|

यो गोलो पृथ्वीमा गोलमटोल कुमार नगरकोटीलाई कोटीकोटी नमन् गर्नेहरू छैनन् किनभने ऊ सफलताको सूत्र लेख्ने वा पेशेवर शब्दबधु होइन। साधुमन लिएर शब्दको छायामा हिँड्ने आवारा हो ऊ। विचारको पाशविक हत्या आफ्ना रचनाहरूमा गरी टोपल्छ। चिया पिउँदा रक्सीको मात लाग्छ, अमेरिकानो पिउँदा कालो कोदोको झोलसास्ती आनन्दीभांग कालोकोट टक्टकाउँछ। शब्दहरूको नगरीमा ब्ल्याक म्याजिक गर्दै टुनामुना गर्ने वर्ल्डली वर्ड अघोरी हो, जो रातभर सङ्गीनीको साथमा शरीर लोटाएर मगजलाई कालो टोकरीमा हाली मसानघाटहरूमा घुमाउँछ। कालो जादूका लागि उपयुक्त चौबाटाहरूमा बसाउँछ, मान्दिरका टुँडालमा हँसाउछ, गजुरमा कालो फिरफिरे उडाउँछ। उसले धेरैलाई ह्याण्डमेड पस्मिना शब्दका सलहरू उपहार दिएको छ। अँधेरी रातमा कालो रङका कोमल पस्मिना सलहरू ओढेर सलबलाउने अतृप्त आत्माहरू उसका शुभचिन्तकहरू हुन्। उनीहरूमाथि आफ्नो अनकन्डिसनल प्रेम खन्याउँछ। उनीहरूलाई दिनसँग परवाह छैन, धुवाँको सर्को धारणकर्ताको रूपमा उभिएको छ। शब्दहरूद्वारा भावनालाई सुताउने दाउमा छ ऊ। रातीमा रतीराग सुँघी हिँड्ने डाकाहरू पनि हिँड्छन् तर ऊ तिनीहरूको ग्यालेन लाइनमा छैन, एक्लो सूर्यको साइनो वामपन्थी क्रान्तिकारीहरूले लिएदेखि ऊ आफूलाई विद्रोही भन्ने उत्साहमा छैन। ताराहरूको तारावाजी लै लै यौवनावस्थामा उफ्रेको फिल्मी मोह पुरानो क्यासेटका रिलहरूमा गाडिएर खुला हावामा फरफराइरहेका छन्।

ऊ केही खोजिरहेको छ तर त्यो के हो उसलाई नै थाहा छैन वा ऊ भन्ने मुडमा छैन, तपशीलका मूर्खहरूलाई आफ्नो खोजका बारेमा। सबैलाई शब्दको छायामा थुनेर ऊ भाग्ने दाउमा छ।

मृत भएर नै होला ऊ मृत छाला गोडामा लगाउन फर्माइस गर्छ, पिङ्कसिटीमा कालो खराउ किन्ने मालाधारी सुफीसोल चौडाबजारमा पनि साँघुरो बनी नहराएका स्मृतिहरू छोडाइरहन्छ। ऊ केही खोजिरहेको छ तर त्यो के हो उसलाई नै थाहा छैन वा ऊ भन्ने मुडमा छैन, तपशीलका मूर्खहरूलाई आफ्नो खोजका बारेमा। सबैलाई शब्दको छायामा थुनेर ऊ भाग्ने दाउमा छ। चुरोटहरू बाटो विराउँदै आश्रय खोज्न उसको गोजीमा आउँछन्। उसलाई उज्यालो मनपर्दैन- सिवाय सलाई। त्यसैले ऊ जहिले पनि आँखा निभाउँछ, जब ऊ चुरोट सल्काउन सलाई कोर्छ। लाग्छ, ऊ कुनै तान्त्रिकले युद्धमा प्रयोग गरेर छोडेको कालो घोडा हो, मालिक संसारमा अलप भएपछि घोडाको चेतमा यस नगरीमा भौतारिँइरहेको छ। ऊ सबैलाई परिचत ठान्छ, सबै उसलाई परिचित मान्छन्, चिया पिउँछ, चुरोट बाल्छ र चर्चा गर्दैन। धुवाँसित बात मार्ने कुमार भर्जिन गँजडीहरूका लागि आठौँ आश्चर्यको सिलिङ हो। मायामोहको सिलिङमा कालो काल सर्प वर्षौदेखि बेरिएर बसेको छ। मानौँ, ऊ बस्ने घरमा कसैले मृत मावनहस्ती राखिदिएको छ। ऊ सोलो सिङ्गर हो, जीवन गीत गाउने। थोरै हाँस्ने कालीमाली गाई हो, पहाडी पठारमा दूबो चर्दै गर्दा डेजाबुको सिकारमा आफ्नै जातककथाहरू भट्याउँछ अन्यथा गीत सङ्गीत उसले छाडेको तत्त्व हो। अवकाशप्राप्त दारुकुमारसँग बैजनी रङका स्मृतीहरू छन्, त्यहाँ सबै अटाउँछन्, जो आफ्ना थिए र गाली गर्थे, जो पराई थिए र प्रेम खन्याउँथे। सबैको लीलाचरण गरेको छ उसले। ऊ दारुका पारदर्शी बोतलमा कस्मिक फ्यान्टासी देख्थ्यो, हरिया बोतलभित्र बसेको सेतो झोल पदार्थद्वारा मुख कुल्ला गर्थ्यो। वैद्यबाको सल्लाह थियो, हरेक साँझ सुत्नु पहिले र हरेक बिहान उठ्नु पहिले यो द्रव्यरस लिनुपर्छ अनिवार्य रूपमा अनि मात्र यो विचारको सन्निपात शान्त हुन्छ। त्यसैलाई अन्तिम सत्य मानी कैयौँ वर्ष गल्लीमा बितायो, जहाँ पियो ती भट्टीहरूलाई नामूद बनायो र प्यालाका सामान्य अड्डाहरूलाई असामान्य बनायो। वैजनी रङको यात्रा सक्यो, शिरको सिराले बिट फेर्‍यो त्यसपछि मात्र धुवाँको जङ्गलमा विचरण गर्न आफैँलाई कनभिन्स गरायो। उसले अरूले नगर भनेका सबै काम गर्‍यो, गर भनेका सबै उल्लङ्घन गरी सबैलाई जील पार्‍यो तर अब आफैँलाई जिल पार्ने चानचुने कुरा थिएन। फेरि पनि डेमोक्रेटिक जन्तुको भेष धारण गरी रोबटलीलामा सरिक हुन तयार भयो।

जनै लगाएको हातले धेरै अपरिचितहरूका शिरमा आशिर्वाद वर्षाएको छ। ती को थिए र किन आशिर्वचन मागे? यसको समाधान तिनैले जानुन्, जसले कुमारको हातको स्पर्श पाए। पहिलो वर्षामा मज्जा लिन भिजिरहेको उसलाई कोही मनकारी आउँछ र भन्छ, 'हजुरलाई अघिसम्म छाडिदिन्छु।' ऊ भन्छ, 'कहाँ हो अघि?' फेरि पथिक भन्छ, 'त्यही अगाडि हजुरको घरसम्म।' त्यो घर, भनौँ भाडाको घर घाट किनारामा हो, तर सहजनले यान्त्रिक घोडामा चाबुक मारेर पाटन लिएर गए र छाडिदिए। जहाँ मन बस्छ, त्यही घर हो, जहाँ शरीर सुत्छ, त्यो घाट हो। स्थायी सुताइको लोभ हुने थोरै चम्किला आँखामध्ये एक जोर उसका आँखा हुन्। उपत्यकाको कालनगरीमा केही खोजिरहेका छन्। लाग्छ, मञ्जुश्रीको तरवारको धारमा कुमारका सुकुमार शब्दाहार अनुष्ठान चलिरहेको छ।

सररियालिज्म उसका लागि धर्म भयो। त्यसैको धङ्धङीमा शब्दका राजममार्गमा निस्कियो, स्टेजमा लाइट-साउण्डसहित ओभरकोटमा लुकेको मणियुक्त कब्रस्तान टल्कायो। उसको डायलग डेलिभरी सधैँ अपूरो नै लाग्यो। ऊ एक जग इमोसनलाई बाल्टीबाट उठाउँथ्यो र दर्शकदिर्घातिर छर्किदिन्थ्यो। सोझा दर्शकहरू गौँत मानि थोरै चाख्थे र मुख बिगार्दै टर्रो मुस्कानसहित फालिदिन्थे।

सररियालिज्म उसका लागि धर्म भयो। त्यसैको धङ्धङीमा शब्दका राजममार्गमा निस्कियो, स्टेजमा लाइट-साउण्डसहित ओभरकोटमा लुकेको मणियुक्त कब्रस्तान टल्कायो। उसको डायलग डेलिभरी सधैँ अपूरो नै लाग्यो। ऊ एक जग इमोसनलाई बाल्टीबाट उठाउँथ्यो र दर्शकदिर्घातिर छर्किदिन्थ्यो। सोझा दर्शकहरू गौँत मानि थोरै चाख्थे र मुख बिगार्दै टर्रो मुस्कानसहित फालिदिन्थे। भट्किएका आत्माहरूको शान्तिका लागि उसले सिनेमामा रुचिको चम्चा डुबायो। ग्रिककालीन हस्ते सुगरमिलको मालिक चम्चामा चिनी ज्युनार गर्न मजा मानिरहेको छैन। सिनेमा, रङ, आवाज र इफेक्टमा पनि ऊ पर्फेक्ट आन्सर दिन सकिरहेको छैन। सबै प्रयासका बाबजुद पनि केही न केही चेतमासी बाँकी रहेको अनुभूति ऊसँग छ।

लेखन के हो त?

नगरकोटीसँग नगरिएको एक प्रश्न फेरि पनि उनी उत्तर दिन कस बाँकी राख्दैनन् र भन्छन्:

यो मायावी संसारमा लेख्नुबाहेक अर्को के विकल्प छ मसँग? कविताले अठ्याउँदै जाँदा अरू विधा पनि पिछा गर्न थाले, अथवा भनौँ मैले तिनको पिछा गर्न थालेँ। सायद त्यहाँ धेरै आनन्द हुन्छ कि प्रसव विचारको विर्यपात लामा लाइनहरूमा पाउँछु भनी त्यतापट्टि लागेँ तर त्यो पनि होइन रहेछ। त्यसपछि पनि त लेखिरहेको छु। यो जिज्ञासाको प्याण्डोरालाई मेरा अज्ञात पाठकहरू आउनेछन् र फुटाउनेछन्, कारण खोज्नेछन् र उजिल्याउनेछन् मेरा बाँकी शाब्दिक अस्थिपञ्जर इतिश्री।

बजारमा चाहेका कुराहरू किन्न पाइन्छ। कुमारका शब्दहरूको नालीबेलीलाई बाली बनाएर घरमा भित्र्याउनेहरूका निजी मत अभिमत छन्। फिक्सन डिजाइनर कुमारले कुमारलाई रुचाएको नाम थियो। धेरैले साहित्यिक आतङ्कवादी भनेर शब्दको वीभत्स हत्या आरोप लगाएका छन्। हिजडालाई हेप्ने समाजमा खजडा बनाइएका कुमार महात्म्य श्रीखण्डे हुन नपाउँदै वागमती किनारमा धुवाँ बनेर फुसफुसाइरहेका छन्। शब्दहरूको चीरहरण गर्नमा माहिर कुमारले कैयौँ कुमारी शब्दिकाका रसिलो पोषिलो कुमारित्व भङ्ग पनि गरेका छन्। शहरका पुलिस पहरेदारहरू कुमार नर्तन देखेर मजा मानिरहेका छन्। हेरेर आनन्द लिनु पनि एक किसिमको आनन्दीवाद हो, कार्ल मार्क्स भन्दा कम खतरनाक वाद, सिफलिस र एचआईभी भन्दा इलिट डिजिज हो यो, जुन एक चम्चा सेतो दारीभित्र झेन स्वरूपमा लुकी बसेको छ।

हाँस्न सिकेको उमेर सात वर्ष, त्यसपूर्व ऊ ग्रिकका मिथहरूमा राज गर्थ्यो, अहिले नगरमा वास गर्छ। उसको भट्केको आत्माले कसैको सातो खायो भने त्यसको इहलीला समाप्त हुन्छ।

'मोक्षान्त काठमाडौँ फिभर' प्रिय आत्मा भनौँ कि शरीरको अनाथ उपहार थियो! पासा गोविन्दले गो भनेर हरियो तौलिया बेरेपछि बाथरुममा साबुनको फिँजसँग उठ्दै फुट्दै गरेका बबल्स थिए। फोसिल नेपालयको बोझिल यात्रा उनन्यन थियो। मेधावी छात्र छात्राहरू सुस्केरा मार्दै थेसीस लेखिरहेका छन्, गाइड सिन्थेसिसमा घोत्लीएको छ, कुमार परापूर्वकालको सिम्फोनी सुनेर सुस्ताइरहेको छ। 'अक्षरगञ्ज' गगनगञ्जमा बस्ने सुपर चालवाज चारचौबीस नंटंकन झापाली यातायातको कन्डक्टरको करामत थियो। 'मिस्टिका'को मिस्टिक यात्रा पनि घमाइलो छ। जाडोमा घाम तापिरहेका बेला कुल्फी बेच्न आउने काबुलीवालाको स्नेहमा कुमार ग्रहण लागेपछि प्रस्फुटित स्फटिकको बसेरा थियो। 'घाटमाण्डु'को जन्म काठमाण्डुको जिजु हजुरबा काष्ठमण्डपलाई भूकम्पले उठ्नै नसक्ने गरी कमाएपछि भएको थियो, घाटमा जान बाँकीले त्यसलाई गाइडबुकका रूपमा जीवनसेवार्थ अध्ययन गरिरहेका छन्। गर्भावस्थामै रहेको 'ज्ञ' को खैलाबैला मार्केटमा पर्फेक्टली चलिरहेको छ। पृथ्वीको इन्द्रसँग धेरै सपनाहरू छन्, नगरकोटीका शब्दहरूको स्टिम वाफ लिने अजीव खोज उनमा देखिन्छ। नाम हाल्न बाँकी धेरै कृतिहरू व्यापारको डुङ्गामा बस्नेगरी रमाना भएका छन्। मिनपचास निवासी लर्ड शिवका शिष्य जगल्टाधारी निर्देशकका एकजोड आँखा स्क्रिन सटमा तन्मयतापूर्वक लागिरहेका छन्। राजनको दरबारमा लेखकहरू झ्यालखानामा छन् लेखिकाहरू जाडोजेथा मुंडन स्वीकार गर्न मानिरहेका छैनन्। युवराज युरोप हान्ने दाउमा छन्, उनको राज मानसिक तयारीमा बुर्कुसी मारिरहेको छ।सबैका बाबजुद भन्ते कालो भाले काखीमा च्यापेर चन्द्रागिरीको उकालो लाग्नुहुन्छ, चन्द्रले वन मासेको चिन्ता कसैलाई छैन, वातावरण विनास गर्ने मन्त्री केवलकारको उद्‍घाटनमा सपरिवार विराजमान छन्। त्यस्तै वनमन्त्री, प्रधानमन्त्रीइतरका सबैगण चन्द्रेको प्रकृतिहरण अवलोकन गर्न, चन्द्रागिरीमा अवतरण दादागिरी मिश्रित रमिता हेर्न, डबका घोप्टाएर मन हर्ने डाँडामा जम्मा भएका छन्। जाडो निकै छ, कालो कफीले मुख कुल्ला गरेपछि आइसक्रिमले जिब्रो धोएर भन्ते नगरमा फर्कन्छन्। साथमा जेन्टलम्यान र बाबाको बरोबर साथ छ। केवलमा गुड्ने कारहरू कालान्तरमा हावामा उड्नेछन् र सूदुर जगतको जादूगरी कथामा खुक्स खाँदै खोकिरहेको छ। जीवनमा धेरैबेर जाग्राम बसियो र काम- गरियो भने लालपूर्जा निर्धारित समय भन्दा अलि चाँडै हात पर्दछ तर ब्रह्माण्डीय चेतको पराग कस्मिक बडिमार्फत् हल्लिरहेको छ। सुनगाभा उसको विशुद्ध पेय पदार्थ, आँखामा काजल लाएर हार्लेक्षणामा सुनाइरहेको छ।

सुफियाना उसको सर्वाधिक सुन्दर रचना रे! गोलो अनुहारमा सल्केका गोला आँखा विश्वगोलामा सूक्ष्म शरीर लिई घुमिरहेका छन्। सामान्य ओठमा चुम्बकीय आकर्षण होइन, त्यसमा लागेको कलेजी रङको बुटपालिसको रङ कलेजोको अन्तरकुन्तरसम्म पुगेको छ, मद्दतका लागि हाजिर छ- गोर्खाली खुकुरी। सायद याददास माधुरीमार्फत् दीक्षित भएको हो कि! दिव्या भारती, हेलेन वा सिल्क स्मीता। रोमान्टिक एराका ती षोड्सीहरूले गोडेको लिलीफूल हृदयको दलिनमा बाल्टीका बाल्टी ज्ञात अज्ञात सुन्दर ओठहरू फरफराइरहेका छन्। सातौँ वा सत्रौँ दिनमा जनाब वैरिएर आउनुहुन्छ, जिसस फिस खानुहुन्थ्यो। उहाँ खप्परलाई खानदानी बाकसका रूपमा आँत भर्नुहुन्छ। प्रख्यात तालु कहिले कोलम्बियाको नाइट क्लबमा निकी मिनाजको तिघ्रासँग कुस्ती खेलिरहेको छ, कहिले लसभेगसको उज्यालो रातमा किम कार्डसीनको वक्षस्थलमा सिद्धिचरणको मरुस्थल कविता वाचन गरिरेको छ। चिण्डे तालु सबका लागि अयोग्य उजाड बञ्जर भूमि लागे पनि कथाका सुन्दर प्लटहरू, कविताका सुमिरन खित्काहरू ...उठ्न खोजेका केशराशिका कान्लाहरूबाट चियाइरहेका छन्। अतृप्त आत्मकथाहरू संसारी वतासले धनी लेखकहरूद्वारा अन्मन अस्वीकार गरिएपछि गरिव मुसाफिर खानाको कित्लीबाट वाफ बनि खितखिताइरहेका छन्। पाटनको रैथानेले धोवीखोला किनारको मलिलो माटोमा उब्जाएका नगदे बालीहरू पटनाको गङ्गा किनारामा सुसाइरहेका छन्, जग हँसाइरहेका छन्।

घोर निन्दा गर्न ना-लायक भूपू कवि, शब्दहरूको चीरहरण गर्ने, धुन्धुकारी अघोरी नगरकोटी,

हालको उमेर पचपन्न,

पहिलो रजस्वाला भएको उमेर सत्र वर्ष

हाँस्न सिकेको उमेर सात वर्ष, त्यसपूर्व ऊ ग्रिकका मिथहरूमा राज गर्थ्यो, अहिले नगरमा वास गर्छ। उसको भट्केको आत्माले कसैको सातो खायो भने त्यसको इहलीला समाप्त हुन्छ। शब्दहरू जन्माउन ओथारो बस्छ, टुनामुना गरेर, तान्त्रिक विधिद्वारा शब्दहरूमा पञ्चामृत छर्की मध्यरातमा चौबाटोमा पुगेर छाडिदिन्छ। वितरागीहरू जन्माउने श्रेय कारखानाको एकल ठेकेदार ऊ, त्राटक गरेर, इन्द्रजालको साधना गरिरहेको छ। आत्माहरूलाई शरीर दान दिइरहेको छ, प्राणमा प्वाँख भरिरहेको छ। सावधान! पुराना खप्परहरू, सावधान! राष्ट्रवादी तत्त्वहरू, सावधान! नरनारीहरू। शब्दका गुच्छाहरूलाई बेहोसीमा ग्रहण नगर। यसपछि आउने परिणामको भागिमा तिमीहरू स्वयं हुनुपर्ने छ, नकि ती हरफहरू, जसको हरकले तिम्रो आँत रसायो र होस उडायो।

 

 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

कमेन्ट

  • wow... both are amazing authors, brilliant article