३८ किलो सुनकाण्ड प्रकरणका आरोपी खनाल बारा आउँदै

|

बारा : बाराका प्रमुख जिल्ला अधिकारी (सिडिओ) र जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी उपरीक्ष (एसपी)को सरुवा भएको छ।

सिडिओ राजेश पौडेलको जिल्ला प्रशासन कार्यालय सुनसरी र एसपी सानुराम भट्टराईको अख्तियार दुरुपयोग अनुसन्धान आयोगको केन्द्रीय कार्यालय प्रहरी महाशाखा टंगालमा सरुवा भएको हो।

बाराका सिडिओ पौडेललाई गृह मन्त्रालयको भदौ १२ गते र एसपी भट्टराईको भदौ १३ गतेको प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालको निर्णयानुसार सरुवा भएको हो।

एसपी भट्टराई भदौ ६ गते अमेरिका प्रस्थान गरेका छन् भने नयाँ प्रमुख आइसकेका छैनन्। सिडिओ पौडेल भने जिल्लामा नै छन्।

को आउँदैछन् बारामा ?

अब बारामा जिल्ला प्रशासन कार्यालय सुर्खेतमा कार्यरत फणिन्द्रमणी पोखरेल सरुवा भएर आउने भएका छन्। त्यसैगरि जिल्ला प्रहरी कार्यालय बारामा विकाशराज खनाल आउने भएका छन्। उनी प्रहरी युक्ति तालिम महाविद्यालय जर्गाह नवलपरासीमा कार्यरत थिए।

को हुन् विकासराज खनाल

३८ किलो सुनकाण्ड प्रकरणका आरोपी विकासराज खनाल बारामा आउन लागेका हुन्। पक्राउसमेत परेका उनलाई उच्च अदालत मोरङले साधारण तारेखमा रिहा गरेको थियो। त्यतिबेला उनी मकवानपुरमा एसपी थिए र २०७५ वैशाख ११ गते पक्राउ परेका थिए।

गत ७ माघमा युएईबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै आएको तस्करीको साढे ३३ केजी सुन सम्बन्धित व्यक्तिसम्म नपुगी गायब भएको थियो। सुन खोज्ने क्रममा भरिया शाक्यलाई टर्चर दिएर हत्या गरिएको भिडियो सार्वजनिक भएको थियो। घटनालाई लुकाउन प्रहरीले भूमिका खेलेको आरोप छ। सुन गायब र हत्यामा प्रहरीकै मिलेमतो रहेको आशंकामा अनुसन्धानका लागि गृह मन्त्रालयले सह-सचिव ईश्वर पौडेल नेतृत्वको छानबिन समिति गठन गरेको थियो।

पौडेलको महत्वपूर्ण काम

गत २०७५ माघ १२ गते तत्कालीन सिडिओ गणेश पौडेल दुर्घटनामा परेपछि त्रिभुवन विमानस्थलको अध्यागमन विभागमा कार्यरत पौडेललाई बाराको सिडिओका रुपमा पठाइएको थियो।

झण्डै ८ महिना बाराको सिडिओको रूपमा जिम्मेवारी सम्हालेका पौडेलले आफ्नो कार्यकालमा सार्वजनिक जग्गाको मुद्दालाई महत्वका साथ अघि बढाएका थिए।

झण्डै डेढ सय बिगाहा सार्वजनिक जग्गाको खोजबिन गरी संरक्षणको मागसहित सार्वजनिक जग्गा व्यक्तिको नाममा कायम गर्ने जनप्रतिनिधिविरुद्ध कार्वाही गर्न अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी गरेका थिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.