|

विमला ढकाल

बर्दिया : बर्दिया राष्ट्रिय निकुञ्ज भित्रबाट गाउँमा आएर मान्छे मार्ने पाटे बाघलाई नियन्त्रणमा लिइएको छ। बर्दिया ठाकुरबाबा नगरपालिका १ भुरिगाउँ बजारको खाने पानी ट्याङ्की टोलमा आईतवार विहान एक वृद्धलाई मार्ने पाटे बाघ निकुञ्जको प्राविधिक टोलीले नियन्त्रणमा लिएको हो।

बाघलाई डाटगन (लठ्याउने सुई) मार्फत बेहोस बनाउने औषधि प्रयोग गरेर नियन्त्रणमा लिइएको बर्दिया राष्ट्रिय निकुञ्जका सहायक संरक्षण अधिकृत अशोक भण्डारीले जानकारी दिए।

आईतवार विहान घर नजिक रहेको बंगुरलाई चारो दिन गएका बेला बर्दिया निकुञ्ज भित्रबाट आएको पाटे बाघले ठाकुरबाबा नगरपालिका १ भुरिगाउँका ७० वर्षिय पहरिया थारुलाई आक्रमण गरेर मारेको बाघलाई सोमबार विहान साढे ८ बजे नियन्त्रणमा लिइएको हो।

अन्दाजी १५ वर्षको पोथी पाटे बाघलाई बर्दिया राष्ट्रिय निकुञ्जका पशु चिकित्सक चित्र बहादुर खडकाको नेतृत्वमा राष्ट्रिय प्रकृती संरक्षण कोषका डार्टगन सुटर रामराज चौधरी, सहितको टोलीले नियन्त्रणमा लिएको हो। आईतवार वेलुका देखिको ठूलो मिहिनेतपछि मात्र बाघ समातिएको खडकाले बताए।

निकुञ्जका पशु चिकित्सक चित्रबहादुर खडका, राष्ट्रिय प्रकृती संरक्षण कोषका डार्टगन सुटर रामराज चौधरी, सहित निकुञ्ज सुरक्षार्थ नेपाली सेना, राष्ट्रिय प्रकृती संरक्षण कोषका कर्मचारी, निकुञ्जका कर्मचारी सहितको टोली बाघ नियन्त्रणका लागि आईतवार वेलुकादेखि खटिएको थियो।

आइतवार विहान वृद्धलाई आक्रमण गरेर मारेकै ठाउँ नजिक क्षेत्रको झण्डै दुई सय मिटरको दुरीमा बाघलाई डार्टगन (लठ्याउने सुई) प्रहार गरी नियन्त्रणमा लिइएको हो।

चार वटा हात्तीको प्रयोग गरेर आईतवार दिउसो देखिको प्रयासमा डार्टगनको सहायताले बेहोस बनाएर बाघ समातिएको हो। बाघलाई बर्दिया राष्टिय निकुञ्ज मुख्यालय ठाकुरद्धाराको खोरमा ल्याएर राखिएको छ। अन्दाजी १५ वर्षको विरामी अबस्थामा रहेको बुढा बाघ जंगलमा संघर्ष गर्न नसकि गाउँ पसेको भण्डारीले बताए।

मान्छे मारेको पाटे बाघ विहानैदेखि सोही क्षेत्र आसपासमा बसिरहेको थियो। बाघले थप घटना नदोहर्यावस भनेर बर्दिया राष्ट्रिय निकुञ्जले निकुञ्ज सुरक्षार्थ नेपाली सेना, निकुञ्ज कर्मचारी र प्रहरी खटाएर राखेको थियो।

मान्छे मार्ने बाघ नियन्त्रणमा नआउँदा सम्म भुरिगाउँ बजार क्षेत्रका स्थानियवासी त्रसित थिए। बाघ नियन्त्रणमा आएपछि स्थानियवासीमा त्रास हटेको छ।

पाँच दिन अघि गएको विहिवार गेरुवा गाउँपालिका ४ मा एक महिलालाई मार्ने बाघलाई पनि नियन्त्रणमा लिने प्रयास भईरहेको निकुञ्जले जनाएको छ। गएको विहीवार बर्दिया निकुञ्ज भित्रबाट आएको पाटे बाघले आक्रमण गर्दा गेरुवा गाउँपालिका ४ की ५६ वर्षिय रामकली शाहीको ज्यान गएको थियो।

 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.