|
फोटो : अवैध हुण्डी कारोवार गरेको ठाउँमा छापामारी गरी पर्सा प्रहरीले ९ असारमा नियन्त्रणमा लिएका आठ अभियुक्त।

पर्सा : एक अर्ब २८ करोड ४३ लाख ३९ हजार ७२३ को विगो दावी गर्दै पर्सा प्रहरीले अवैध हुण्डी कारोवारमा संलग्नलाई अदालत पेश गरेको हल्ला बाहिर आए पनि बल्ल त्यो फायल तयार भइरहेको छ।

नेपालको प्रचलित कानूनविपरीत अवैध हुण्डी कारोवार गरेको आशंकामा ८ जनालाई नियन्त्रणमा लिएर अभियुक्त र पसल संचालकमाथि प्रहरीले यत्रो रकम बिगो दावी गरेको भनिएको फायल बल्ल सरकारी वकिल कार्यालयले अध्ययन गरिरहेको छ।

बिगोको एकिन भने अहिले नै भइनसकेको सरकारी वकिल कार्यालय पर्साले जनाएको हो। पर्सा प्रहरीले दुई/तिन दिन अगाडि फायल भने पठाएको सरकारी वकिल कार्यालय पर्साका जिल्ला न्यायाधिवक्ता रुद्रप्रसाद पन्थीले थाहाखबरलाई बताए। 

प्रचलित कानूनविपरीत वित्तीय कारोबार गरेको मुद्दाको फायल अध्ययनकै क्रममा रहेकोले यति नै बिगो कायम भई अदालत पेश भयो भन्ने समाचार सही नभएको उनले तर्क गरे। वकिल कार्यालयले फायल अध्ययन सकेर अदालत पेश नगरेसम्म यो अनुसन्धानकै क्रममा हुन्छ।

'अझै केही डकुमेण्ट प्रहरीसँग झिकाइएको छ। त्यो आएपछि पूरै फायलको अध्ययन गरेपछि मात्र बल्ल कति रकम विगो हुने भन्ने यकिन हुन्छ' जिल्ला न्यायाधिवक्ता पन्थीले भने।

प्रहरीले गएको असार ९ गते वीरगन्ज ६ माईस्थान चौक नजिकै कन्हैयाप्रसाद सोनारले संचालन गरेको केपी स्वर्ण कला केन्द्र (सुनचाँदी पलस) मा छापामारी आठ जना अभियुक्तलाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको हो।  पसलका संचालक सोनार भने अझै फरार नै रहेको पर्साका प्रहरी नायव उपरिLक्षक अनन्तराम शर्माले बताए। प्रहरीले अनुसन्धान गरी फायल भने तयार गरेर तीन/चार दिन पहिले सरकारी वकिल कार्यालयतर्फ प्रक्रिया अगाडि बढाइएको उनले बताए। 

प्रहरीले छापामारी नियन्त्रणमा लिएका ८ अभियुक्तमध्ये २ जना भारतीय नागरिक रहेका छन्। छापामारीका दिन प्रहरीले अभियुक्तहरूको बीचबाट ४१ लाख ९२ हजार ९०० नगद र २ किलो ९० ग्राम चाँदी पनि बरामद गरेको सार्वजनिक गरेको थियो।

प्रहरीले गएको असार ९ गते सोमबारका दिन नियन्त्रणमा लिएका व्यक्तिहरूमा भारत बिहार मोतिहारी जिल्ला पूर्वी चम्पारण बस्ने ३६ वर्षीय सुनिलकुमार प्रसाद, मोतिहारी जिल्ला नैनपुर बस्ने ३५ वर्षीय गुलाव साह, नेपालको रौतहट जिल्ला चन्द्रपुर नगरपालिका ७ बस्ने ३३ वर्षीय विनोद सुनार, पर्साको छिपहरमाई गाउँपालिका २ बस्ने ३५ वर्षीय राजकपुर साह, वीरगन्ज महानगरपालिका वडा नम्बर १० र ६ बस्ने २६ र ३७ वर्षीय चन्दनकुमार सर्राफ र राकेशकुमार सिंह, विन्दवासीनी गाउँपालिका २ बस्ने २४ वर्षीय सुजितकुमार साह र बाराको परवानीपुर गाउँपालिका १ बुनियाद बस्ने २९ वर्षीय घनश्याम सर्राफ रहेको प्रहरीको तथ्यांकमा उल्लेख छ। 

पक्राउ परेका अभियुक्तहरूले नेपालको प्रचलित कानूनविपरीत अनुमतिबिना वित्तीय कारोबार गरेको फेला पारी बैंक वित्तीय संस्था तथा संगठित अपराध मुद्दा चलाइएको पर्सा प्रहरीले जनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.