|

काठमाडौं : स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले रोकिएको समायोजन प्रक्रिया छिट्टै सुचारु हुने जनाएको छ। स्वास्थ्यकर्मीको गुनासो सम्बोधन गर्ने विषय देखिएको कन्फ्युजन हट्ने क्रममा रहेको भन्दै रोकिएको समायोजन प्रक्रिया छिट्टै सुचारु हुने मन्त्रालयले जनाएको हो।

समायोजनमा नमिलेका कर्मचारीको गुनासो सम्वोधन गर्न संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयबाट लिखित आदेश नआएपछि स्वास्थ्यले जारी समायोजन प्रक्रिया स्थगित गरेको थियो।

मन्त्रालयका प्रवक्ता महेन्द्रप्रसाद श्रेष्ठले भने, ‘सामान्यसँग कुरा भइसकेको छ, उहाँहरू सकारात्मक हुनुहुन्छ। अब चिठी आज वा भोलि आउँछ होला। त्यसपछि हामीले समायोजन कार्य पुन: सुरु गरिहाल्छौँ।'

गत असारको १५ देखि शुरु भएको स्वास्थ्यको समायोजनले पछिल्लो समय केही गति लिन थालेकै बेला रोकिएको हो। समायोजन गर्नुपर्ने करिब साढे २७ हजार कर्मचारीमध्ये अहिलेसम्म एक तिहाईको मात्रै समायोजन भएको छ।

स्वास्थ्य मन्त्रालय अन्तर्गतका कर्मचारी ढिलो गरी सुरु भएको स्वास्थ्यको समायोजनमा हाल  चिकित्सा, नर्सिङ, आयुर्वेद, जनस्वास्थ्य लगायतका छैटौंदेखि ११ औं तहसम्मका समायोजन सकिएको छ।

त्यसैगरी, खोप सुपरभाइजर, ल्याब, पब्लिक हेल्थ इन्स्पेक्टर लगायतको पनि समायोजन सकिएको मन्त्रालयले जनाएको छ। संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले स्वास्थ्य सेवा समूहका कर्मचारीको समायोजनका लागि सिफारिस गरिसकेको छ।

अन्य सेवा समूहका कर्मचारीको समायोजन भइसकेको छ। यस्तै, तल्लो तहदेखि कर्मचारीको समायोजन र पदस्थापन गर्दै आएको स्वास्थ्य मन्त्रालयको टोली अब  गुनासो परेका पदहरूको मिलानमा अघि बढेको छ।

अघिल्लो पटक सामान्य प्रशासन मन्त्रालयले गरेको समायोजनमा धेरैको नमिलेपछि त्यसलाई बदर गरी पुनः समायोजनको निर्णय गरेको थियो। त्यसअघि नै मन्त्रालयले अघिल्लो पटक समायोजनमा चित्त नबुझेका कर्मचारीलाई गुनासो गर्न समयावधि दिएको थियो।

त्यहीअनुसार मन्त्रालयमा १३ हजार भन्दा बढी गुनासो परेको थियो। तर, पछि छानविन गर्दा ७ हजार बढी गुनासा जायज देखिएको मन्त्रालयको जनाएको थियो। गत असार दोस्रो साता ११ औँ तहका कर्मचारीबाट समायोजन सुरु गरेको स्वास्थ्य मन्त्रालयले अहिले दशौँ तह, नवौँ तह, आठौँ तह हुँदै नर्सिङतर्फको पाँचौ, छैटौँ र सातौँ तहकोसमेत समायोजन गरिसकेको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.