फिचर : फोटो फिचर

प्राकृतिक सम्पदाले भरिपूर्ण सल्यान
SHARES

साउन २७, २०७६

    सल्यान : पर्यटकीय क्षेत्रको सम्भावना बोकेको सल्यान पर्यटकीय गन्तव्यका साथै प्राचिन संस्कृति,  धार्मिक सभ्यता, भौगोलिक विविधता,प्राकृतिक स्रोत र सुन्दरता लगाएतका कारणहरुले पनि निकै परिचित नाम रहेको छ।

    नेपाल सरकारले घोषणा गरेको देश एक सय पर्यटकिय स्थल मध्ये सल्यानको कपिन्डे ताल समावेश भएपछि आन्तरिक तथा बाह्रय पर्यटकको संख्या दिन प्रतिदिन बढ्दै गई रहेको छ। देशकै कालिमाटी पछिको दोस्रो तरकारी संकलन केन्द्रको रुपमा परिचित कपुरकोट पनि यहि जिल्लामा पर्दछ।

    साथै देशकै एक मात्र बलि नदिईने छत्रेश्वरी मन्दिरले पनि यहाँको पर्यटनका साथै प्राचिन सभ्यताको उजागर गर्दै आइरहेका छन्। जिल्लाका अधिकांस भूभागलाई सिंचित गर्दै बगेको शारदा नदिले सल्यान जिल्लालाई खाध्यान्नमा आत्मनिर्भर बनाएको छ।

    खलंगाको इतिहास

    प्राकृतिक, धार्मिक, ऐतिहासिक र प्रशासनिक हिसाबले सल्यान खलंगा चर्चित र महत्वपूर्ण स्थानको रुपमा रहेको छ। नेपालको राजनीतिक प्रशासनिक क्षेत्रमा पाल्पापछि खलंगा गौडाको विशेष महत्व रहेको छ। २०२९ सालमा नेपाललाई १४ अञ्चल ७५ जिल्लामा प्रशासनिक विभाजन गरिनु अघि रोल्पा, रुकुम, जाजरकोट, दांग र सुर्खेतको प्रशासनिक  गौडा खलंगा थियो। युधिष्ठिर संवत २५४४ तिर भारतको लुधियानाबाट आई राज्य सञ्चालन गरेका शशिधर जाटका पाँचौ पुस्ताका हर्बेली जाटको राज्यकालमा सल्यान खलंगामा बस्ती सुरु भएको पाइन्छ। हालको शारदा नगरपालिका वडा न ५को सेजवाल टाकुरा स्थित ढारबाट जाटका पछिल्ला खस राजाहरुको खलंगामा राजदरवार सारेका थिए। सेन वंशको राज्यकालमा जाटहरुले राजधानी केही समय कालागाउँमा सारेपनि शाह वंशको आगमनसँगै राजधानी पुनः खलंगामै स्थापना गरिएको थियो।

    रङ फेर्ने कुपिन्डे ताल

    जिल्लाको सुन्दर पर्यटकिय स्थल हो कुपिन्डे ताल। जिल्लाको पर्यटकिय सम्पदाका रुपमा रहेको यो ताल बन्गाड कुपिन्डे नगरपालिकामा पर्दछ। कुपिण्डो जस्तो आकार भएकाले यसको नाम कुपिन्डे रहन गएको जन विश्वास रहेको छ। समुद्री सतहदेखि १ हजार १ सय २० मिटर उचाईमा रहेको कुपिन्डे तालको क्षेत्रफल २२ दशमलव ५३ हेक्टर रहेको छ भने गहिराई ३४ मिटर, आठ सय ३४ मिटर लम्बाई र पाँच सय ३८ मिटर चौडाई रहेको छ।

    कुपिन्डे ताल उत्पत्तिको रोचक किवदन्ती रहेको छ। द्वापर युगको अन्त्यतिर हाल ताल रहेको गाउँमा एकजना साधु बास बस्न आए। घर घर चहारे बास मागे पनि बास पाएनन्। अन्त्यमा एकजना वृद्धाले बास त दिइन तर उनको घरमा एक दाना पनि अन्न थिएन। छिमेकीको घरबाट ढुटो( चामलको भुस) ल्याई रोटी पकाएर कर्कलाको तरकारीसँग साधुलाई खान दिइन। भोलिपल्ट साधुले भने हे माता कैलु बराह हुँ। अरुलाई बास नदिने पापिष्ठहरुको गाउँ छिनभरमा डुबाईदिन्छु तपाई कुपिन्डेको लेकतिर जानुहोस। वृद्धाले त्यसै गरिन। यता छिनभरमै मुसलधारे पानी पर्‍यो। पुरै गाउँ जलमग्न बन्यो। त्यसपश्चात कुपिन्डे ताल बनेको लोककथन छ।

    जिल्लाको वैभव शारदा नदि

    शाारदा नदि जिल्लाको पर्यटकिय सम्भावना बोकेको क्षेत्र हो। शारदा वरिपरिका फाँट खेतीयोग्य जमिन रहेको छ। यो नदि सल्यानको मध्यभागबाट सुरुमा दक्षिण र पश्चिम भएर पून दक्षिण बगेको छ। शारदा नदिको मुहान बागचौर नगपालिका वडा न ६ शिवरथको लौरावाङबाट सुरु भएर ७६ किलोमिटर तर दाङको बबई नदिमा मिसिएको छ।

    शारदामा फाँटमा हुने उब्जनिले जिल्लालाई खाद्यन्नमा आत्मनिर्भर बनाएको छ।

    फलाबाङ दरबार

    सल्यानी राजाको अन्तिम अवशेष फलाबाङ दरबारको ऐतिहासिक महत्व रहेको छ। सल्यान र रुकुमलाई दाङ उपत्यकासँग जोड्ने पुरानो पैदल मार्ग पनि यहि दरवार भएर जाने गर्दछ। नेपाल एकिकरण पनि तेज बहादुर शाहलाई वि.स. १८८४ मा फलाबाङ थुम र पश्चिम दाङको भूमिसहित राजा पदवी दिइयो। सल्यानी राजपरिवार फलाबाङको थानागाउँमा वि.स १८८५ मा निमित्त राजदरबारमा आई बस्न थालेका थिए।

    नेपालको एकीकरण पनि दाङ सल्यानको गौडाको मातहत रहन गयो। शमशेरबहादुर शाह द्धित्तीयले विस १९५७  नयाँ दरबारको निमार्ण प्रराम्भ गरी १९६९ सालमा पुरा गरे। कलात्मक शैलीको दरबार छाउन बेलायतबाट जस्तापाता ल्याइएको थियो। १ सय ५५ झ्याल र ५५ कोठाको बेलायती शैलीको दरबारमा गद्दि बैठ्क, कचहरी बैठ्क, पुजा कोठा, मोठ कोठा आदि थिए।

    कलात्मक शैलीमा बनेको दरबार हाल आएर अवशेष समेत रहेको छैन।

    खैराबाङ भुवनेश्वरी मन्दिर

    खैराबाङ भुवनेश्वरी मन्दिर जिल्लाको शारदा नगरपालिका वडा न ११ हिवल्तामा अवस्थित छ। मन्दिरमा शुक्लापक्ष , मंगलबार र शनिबार पूजा आराधाना गर्ने भक्तजनहरुको घुईचो लाग्ने गर्दछ। बडादशैँ र चैतै दशूँमा वर्सेनी हजारौं श्रदालुहरु यहाँ पुजा आराधाना गर्न आउने गर्दछन्।

    एक किवंदन्ती अनुसार सयौं वर्षअघि एउटी महिला कहिले बाघमा चडेर देखिने त कहिले अदृश्य हुने गरेकाले के रहेछ भनेर खोजतलास गर्दा जंगलबो टाकुरामा एउटा प्वाल भेटियो। टाकुराको पश्चिमतिर तरबार पनि भेटियो। खोजतलासमा संलग्न एक बुढाथोकीलाई सपनामा ती महिलाले म पाटेश्वरी कालिका हुँ मेरो पूजा गर्नु भनिन्। त्यसपछि प्लालसँगै रहेको बाँझको फेदमा पुजा गर्न थालियो।

    मन्दिरमा देशका विभिन्न भागका साथै भारतबाट समेत भक्तजन आउने गर्दछन्।

    सतिदेवीको अन्तिम अंग पतन भएको छाँयाक्षेत्र

    सत्यायुगमा महादेवले सतिदेवीको मृत्त शरिर बोकेर विश्व भ्रमण गर्दा उनको अन्तिम अंग पतन छायाँक्षेत्रमा भएको किवंदन्ती छ। छायाँक्षेत्र मोक्षप्राप्ति गर्ने पुष्यभूमि भएको धार्मिक विश्वास छ। यहाँ रहेको छत्रेश्वरी मन्दिर धार्मिक पिठका रुपमा पनि चर्चित छ। वि.स १९९० को दशकमा यहाँ शिवमन्दिरको स्थापना भएको थियो। शिखर शैलीमा निर्मित्त  मन्दिर जिल्लाको धार्मिक सम्पदा हो। पुरापुर्वकालमा दक्ष प्रजापतिले प्रयागमा ठूलो यज्ञ गरेका थिए। यही यज्ञमा महादेवको निन्दा सहन नसकी सतिदेवीले यज्ञकुण्डमा हामफाली प्राण त्याग गरेका थिइन। महादेव पत्नी वियोगमा सतीदेवीको निष्प्राण शरिर बोकेर संसार घुम्न थाले। छायाक्षेत्रमा आइपुग्दा सतिदेवीको शरिरको अन्तिम अंग पतन भयो।

    मन्दिरको गरिजिउला तिर फर्किएको भागमा एउटा ठुलो शिला छ। जहाँ सतिदेवीको अन्तिम अंगपतन भएको विश्वास गरिन्छ। अंगपतन भएको शिलामा हेर्दा सल्यानका गाउँबस्ती देख्न सकिने किवंदन्ती थियो। तर एकजना गोरु चोरले उक्त पत्थरमा रगत छ्यापिदिएकाले अचेत त्यसमा मान्छेको अनुहारसम्म मस्किलले देख्न सकिन्छ।

दीपक शर्मा

शर्मा थाहा खबरका सल्यान समाचारदाता हुन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: mkt.thahakhabar@gmail.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]