|

सल्यान : सल्यानमा निर्माण गरिएका कृषि उपज संकलन केन्द्र प्रयोगविहीन बन्दै गएका छन्। साविकको जिल्ला कृषि विकास कार्यालय र विभिन्न संघ संस्थाको सहयोगमा निर्माण भएका कृषि संकलन केन्द्र प्रयोगबिहीन बन्दै गएका हुन्। 

जिल्लाका कालिमाटी, सल्लीबजार, श्रीनगर, मार्के, बागचौर, ढोरपिपल लगायतका दर्जन बढी कृषि संकलन केन्द्र प्रयोगविहीन भएका छन्। किसानहरूले  बारीबाटै सिधै व्यापारीलाई तरकारी बिक्री गर्न थालेपछि निर्माण गरिएका भौतिक संरचना अलपत्र पर्न थालेका छन्।

निर्माण गरिएका संकलन केन्द्र प्रयोगमा नआउदा पशुचौपायको ओत लाग्ने र बालबालिका खेल्ने स्थलको रुपमा परिणत भएका छन्। बन्गाड कुपिन्डे नगरपालिकाको सल्लीबजारमा निर्माण गरिएको कृषि संकलन केन्द्र निर्माण भएको एक वर्ष नवित्दै प्रयोगविहीन बनेको स्थानीय  कृषक तुङगबहादुर बुढाले बताए।

संकलन केन्द्र सञ्चालनका लागि प्रयास गरे पनि पर्याप्त मात्रामा कृषिजन्य वस्तुको उत्पादन नहुँदा प्रयोगविहीन भएको उनले बताए। थोरै उत्पादन भएको तरकारी व्यापारी सिधै बारीमै पुग्ने भएकाले लाखौंमा निर्माण गरिएका संरचना अलपत्र परेका छन् उनले भने। उनले भने, ‘सरकारी रकम लगानी भएकाले त्यसलाई अन्य रुपमा सार्वजनिक स्थल बनाई प्रयोग गर्न सकिन्थ्यो। तर सबैतिरबाट बेवास्ता हुँदा सरकारी रकमको दुरुपयोग भएको छ।’ 

२० वर्षअघि शारदा नगरपालिका ८ मार्के नाउलामा बनाएको संरचनाको अवशेष समेत रहेको स्थानीय जुद्धबहादुर बुढाथोकीले बताए। उनका अनुसार गाउँनजिकै निर्माण गरिएको अर्को पक्की टहरो पनि बेवारिसे अवस्थामा पुगेको छ।

संकलन केन्द्रमा सरकारी निकाय र स्थानीयबासीको ठूलो लगानी भए पनि उक्त लगानी खेर गएको छ। यस्तै २०६० सालमा झन्डै सात लाखको लागत शारदा नगरपालिका १ श्रीनगरमा सञ्चालित संकलन केन्दै पनि अलपत्र परेको छ। तरकारी राख्नका लागि बनाएको टहराको हावाले छाना उडाएको छ भने ढलान उप्किदै गएको स्थानीय कृषकको भनाई छ।

टहरा पशुचौपाया ओत लाग्ने र बालबालिकका खेल्ने स्थलमा परिणत भएको छ। यस्तै बन्गाड कुपिन्डे नगरपालिका ११ ढोरपिपलमा २०७४ सालमा ६ लाखको लागतमा निर्माण भएको कृषि संकलन केन्द्र स्थानीयलाई सामग्री राख्ने स्थलमा परिणत भएको छ।

संकलन केन्द्र निर्माण भएको ५/६ महिना संचालनमा आए पनि अहिले सञ्चालनमा आउन नसकेको स्थानीय अमर परियारले बताए। तरकारी संकलन केन्द्र बन्छ भने जग्गा दिनलाई के भोर भनेर जग्गा दिइयो तर अहिले आफूले दिएको जग्गाको अवमूल्यांकन भएको उनको भनाई छ। जिल्लामा निर्माण गरिएका अधिकांश कृषि संकलन केन्द्र प्रयोगविहीन हुँदा राज्यको करोडौ लगानी खेर गइरहेको छ।

कपुरकोट, त्रिवेणी गाउँपालिकामा निर्माण गरिएका कृषि संकलन केन्द्रहरू मात्र प्रयोगमा आउन सकेको कृषि ज्ञान केन्द्र सम्पर्क कार्यालय सल्यानले जनाएको छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.