सुर्खेत : नेपाली कांग्रेसका सभापति शेरवहादुर देउवाले कम्युनिष्टलाई सिध्याउने चेतावनी दिएका छन्। कांग्रेसको कर्णाली प्रदेशस्तरीय महाधिवेशन प्रतिनिधिलाई प्रशिक्षण कार्यक्रमको शुक्रबार समापन गर्दै सभापति देउवाले यस्तो चुनौती दिएका हुन्।
कांग्रेसका सभापति देउवाले दुई तिहाईको कम्युनिष्ट सरकारका कारण मुलुक खतराको मोडमा गएकाले कम्युनिष्टलाई परास्त गर्नैपर्ने बताएका हुन्। ‘राणा शासण कांग्रेसले फाल्यो। पञ्चायती व्यवस्था फाल्यो। राजा फाल्यो। अव कम्युनिष्ट फाल्नुपर्छ’, उनले भने।
वर्तमान सरकारले राज्यका सबै अंग आफ्नो हातमा लिएर कम्युनिष्ट ‘स्टेट’ बनाउन खोजेको उनले आरोप लगाए। सरकारको काम कारवाहीबाट जनतामा निराशा छाएको भन्दै उनले यही मौकामा कांग्रेसले मुलुकको नेतृत्व गर्ने र कम्युनिष्ट सिध्याउने गरी चनाखो हुनुपर्ने बताए।
देउवाले सरकारलाई संसदमा विभिन्न विवादास्पद विधेयक पेश गरेर मानव अधिकार कुण्ठित गर्दै सर्वसत्तावाद लाद्न खोजेको गम्भीर आरोप लगाए। प्रेसलाई अंकुश लगाएर स्वतन्त्र मिडियालाई कब्जामा लिन खोजेको र नागरिकका बोल्न पाउने अधिकारलाई हस्तक्षेप गरेको उल्लेख गरे।
फरक प्रसंगमा देउवाले पार्टीलाई आफुले एकढिक्का बनाउन प्रयास गरे पनि सहयोग नपाएको गुनासो गरे। नजिकै बसेका महामन्त्री शंशाक कोइरालातर्फ संकेत गर्दै उनले भने, ‘मलाई सहयोग गर्नुहोस् न। मैले गरेका निर्णय र प्रस्तावहरूमा सहयोग गर्नुहोस न। अनि त के को गुट उपगुट?’ ‘पूर्व माओवादी र एमाले दुई विचारधाराका पार्टी एक भए। तर हामी एउटै पार्टी एक हुन सकेनौं। यसरी कसरी चल्छ पार्टी ’ उनले भने।
‘निर्वाचनमा घात गर्ने सबैलाई एक एक गरी कारवाही हुनुपर्छ र म गर्छु। केही साथीले ती अन्तर्घात गर्नेलाई बचाउन खोजेका छन्। कारवाही गर्न पाइँदैन भनेका छन्।तर म कारवाही गरेरै छोड्छु’ देउवाले दृढता व्यक्त गरे।
सभापति देउवाले आगामी निर्वाचनमा पहिलो पार्टी हुने गरी अहिले नै जनताको घर दैलोमा तीन चार पटक पुग्न कार्यकर्तालाई निर्देशन दिए। यस्तै पार्टी उपसभापति विमलेन्द्र निधिले वर्तमान सरकारले विधि पद्धति मिचेर सिंहदरवार होइन। प्रधानमन्त्रीले सिंगापुरबाट सरकार चलाउन खाजेको भन्दै आलोचना गरे।
सरकारले संविधानलाई कुल्चेर विभिन्न क्रियाकलाप गरेको उनले आरोप लगाए। ‘प्रधानमनत्री सिंगापुर जानुभएको छ। उहाँको स्वास्थ लाभको कामना छ। तर नीति नियम मिचेर सिंगापुर बाटै मन्त्रीपरिषद् बैठक र सरकार चलाउन खोज्नुभएको छ। यो संविधान र नीति विधि विपरित कार्य हो’, उनले भने। साथै उनले विगतका कमजोरी औल्याई समय सापेक्ष बनाएर पार्टी सञ्चालन गर्न आग्रह गरे।
महामन्त्री द्बय शशांक कोइराला र पूर्णबहादुर खड्काले पार्टीले चुनाव हारे पनि बिचार र एजेण्डा नहारेको भन्दै फेरि पुरानै धारमा आउने गरी अघि बढ्न सबै नेता तथा कार्यकर्तालाई आग्रह गरे। २ दिनको प्रशिक्षणमा सिकेका कुरा जनतामाझ पुर्याउन आग्रह पनि गरे।
दुई दिनसम्म चलेको प्रशिक्षण कार्यक्रममा कर्णाली प्रदेशका महासमितिका सदस्यहरूको सहभागिता थियो। सहभागीले प्रशिक्षणले पार्टी एकताबद्ध हुने विश्वास गरेका छन्।
तपाईंको ईमेल गोप्य राखिनेछ ।