दिनमा सरकारी सेना र रातभर 'जनसेनाको' उपचार गरियो
दिनमा सरकारी सेना र रातभर 'जनसेनाको' उपचार गरियो
काठमाडौं : ठूलो आमाको छोरा सरकारी जागिरे। त्यसमाथि सहायक सिडियो बनिसकेका थिए। तिनै दाजुले देखाएको सपनाको बाटो डोर्याउदै भाइले भने डाक्टर बन्ने लक्ष्य राख्यो। दुई भाइ छोरा हुर्काउन घाम र पानी सहेकी, अभावसँग लड्दालड्दा बुढ्यौली लागेकी एउटी सोझी र सरल आमालाई भने आफ्ना दुई भाइ छोरा मध्ये कान्छाले डाक्टर बन्छु भन्दा मनमनै लाग्ने गर्थ्यो, उता दाजु सरकारी जागिरे भयो। घरमा नै गाडी लिएर आउँछ। यता छोरो डाक्टर बन्छु भन्छ। यसले जीवनमा दुख पाउने भयो।'
यो घटना वीर अस्पतालका मिर्गौला रोग विशेषज्ञको रूपमा कार्यरत डा अनील बराल प्लस टु पढ्दाको हो। सुरूवाती चरणमा आमाले भन्ने गरेको यो वाक्य आज पनि कानमा ठोकिन्छ। तर, अफसोच आमाले छोरो डाक्टर बनेको धेरै दिन हेर्न पाइनन्। केही दिनमा नै आमाको निधन भयो। छोराको सफलतामा टेको बनेकी आमाले छोराको सफलताको उचाइमा बसेर आफूले गरेको दुख भुल्ने अवसर पाइनन्। आमाको निधनपछि कविता लेखे, जसको अंश यस्तो छ:
तिमी आफैँ कति भोकी, कति प्यासी थियौ भनेर
अनि कस्ती झुत्री मैली थ्यौ भनेर
म कत्ति हाँस्थेँ, अबोध न थिएँ
तिमी कत्ति रुन्थ्यौ, मेरो हाँसोको धेरै पीर थियो
कतै कलिलैमा ओइली झर्छन् कि भनेर
कतै नउम्रँदै माटोभित्रै विलीन हुन्छन् कि भनेर
म लड्थेँ तिमी उठाउँथ्यौ, तिमी लडिनौ कहिल्यै, कि मैले देखिनँ ?
तिम्रो काख नै काफी, आगो कहिल्यै चाहिएन
बाल्यकालको स्मृति खोतल्दै जाँदा अनेक अभावसँग आमनेसमाने भएका पलहरू आइपुग्छन् बरालसामु। बाल्यकालमा उनी आमाघर बसेर पढे। दाजु मामाघर। परिस्थितिले उनीहरूलाई विभाजित गरिदियो। पुन अर्को परिस्थितिको निर्माण भयो। दाजु भाइ सँगै हुने अवसर मिल्यो।
मान्छेको पीडा र रोग बुझेँ
नियतिले पुन यस्तो चेपमा राखिदियो उनी ठूलीआमाकोमा बसे। ठूलीआमाकोमा बस्दा उनका दाजुले यो भाइसँग क्षमता छ भन्ने निर्क्योलका साथ गण्डकी आवासीय माविमा भर्ना गरिदिए। प्लस टुसम्म उनले छात्रवृत्तिमा पढे। पढाइमा अब्बल भएकाले सबैले उनलाई डाक्टर बन्नुपर्छ भन्थे।
समाजले अब्बल विद्यार्थीले डाक्टर बन्ने लक्ष्य निर्धारण गरिदिन्थ्यो। जुन कुरा आजका मितिसम्म समाजमा उस्तै छ। प्लस टु सकेपछि उनी काठमाडौं आए। वि.स २०५२ सालमा उनले एमबिबिएस अध्ययनको लागि परीक्षा दिए। पूर्ण छात्रवृत्तिमा मनिपाल शिक्षण अस्पतालमा अध्ययनको अवसर पाए। मनिपालमा पढ्दै जाँदा उनले मान्छेको पीडा के रहेछ। रोग के रहेछ। भन्ने बुझे।
पढाइ सकिँदै जाँदा आफ्ना सर्कलका धेरै साथीहरू विदेश जाने तयारी गरे। तर उनी विदेश जाने रहर गरेनन्।'मलाई देशले बनाएको हो। देशले आफ्नो क्षमतालाई विश्वास गरेको छ भने मेरो क्षमता यही देशलाई दिनुपर्ने निर्क्योल गरेँ', उनी भन्छन्, 'विदेश जान्छु भनेर सोच्नु मेरो नैतिकताले दिँदैनथ्यो।' उनले लोकसेवामा परीक्षा दिए। जहाँ उनी पुन अब्बल ठहरिए। त्यसपछि उनी वीर अस्पतालमा नियुक्ति लिएर काम गर्न थाले। ६ महिना काम गरेपछि उनी उदयपुर पुगे।
दिनभर सरकारी सेनाको रातभर 'जनसेनाको' उपचार
देशमा राजनितिक माहोलले तातिएको थियो। हरेक दिन युद्धका घटनाहरू घट्थे। उनी सम्झिन्छन्, 'दिनभर सरकारी सैनिकको उपचार गरिन्थ्यो। रातभर जनसेनाको उपचार गरिन्थ्यो।'
सेना आएको खण्डमा उनी भन्थे, 'तपाईहरू हाम्रो न्यायको लागि लडाइँ लडेको व्यक्ति हो। जनसेना आए तपाईंहरू हाम्रो मुक्तिको लागि लडेको व्यक्ति हो' उनी भन्छन्, 'यो बाध्यता थियो। एउटा डाक्टरका लागि जुनसुकै पार्टी र आस्थाको व्यक्ति बिरामी वा घाइते भए पनि उपचार गर्नुपर्थ्यो। साथसाथै आफू पनि जोगिनुपर्थ्यो।'
दुई वर्ष उनले यसैगरी बिताए। त्यसपश्चात उनी नाम्सअन्तर्गत एमडी कार्यक्रम सनातकोत्तरमा भर्ना भए। उनी तीन वर्ष पढाइ गरे। स्नातकोत्तरपश्चात उनी पुन सुपर स्पेशलाइजेसनको अध्ययनमा लागे। उनी सुपर स्पेशलाइजेसनको अध्ययनका पहिलो व्याचका विद्यार्थी हुन् उनी। नेप्रोलोजी उनको विषय पर्न गयो। उक्त पढाइ सकेपछि उनी वीर अस्पतालमै आबद्द भए।
गीत लेखनमा रुचि
हरेक समाज कलाको स्रोत हो। कला यही निर्माण जन्मन्छन्। यही हुर्किन्छन्। यहीँ जीवन्त बन्छ। कलाका स्रोतहरूको मृत्यु हुँदैन। हरेक लेखक वा साहित्यकारले हाम्रै वरिपरिका चित्रलाई शब्दमा उतार्ने हुन्।
यसबाट बराल पनि अछुतो हुने कुरा भएन्। गण्डकी क्षेत्रको परिवेश। भनिन्छ, 'गण्डकी क्षेत्रको हावा र माटोमा कला साहित्य भेटिन्छ।' आफू हुर्केको समयमा प्रविधिको विकास थिएन्। उनले असारे गीत, रत्यौली र ठाडो भाका सुनेर हुर्किए। ती गीत सुन्दा उनमा पनि छुट्टै ऊर्जा आउँथ्यो। कविता लेख्नु अथवा गीत लेखन गण्डकी बोर्डिङ स्कुलमा पुगेपछि मात्र उनका विकसित भएको हो।
तीनवटा गीत बजारमा
उनले तीनवटा गीत बजारमा ल्याइसकेका छन्। उनका गीत लेखनका स्रोत भनेको आफ्नो बिरामी कक्ष हो। उनीहरूका मनमा भावलाई राम्ररी केलाउँछन् उनी। बिरामी निको भएर फर्किंदाका चरम खुशी पनि उनी नै देख्छन्। 'यो संसारमा सबैभन्दा धेरै मृत्यु देख्ने भनेको डाक्टरहरू नै हुन्।
खुशी देख्ने पनि डाक्टर नै हुन्। जीवनप्रतिको बोधले विभिन्न भावहरू मनमा आइपुग्छन्। तिनै भावहरू पोखिने हुन्' उनी भन्छन्, 'मैले लेख्ने होइन शब्दहरू आफैँ लेखिन्छन्।'
उनको पहिलो गीत 'एउटा खाता' सार्वजनिक गर्दै उनी गीतकारको रूपमा उदाए। त्यसपछी उनले दोस्रो 'अंगालैभरी' र तेस्रो 'मिर्मिरेको लालि फिक्का' गीत सार्वजनिक गरे।
यी गीत बजारमा आएपछि उनलाई हौसला दिनेको संख्या बढ्दै गयो। अहिले उनका आधा दर्जन गीत बजारमा आउने तयारीमा छन्। गीतकारका रूपमा भन्दा पनि आफूले देखेका र भोगेका कहानीलाई गीतमा मात्र उतारेको बताउँछन् उनी। गीत लेख्नु उनको लागि शोख हो।
दु:ख, खुशी र जीवन
उनको जीवनमा आफ्नै भोगाइ छन्। दु:खमा महासागरमा पौडिएर यहाँसम्म आएका हुन् उनी। उनी भन्छन्, 'बाल्यकालमा म आफूलाई संसारको सबैभन्दा पीडित मान्छे जस्तो लाग्थ्यो। तर, अहिले वीर अस्पतालमा आइसकेपछि यो दुनियाँमा हरेक मान्छेहरूका आफ्नै व्यक्त गर्न नसक्ने पीडाहरू रहेछन्।
हरेक मान्छे बाँच्न दु:ख गर्दो रहेछ भन्ने बुझेँ।' जब बिरामीको निधन हुन्छ तब आफूलाई अति नै पीडा हुने उनी बताउँछन्। उनी भन्छन्, 'कतिपय अवस्थामा बिरामीको निधन हुन्छ कि कैयौं दिन रातको निद्रा हराउँछ।'
जिन्दगीलाई परिभाषा गर्न कठिन
दु:खसुख जीवनको एउटा पाठ रहेको उनको बुझाइ छ। खुशी भनेको आफ्नाहरूको अनुहारको मुस्कान रहेको बताउँछन् उनी। उनले जीवनबाट हार खाएका व्यक्तिहरूलाई पुन जीवनको बोध सिकाएर घर पठाउँदा आफूलाई खुशी मिल्ने उनले बताए।
कास्कीमा जन्मिएर देशका विभिन्न जिल्ला हुँदै विगत १६ वर्षदेखि वीर अस्पतालका मिर्गौला रोग विशेषज्ञको रूपमा कार्यरत डा बराललाई गरिएको 'आखिर के रहेछ जिन्दगी?' भन्न प्रश्नमा उनी एकछिन मौन बसे। उनले आजको दिनसम्म आफूले भोगेको जिन्दगीलाई परिभाषा गर्न नसकिने बताए। तर परिभाषित गर्ने कोशिष गरे।
गल्ली नै छ साघुरै छ छैन आठ बाह्र लेन
जिन्दगीको यात्रा भने चलेकै छ जेनतेन
अनगिन्ती इच्छाहरू अभावहरू झेल्दै
कहिले भीर कहिले फाँट किनारसँग खेल्दै
घ्यारघ्यार गर्दै अघि बढ्छ गाडी मेरो जीवनको
कहिले इन्जिन आफ्नो चल्छ महिले भने ठेल्दै ठेल्दै
दृश्य फेर्दै अघि बढ्छ सिनेमा यो जीवनको
गल्ली नैछ साघुरै छ छैन आठ बार्ह लेन
जिन्दगीको यात्रा भने चलेकै छ जेनतेन
'जीवन एउटा सिनेमा हो। दृश्यहरू परिवर्तन हुँदै जान्छन्। पात्रहरू परिवर्तन हुँदै जान्छन्। तर, कथा भने कसैले पहिल्यै निश्चित तोकेकै छ', उनी मुस्कानसहित बोल्छन्, 'त्यही कथा वरिपरि आफूहरू खेलिरहेका हुन्छौँ। भेटिन्छौँ, रुन्छौँ, हास्छौँ, जोडिन्छौं, तोडिन्छौँ र अन्त्यमा हराउँछौं। सायद नियतिको एउटा चक्र हो जिन्दगी।'
यो १६ वर्षमा उनले कैयौँ बिरामीलाई उपचार गरेर घर फर्काए। कतिलाई भने उनले बचाउन सकेनन्। तर, हालसम्म सालाखाला कति बिरामीलाई उपचार गरे होलान् त? उनी भन्छन्, 'दैनिक पचासभन्दा धेरै बिरामी हेर्नुपर्छ।' केही सम्झे झैँ गरेर उनले पंक्तिकारलाई प्रतिप्रश्न गरे, 'आजसम्म पत्रकारितामा लागिसकेपछि तपाईंले कति समाचार लेख्नुभयो याद छ?'
पंक्तिकारले जवाफ दियो, '…
तपाईंको ईमेल गोप्य राखिनेछ ।