|

काठमाडौं : केही वर्ष अगाडिसम्म तराईका जिल्लामा मात्र देखिने डेंगू पछल्ला वर्षमा पहाड जिल्लामा मात्र नभएर उच्च हिमाली जिल्लामा समेत देखिन थालेको छ।

गएको आर्थिक वर्षमा देशका ४४ जिल्लाका ३ हजार ४२५ जनामा डेंगूको संक्रमण भएको पाइयो। यो संख्या पाँच वर्षअघिको तुलनामा ११ गुणाले बढी हो। पाँच वर्षअघि डेंगुका ३ सय २ जना बिरामी भेटिएका थिए। स्वास्थ्य सेवा विभाग इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार पछिल्लो तीन वर्षमा डेंगूको संक्रमण क्रमशः बढ्दै गएको छ।

आर्थिक वर्ष २०७३/०७४ मा १ हजार ५२७ जना, आर्थिक वर्ष २०७४/७५ मा २ हजार १११ जना र आर्थिक वर्ष २०७५/७६ मा ३ हजार ४२५ जनामा डेंगूको संक्रमण भएको पाइयो। आर्थिक वर्ष २०७१/७२ मा ३०२ जनामा भेटिए पनि आर्थिक वर्ष २०७२/७३ मा संक्रमितको संख्या केही घटेको थियो। सो वर्ष १ सय ३४ जना मात्रै डेंगू संक्रमित भेटिएका थिए। गत आर्थिक वर्षको अन्य र नयाँ आर्थिक वर्षको सुरुवातमै देश भरका विभिन्न जिल्लामा डेंगू संक्रमितको संख्या बढ्दै गएको छ। तनहुँ, मकवानपुर सुनसरी झापा तथा तराईका अन्य जिल्लामा डेंगूका बिरामी बढ्दै गइरहेका छन्।

प्रदेश १ र २ मा धेरैलाई डेंगू संक्रमण

गत बैशाख ३० का दिन धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पहिलो पटक भेटिएको डेंगूले त्यसयताको चार महिनाको अवधीमा धेरैलाई संक्रमण गरेको छ। तर अहिलेसम्म कसैको ज्यान नगएको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले जनाएको छ।

महाशाखाका अनुसार पछिल्लो आर्थिक वर्षमा डेंगूको महामारीको रूप लिएको प्रदेश १ मा सबैभन्दा बढी ३ हजार १५२ जनामा संक्रमण भएको तथ्यांक छ। सबैभन्दा कम भने कर्णाली प्रदेशमा भेटिएको छ। गत आर्थिक वर्षमा कर्णाली प्रदेशमा १ जनामा मात्रै डेंगू भेटिएको छ। बढी भेटिने दोस्रो नम्बरमा प्रदेश ३ रहेको छ। त्यहाँ १२६ जनामा डेंगु संक्रमण भएको महाशाखाले प्रस्तुत गरेको तथ्यांकले बताएको छ।

महाशाखाका प्रमुख डा विवेकलाल कर्णका अनुसार सन् २००४ मा पहिलो पटक चितवनमा देखिएको  डेंगु हाल सम्म ४५ जिल्लामा देखिइ सकेको बताए। ‘जलवायु परिवर्तन तथा विभिन्न कारण डेंगू तराइका जिल्लामा मात्र नभएर उच्च हिमालीसहित पहाडी जिल्लामा समेत देखिन थालेको छ' उनले भने, ‘पछिल्लो आर्थिक वर्षमा सबैभन्दा बढी डेंगू भेटिएको जिल्ला सुनसरी रहेको छ। त्यहाँ ३ हजार २५ जनामा डेंगू देखा परेको छ।'

 छ वटा जिल्लामा डेंगू महामारी

हालसम्म डेंगूका कारण कसैको मृत्यु नभए पनि देशका ६ वटा जिल्लामा भने यसले महामारीकै रूप लिएको छ। गत बैशाखदेखि सुनसरीमा देखिएको डेंगू हालसम्म नियन्त्रणमा आएको छैन। 

यस्तै सन् २००४ देखियता विभिन्न समयमा महोत्तरी मा ४ सय ३८, सल्लाही १ सय ३०, दुई वर्षअगाडि चितवनमा ६ सय ८७, झापामा ५ सय ४३ कास्कीमा गत वर्ष ५ सय ५३ र रुपन्देहीमा ६ सय ७७ जनामा डेंगू संक्रमण भएपछि महामारीकै रूप लिइएको थियो।

 संघ, प्रदेश र स्थानीय सरकारको समन्वय भएन

पछिल्लो समय देशभर फैलिएको डेंगू नियन्त्रणमा आउन नसक्नु मुख्य कारण संघ प्रदेश र स्थानीय सरकारबीच समन्वयको अभाव मुख्य कारण रहेको बताइन्छ।  स्वास्थ्य मन्त्रालयअन्तर्गत स्वास्थ्य सेवा विभागका महानिर्देशक डा. शुशिल प्याकुरेलका अनुसार तीन तहको सरकारको बीचमा समन्वयन नहुदाँ यस्ता  महामारीको रूप लिन सक्ने रूपमा फैलिएको रोग नियन्त्रण लिन गाह्रो भएको बताए।

‘पहिला हरेक जिल्लामा मन्त्रालय अन्तर्गतका रोग नियन्त्रक थिए चाँढै समन्वय हुन्थो र यस्ता रोगहरू चाँढै नियन्त्रणमा आउँथ्यो अहिले बजेटदेखि हरेक कुरा स्थानीय सरकारका नियन्त्रणमा छ' उनले भने 'जसले गर्दा समन्वयमा गाह्रो भएको छ।'

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.