भारतको दमनमा परेका जनताको पक्षमा बोलिदिन आग्रह

|

काठमाडौं : भारत अधिनस्थ कश्मीर मुद्दालाई लिएर पाकिस्तानी विदेश मन्त्री मखदुम साह महमुद कुरेसीले परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीलाई फोन गरेका छन्।

भारतीय विदेशमन्त्री एस जयशंकर दुई दिने भ्रमणमा नेपालमा रहेकै बेला पाकिस्तानी मन्त्री कुरेसीले कश्मीर मुद्दालाई लिएर नेपालको भूमिकाबारे प्रश्न उठाएका हुन्। पाकिस्तानी विदेश मन्त्रालयले बिहीबार राति जारी गरेको प्रेस विज्ञप्तिमा कुरेसीले मन्त्री ज्ञवालीको टेलिफोन संवादमा भारत अधिनस्थ कश्मीरमा देखिएको समस्याबारेमा गम्भीर वार्ता भएको उल्लेख गरिएको छ। 

मन्त्री कुरेसीले भारतले कश्मीरमा लागू धारा ३७० खारेज गर्दै विशेषाधिकार खोसेको अवस्थामा दक्षिण एसियाली क्षेत्रीय सहयोग स‌ंगठन (सार्क) को अध्यक्ष राष्ट्रको हैसियतले भूमिका खेल्न अपिल गरेका हुन्। 

विदेश मन्त्री कुरेसीले दक्षिण एसियाली मुलुकमा शान्ति र स्थिरता कायम गरिराख्नका लागि सार्क अध्यक्षका राष्ट्रका हैसियतले भारतका कारण कश्मीरमा संकटमा परेका जनताको पक्षमा बोलिदिन आग्रह गरेका हुन्।

पाकिस्तानी विदेशमन्त्रीले कश्मीरमा भारतले गरेको हस्तक्षेप अवैधानिक र एकपक्षीय कारवाहीको संज्ञा दिँदै त्यस्तो कदमलाई अन्तर्राष्ट्रिय कानुन र संयुक्त राष्ट्र सुरक्षा परिषद्को सिद्धान्तविपरित भएको जिकिर गरेका छन्। 

पाक र नेपाली मन्त्रीबीच भारतले कश्मीरमा हस्तक्षेप गरेको तीन सातापछि फोन वार्ता भएको हो । भारतले कश्मीरलाई दिइएको विशेषाधिकार खोस्ने निर्णयसहित धारा ३७० पनि खारेजी गरेपछि अहिले पाकिस्तानसँग तनाव चुलिँदै गएको छ। कश्मीरलाई लिएर भारत र पाकिस्तानबीच लामो समयदेखि द्वन्द्व चलिआएको छ। 

पाकिस्तानी मन्त्रीले भने, 'भारतले अनधिकृतरुपमा हस्तक्षेप गरेपछि जम्मु-कश्मीरको शान्ति खलबलिएको छ। भारतीय पक्षले त्यहाँ व्यापक दमन गरेको छ । यसले दक्षिण एसियाकै शान्ति र सुरक्षामा गम्भीर खतरा पैदा भएको छ।'

विदेशमन्त्री ज्ञवालीसँगको फोन वार्तामा पाकिस्तानी मन्त्रीले भारतीय हस्तक्षेपका कारण कश्मीरमा मानवअधिकार, आधारभूत मानवीय अवस्था संकटमा परेको बताएका छन्।

'भारतले कश्मीरमा टेलिफोन र इन्टरनेट काटिदिएको छ। अवस्था गम्भीर र संकटपूर्ण छ', उनले भनेका छन्, 'खाद्यान्‍नको संकट चुलिएको छ। अत्यावाश्यक औषधिसमेत त्यहाँ छैन। १७ दिनदेखि बाहिरी विश्वबाट कश्मीरलाई पूरै अलग थलग पारिएको छ।'

पाकिस्तानी मन्त्रीले भारतका कारण कश्मीरमा नरसंहार मच्चिएको पनि उल्लेख गरेका छन्। 'कश्मीरमा भारतले नरसंहार मच्चाएको छ। अन्तर्राष्ट्रिय समुदायले त्यसमा निरन्तर प्रश्न उठाएका छन्, उनले भनेका छन्, 'अवस्था एकदमै चिन्ताजनक छ। भारतीय सुरक्षा बलको दमनले त्यहाँ मानिसहरु ढुक्कले बस्न सक्ने अवस्था नै छैन।'

यता पाकिस्तानी मन्त्रीलाई जवाफ दिँदै परराष्ट्र मन्त्री ज्ञवालीले नेपालले कश्मीरको अवस्थाबारे नेपालले एकदमै नजिकबाट निगरानी गरिरहेको बताएका छन्। कश्मीरमा देखिएको समस्या नेपालले वार्ताबाटै समाधान गर्न चाहेको पनि उनले उल्लेख गरेका छन्। 

टेलिफोन वार्ताका क्रममा दुई नेताले निरन्तर सम्पर्कमा रहेर यसबारे चर्चा गर्ने र एकसाथ शान्ति र स्थिरताका लागि काम गर्ने प्रतिवद्धता पनि गरेका छन्। तर नेपालको तर्फबाट यसबारे कुनै आधिकारिक जानकारी दिइएको छैन। परराष्ट्र प्रवक्ता भरतराज पौड्याल र परराष्ट्र मन्त्रीका प्रेस सहयोगीले पनि यसबारेमा कुनै धारणा राख्‍न चाहेनन्। 

तर तीन दिनअघिको पत्रकार सम्मेलनमा परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीले कश्मीर मुद्दालाई नेपालले नजिकबाट नियालिरहेको बताएका थिए। बिहीबार मात्रै नेपालबाट फर्किएका भारतीय विदेशमन्त्री एस जयशंकरले कश्मीर मुद्दामा नेपालले भारतको साथ दिनुपर्ने बताएका थिए। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.