|

डडेल्धुरा : सुदूरपश्चिम प्रदेशकै प्रसिद्ध धार्मिक शक्तिपिठ उग्रतारा मन्दिरको गुरु योजना निर्माण गरी भौतिक पूर्वाधार निर्माणको प्रक्रिया थालिएको छ। उग्रतारा क्षेत्रको समग्र विकासका लागि गुरु योजना निर्माण गरिएको हो।

समितिको चौथो साधारण सभा एवं अधिवेशनमा आफ्नो कार्यकालमा गरिएका कामबारे शुक्रबार जानकारी दिँदै उग्रतारा क्षेत्र विकास समिती अध्यक्ष तेजबहादुर साँकीले नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाको सांसद विकास कोष र पर्यटन कार्यालय नेपालगञ्जको सयुक्त रकमले गुरु योजना निर्माण गरिएको बताए।

गुरु योजना अनुसार भवन निर्माण गरी मन्दिर परिसरमा वेदविद्याआश्रम र गौशाला सञ्चालनमा रहेको उनले बताए। पर्यटन कार्यालय नेपालगञ्जको बजेटले खुल्ला रहेको मन्दिर परिसर घेरवार गरी खुल्ला चरिचरन बन्द गरिएको अध्यक्ष साँकीले बताए।

१०८ भागवत पूजाबाट संकलित ६५ लाख रुपैयाँबाट मन्दिरमा करिब तीन सय जना अटाउने क्षमताको प्रवचन हल निर्माण गरिएको छ। ‘३० लाख लगामीमा मन्दिर तल रहेको पानिको मुहान ऐतिहासिक नौला जाने बाटो र पिकनिकका लागि जस्ताले छाएका तीन वटा घर निर्माण गरिएका छन्’ उनले भने, ‘यसले पानी भर्न, स्नान गर्न जाने भक्तजनसँगै पिकनिक गर्न आउने आस्थावानहरुलाई निकै सहयोग पुगेको छ।’

यससँगै आफ्नो कार्यकालमा ६ लाखको अक्षय कोष स्थापना गरिएको अध्यक्ष साँकीले जानकारी दिए। कृषि विकास बैंकमा खाता खोली श्रद्धालुभक्तजन आस्थावानको आर्थिक सहयोगमा अक्षय कोष स्थापना भएको बताउँदै उनले अहिले एक वर्षमा ६ हजार पाँच सय रुपैयाँ व्याज प्राप्त भएको बताए।

शहरी विकास कार्यालय डोटी र अमरगढी नगरपालिकाको सहयोगमा मन्दिर परिसरमा नौं वटा सोलार बत्ति जडान गरिएका छन् भने समितिको आन्तरिक आमदानीबाट सिसिक्यामेरा जडान गरी सञ्चालनमा आएको अध्यक्ष साँकीले बताए।

२०६४ सालसम्म मन्दिरमा ४ आना मात्रै सुन रहेको थियो। उनकाअनुसार अहिले साढे सात तोलाका गहना रहेका छन्। साथै समितिका कानुनी सल्लाहकारको सहयोगमा उग्रतारा मन्दिर क्षेत्रको १ सय ७७ रोपनी जमिन दर्ता गर्न गुठी संस्थानले शर्त आदेश गरी मालपोत कार्यालयमा पठाइएको छ। २०३३/०३४ सालको  सर्व नापीमा फिल्ड बुक कायम रहेको छ।

अहिले मालपोत कार्यालयले नापि विभागबाट आदेश माग गरेको छ। आदेश आउने वित्तिकै जमिन उग्रतारा माताको नाममा दर्ता भइ लालपुर्जा प्राप्त गर्ने अध्यक्ष साँकीले बताए।

नौ भगवतीका मन्दिरमा एक मन्दिर ‘उग्रतारा’

उग्रतारा भगवती मन्दिर सुदूरपश्चिम प्रदेशकै ठूलो तथा प्रसिद्ध शक्तिपीठ मानिन्छ। यो मन्दिर डडेल्धुरा सदरमुकाम बागजारदेखि चार पाँच किलोमिटर पश्चिमपट्टी रहेको छ। यो मन्दिरलाई नेपालको सूदूरपश्चिमका नौ भगवतीका मन्दिरहरूमा एक मन्दिर मानिन्छ।

उग्रतारा भगवती मन्दिर प्यागोडा शैलीमा निर्मित छ। उग्रतारा मन्दिरको उत्पति सम्बन्धमा प्रमाणिक आधारमा कुनै शिलालेख भने अहिलेसम्म भेटिएको छैन। तर, पनि उग्रतारा भगवती मन्दिरो उत्पतिको किंवदन्ती भने रोचक रहेको छ।

डडेल्धुराको अमरगढी नगरपालिका–८ मा पर्ने प्रसिद्ध यो मन्दिर सदरमुकामबाट करिब ५ किलोमिटर टाढा डडेल्धुरा–बैतडी जोड्ने महाकाली राजमार्गको पश्चिम पट्टीको अग्लो विशाल तथा रमणीय फाटमा अवस्थित छ।

प्रकृत प्रदत फाँटमा अवस्थित उग्रतारा देविको दर्शन गर्न जाने भक्तजनहरुले अमरगढी–८ को टाटेसिल्ङबाट उक्लेर जानु पर्दछ। अहिले उग्रतारा मन्दिरसम्म पुग्न अमरगढी ८ को डकले र रातागौनबाट कालोपत्रे सडक पनि निर्माण गरिएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.