समाज

चन्द्रनहरले बनायो सुकुम्बासी, बगर बन्यो धान फल्ने खेत
SHARES

सप्तरीलाई सिँचाई, उदयपुरलाई पीडा

भदौ ५, २०७६

    उदयपुर : त्रियुगा नदीमा निर्मित चन्द्रनहरका कारण हरेक वर्ष सयौं बिगाहा उर्बर खेतियोग्य जमिन बगरमा परिणत हुँदै गएको छ। 

    नहरले गर्दा नदीले बगाएर ल्याउने बालुवाले निकास नपाउँदा खेतीयोग्य जमिन पुरिँदै गएको हो। खेतीयोग्य जमिन बालुवाले पुरिँदै गएपछि त्रियुगा नदीको तटीय क्षेत्रमा बसोबास गर्ने सर्वसाधरण सुकुम्बासी बन्दै गएका छन। 

    हजारौं बिघा धान फल्ने खेत पुरिएर बगर हुनथालेपछि वर्षैपिच्छे सुकुम्बासी बन्‍नेहरुको संख्या बढ्दै गएको चौदण्डीगढी नगरपालिका-५ का वडाअध्यक्ष देवनारायण चौधरी बताउँछन। 

    ‘सरकारी वेवास्ताका कारण बालुवा निकासका लागि नहरको बीच भागमा आवश्यक ढोका राख्ने काम अझैसम्म हुन सकेको छैन,’ उनले भने, ‘बाँधले सप्तरी क्षेत्रमा सिचाँई पुर्‍याए पनि उदयपुरमा ठुलो क्षति हुँदै गएको छ। दीगो व्यवस्थापनका लागि कुनै पनि काम हुन सकेको छैन।’

    सप्तरीको फत्तेपुरमा राणा प्रधानमन्त्री चन्द्रशम्शेरका पालामा निर्मित नदीको चन्द्र नहरबाँध उदयपुरको लागि अभिशाप बन्दै आएको छ। त्रियुगा नदीको करिब ६५ किलोमिटर लामो क्षेत्रमा चन्द्रनहरले उदयपुरमा ठूलो क्षति पुर्‍याए पनि सप्तरीमा सयौँ बिघा सिँचाइ सुविधा छ।

    केही वर्षअघि स्थानीयले चन्द्रनहर भत्काउने प्रयास पनि गरेका थिए। तत्कालीन राणा प्रधानमन्त्री चन्द्रशम्शेरले वि.सं. १९८० मा निर्माण गरेका हुन्। जसले सप्तरी जिल्लाको कुल १० हजार पाँच सय हेक्टर जमिनमा सिँचाइ सुविधा उपलब्ध गराउँदै आए पनि उदयपुरमा  भने सेती बगर बनाएको छ। 

    ‘नहरका कारण हजारौं बिघा खेती योग्य जमिन बालुवाले पुरिँदा जग्गाधनी सुकुम्बासी बनेका छन,’ स्थानीय अर्जुन दाहाल भन्छन, ‘नहर निर्माणका क्रममा फत्तेपुर र आम्बासी जोड्ने गरी त्रियुगानदीको बहाव अवरुद्ध हुनेगरी बनाइएको अग्लो बाँधका कारण त्रियुगा नदीले जोगीदह, हडिया, सुन्दरपुर बेल्टार गाबिस र त्रियुगा नगरपालिकाका सयौं बिघा खेतीयोग्य जमिन पुरिदै आएको छ।

     सात वर्षयताको तथ्याङ्कई हेर्दा त्रियुगाबाट बगेर जाने बालुवाले सुन्दपुर गाविसको मात्र २, ३, ४ र ५ नम्वर वडाको एक हजार पाँच सय बिघा भन्दाबढी खेती योग्य जमिन बगरमा परिणत भएको छ। 

    त्रियुगाले सालन्य पुर्दै जाँदा सात विगाहाभन्दा बढी खेत भएका परिवारसमेत सुकुम्वासी बनेपछि अहिले दाउरा बेचेर गुजारा गर्न बाध्य छन। ‘कमाई खाने खेत सबै बगर बनेका छ,’ स्थानीय रामघुरी चौधरीले भने, ‘अन्य उपाय नहुँदा धेरै बासिन्दा विस्थापित भएका छन्।

    साविककको सुन्दरपुर गाबिसका पूर्वउपाध्यक्ष देवी बस्नेतले परम्परागत शैलीमा निर्माण गरिएको चन्द्रनहरका कारण खोलाको सतह बढ्दै जाँदा नदीले कटान गर्ने बालुवाले जमिन पुरिदिने समस्या छ। 

    जिल्ला मालपोत कार्यालय उदयपुरको तथ्याङ्क अनुसार २६ वर्षयता त्रियुगा र चुरे क्षेत्रबाट बग्ने दर्जनौ खहरेका कारण जिल्लाको ११ हजार बिघा खेतीयोग्य जमिन बगरमा परिणत भइसकेको छ। 

    दक्षिण-पश्चिमतर्फ खिइँदै गएको चुरे पहाड र उत्तरपूर्वतर्फ महाभारत पहाडको बीचमा अवस्थित उपत्यका आकारको भूबनोट रहेको त्रियुगा क्षेत्र नै उदयपुरको सबैभन्दा बढी अन्‍न उत्पादन हुने खेतीयोग्य जमीनको क्षेत्र मानिन्छ। 

    त्रियुगालाई बहुउपयोगी बनाउन गुरुयोजना (डिपिआर) तयार भएको छ। नदीको दिगो व्यवस्थापन गर्दै अभिशापलाई ‘वरदानमा’ सावित गर्ने उद्देश्यले नगरपालिकाले ‘त्रियुगा सभ्यता’ र विकास नाम दिएर अभियानले त्रियुगा नदी नियन्त्रण गर्ने लक्ष्य लिइएको छ। बरुवा र त्रियुगा नदीमा बर्सेनि आउने बाढीले खेतीयोग्य जमिन कटान गर्दै आएको छ।  

    एकीकृत विकास परियोजनाअन्तर्गत त्रियुगा नदी नियन्त्रणका लागि त्रियुगा नगरपालिका-७ स्थित कालीखोला तोरीबारीदेखि बेलका नगरपालिका- २ स्थित सप्तकोसी दोभानसम्म ४२.५ किलोमिटर लामो डिपिआर तयार गरेको हो।

    त्रियुगाको शिरदेखि तीरसम्मको ४२.५ किलोमिटर दूरीमा दुवैतर्फ आधुनिक तथा जैविक प्रविधिको बाँध बाँध्दै सिँचाइ, विद्युत् र खानेपानी सुविधा जस्ता बहुउपयोगी उपलब्धि हासिल गर्न डिपिआर निर्माण गरी काम थालिएको त्रियुगा नगरपालिकाका नगर प्रमुख बलदेव चौधरीले जानकारी दिए। 

    उनका अनुसार त्रियुगा नदिको कालीखोलादेखि तपेश्वरीसम्म ४२.५ किलोमिटर गरी दुवैतर्फ ८५ किलो मिटर लामो बाँध निर्माण गर्न नेपाल सरकारबाट डिपिआर निर्माण गर्ने योजना सुरु भइसकेको छ।

    डिपिआरले त्रियुगा नदी नियन्त्रण आयोजना कार्यालय सञ्चालनमा आउनेछ। सोही डिपिआरले चुरेका खहरेखोला नियन्त्रणमा विशेष प्रथामिकता बाढीले बर्सेनि सयौं हेक्टर जमिन, दर्जनौं घर र जनधनको क्षति गर्न थालेपछि त्यसको नियन्त्रणमा चुनौती छ।

    डिपिआरअनुसार नदी नियन्त्रणका क्रममा चुरे क्षेत्र खहरे खोला बाधक बनेका छन्। त्रियुगामा मिसिने माटीखौवा, जलजले, मोहनपुर, देउरी, फर्सेठ, ठाडी, हडियाखोला, सिवाइखोला, गेरखोला, बरुवा, भिमा, द्वारखोला तथा दर्जन बढी खोल्सीसमेत व्यवस्थित गर्ने गरी डिपिआर तयार गरिएको छ। 

    १० वर्षे डिपिआर

    उदयपुरको त्रियुगा नगरपालिका-७ स्थित कालीखोला तोरीबारी)देखि बेलका नगरपालिका-२ स्थित सप्तकोसी नदीसम्म दुवैतर्फ ५० किलोमिटर लामो बाँध निर्माण गरी त्रियुगा नियन्त्रण गरिने डिपिआर तयार गरिएको छ।

    ६ अर्ब ८४ करोडको लागिमा १० वषभित्र नियन्त्रण गर्ने योजना छ। ०७५/०७६ देखि काम सुरु गर्ने गरी योजना कार्यन्वयमा ल्याई आव ०८४/०८५ सम्ममा काम सम्पन्‍न गर्ने लक्ष्य रहेको बताइएको छ। ५० वर्षपछि आउने बाढीलाई लक्षित गरी डिपिआर तयार गरिएको आयोजनाले जनाएको छ।

    नदी नियन्त्रणबाट २५ हजार परिवार लाभान्वित त्रियुगा नदीलाई मात्र नियन्त्रण गर्दा २५ हजार परिवारले राहत पाउनेछन्। नदीको मुहानदेखि सप्तकोसीसम्म तटबन्ध निर्माण गरी आसपासका खहरे खोलासमेत नियन्त्रण गर्नुपर्ने हुन्छ। जिल्लाको मुख्य समस्या त्रियुगा नदीको कटान हो। 

विदुर कटुवाल

कटुवाल थाहा खबरका उदयपुर समाचारदाता हुन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: mkt.thahakhabar@gmail.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]