मोर्चा भन्छ- ‘संविधान संशोधन विधेयक टेबल नभए रमिते बनिँदैन’

|

काठमाडौं : एक महिनादेखि अवरुद्ध संसद खुलाउने विषयमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच आइतबार छलफल भएको छ। आइतबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री प्रचण्ड र अध्यक्ष ओलीबीच करिब एक घण्टा 'वन टू वन' वार्ता भएको हो।

सोमबार हुने संसदको बैठकमा संविधान संशोधन विधेयकलाई टेबल गर्ने निष्कर्षमा सत्तारुढ दल र मधेशी मोर्चा पुगेका बेला प्रधानमन्त्री र ओलीबीच सहयोगी बिना नै वार्ता भएको थियो। 

बैठकमा प्रधानमन्त्री प्रचण्डले सरकारले मधेसी मोर्चासँग गरेको ३ बुँदे सहमति र पछिल्ला छलफलमा विधेयक टेबल गर्ने प्रतिबद्धता जनाएकोले समर्थन जनाइदिन ओलीलाई आग्रह गरेका थिए। तर ओलीले संशोधन विधेयक फिर्ता लिए मात्र अवरोध नगर्ने पार्टीको पुरानै अडान दोहोर्‍याएका थिए।

'प्रधानमन्त्रीले संसद खोल्ने विषयमा लचक भैदिन आग्रह गर्नुभयो', भेटबारे अध्यक्ष केपी शर्मा ओलीका स्वकीय सचिव अनिश दाहालले भने, 'तर अध्यक्षज्यूले त्यसलाई नकार्नुभयो।'  

शनिबार मात्र कांग्रेस सभापति शेरबहादुर देउवासँग एमाले अध्यक्ष ओलीले भेट गरेका थिए। तर शीर्ष दुई नेताबीचको कुराकानी पनि सकारात्मक नभएको बालुवाटार श्रोतले बतायो। 

मधेसी मोर्चाको योजना

सत्तारुढ दल कांग्रेस र माओवादी केन्द्रका शीर्ष नेताहरुले सोमबारको संसद बैठकमा संविधान संशोधन विधेयक टेबल गर्ने प्रतिवद्धता जनाएकोले मधेसी मोर्चा आवद्ध दलले आफ्ना सांसदलाई तयारी रहन निर्देशन दिएका छन्। ‘सोमबारकै बैठकमा विधेयक टेबल गर्ने प्रतिवद्धता प्रधानमन्त्री र सत्तारुढ कांग्रेस सभपाति शेरबहादुर देउवाले हामीसँग व्यक्त गरेको छन्’, मधेशी मोर्चाका नेता राजकिशोर यादवले भने, ‘टेबल भएन भने मोर्चाका सांसद रमिते भएर बस्दैनन्।’

कांग्रेस र माओवादीले एमालेको सदन सञ्चालनमा विरोध छ भनेर विधेयक टेबल नगरे मोर्चाले आन्दोलनका कार्यक्रम सार्वजनिक गर्ने योजना बनाएको छ।

मोर्चाआबद्ध फोरम गणतान्त्रिकका अध्यक्ष राजकिशोर यादवले थाहाखरसँग भने- ‘गठबन्धनले भोलि एक बजे मधेसका जिल्ला सदरमुकाममा मात्र खबरदारी सभा गर्ने हो, भोलि पनि विधेयक टेबल नभए हामी संघर्षको कार्यक्रम घोषणा गर्छौँ।’

कांग्रेस सभापति देउवाले भने विधेयक टेबल गर्न सभामुखले प्रयास गर्दा एमालेले अवरोध गरे बारम्बार बैठक राख्नु पर्ने सुझाव प्रधानमन्त्रीलाई दिएका छन्।सोमबार पहिलो प्रयासबाट विधेयक टेबल गर्न नदिए मंगलबार जसरी पनि टेबल गर्ने पक्षमा देउवा छन्। 

यता मधेसी मोर्चाले भने विधेयक टेबल गर्न कानुन मन्त्रीलाई एमालेले रोक्न खोजे प्रतिकार गर्ने योजना भनाएको छ। नेता यादव भन्छन्, ‘विधेयक दर्ता गर्न एमालेले अवरोध गरेमा हामी प्रतिवाद गर्नेछौं।’ यादवले सोमबारदेखि एमालेले संसद अवरोध नछोडे मोर्चाले सदन र सडक दुबै ठाउँबाट संघर्ष गर्ने बताए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.