर्नुपर्ने कुराले पिरोलेको छ। ‘वन त हुर्काइयो। अब काट्न पनि दिनुपर्यो। राज्यको नीति नियम हो पालना गरेर काट्न दिनुपपर्छ', उनी भन्छन्, 'कर पनि पनि त दिनुपर्छ। तर, झन्झटचाहिँ दिनु भएन। काम गर्नेलाई सम्मान पनि त गर्नुपर्यो राज्यले।’
तपाईंको ईमेल गोप्य राखिनेछ ।