|

जाजरकोट : शनिबार वेलुकादेखि परेको अविरल वर्षाका कारण जिल्लाको नलगाड नगरपालिका ५ सिर्के, एैरारी, हारेकाप्ला, चारगाउँ जोड्ने पुल बग्दा वाटो अवरुद्ध भएको छ। 

गाउँको बीचमा रहेको रहेको सिर्के खोलामा पानीको मात्रा बढेको कारण १ वटा काठेपुल बग्दा एक गाउँबाट अर्को गाउँमा जाने बाटो अवरुद्ध भएको छ। त्यस्तै जुनिबाल संरक्षण माविमा पढ्ने विद्यार्थी आयतबार विद्यालय आउन नसकेको शिक्षक हरिश बुढाथोकीले जानकारी दिए।

लविसा, गर्छीना, काफलवाटा, भारगाउँ जाने स्थानीयवासी विहानैदेखि पुल नहुँदा यात्रा अवरुद्ध भएको छ। अघिल्लो वर्ष पनि यही खोलाले पुल वगाउँदा समस्य भएको थियो। नलगाड पहुँचमार्गको सडकबाट बाढी आउँदा ११ वटा घर जोखिममा परेका छन्। 

बाढीका कारण .देभिभक्त घर्ती,.कमला शाही, जनकबहादुर शाही, रुद्रबहादुर शाही, रामबहादुर घर्ती, अनुरुप बिक, माया खत्री, बिल्खे कामी, चन्द्रबहादुर शाही र  महेन्द्र शाहीको घर जोखिममा परेका छन्। त्यस्तै जुनीबाल संरक्षण माविको पर्खाल भत्किएको छ भने बिल्खे कामीको आरन पुरिएको बुढाथोकीले बताए।

पानी निरन्तर परिरहेकोले खोलाको कटान नरोएिको उनको भनाई छ। सिर्को ज्यूलामा रोपिएको धान र मकैबालीमा समेत व्यापक क्षति भएको छ। त्यस्तै नलगाड नगरपालिका ८ सीमा गाउँमा समेत जोखिम बढेको छ। त्यहाँका १८ घरधुरी घर छाडेर छिमेकी गाउँमा गएर बसेको पीडित मनबहादुर नेपालीले बताए।

डोजरद्बारा खनिएको सडक भाँसिएपछि पहिरो आउँदा जोखिम निम्तिएको हो। त्यस्तै सोही वडाकै कार्यखेतमा ७ घर जोखिममा परेको पंञ्च भयार माविका प्रधानाध्यापक हुमप्रकास सिंहले बताए। जोखिम बढेपछि घर नै छाडेर अर्को गाउँमा वस्न बाध्य भएको उनको भनाई छ।

आज नै गएको पहिरोले जाजरकोट भेरी नगरपालिका २ तिमीलेमा एकै घरका तीन जनाको मृत्यु भएको प्रहरीले जनाएको छ। यसैबीच घटनाप्रति वन तथा वातावरण मन्त्री शक्तिबहादुर वस्नेतले गहिरो दुःख व्यक्त गरे। दुर्घटनामा परी मृत्यु भएका परिवारजनप्रति सहानुभूति व्यक्त गर्दै उनले संयमता अपनाउन आग्रह गरेका छन्।

उद्धार तथा खोजी कार्यमा संलग्न सुरक्षाकर्मी, स्थानीय जनसमुदाय तथा सरकारी अधिकारीलाई धन्यवाद दिदै वन मन्त्री बस्नेतले खोजी कार्यलाई निरन्तरता दिन समेत आग्रह गरे। यसै गरी भेरी नगरपालिकाका नगरप्रमुख चन्द्रप्रकास घर्तीले समेत दुख व्यक्त गरे।

उनले यस दुखको घडीमा सवैले आ-आफ्नो ठाउँमा सहयोग गर्न समेत आग्रह गरेका छन्। निरन्तर पानीका कारण जाजरकोट-राडी, दल्लीको यातायात सेवा अवरुद्ध भएको छ। खोलामा पानीको मात्रा बढेका कारण यातायात सेवा अवरुद्ध भएको हो। खोलामा पुल नहुँदा यातायात सुचारु गर्न नसकिएको हो।

निरन्तर पानी परिरहेकाले सवैले यात्रा गर्दा, घरमा वस्दा ध्यान दिन, अर्कालाई समस्य पर्दा सघाउन र जोखिम बढेमा सुरक्षा निकायलाई खवर गर्न प्रमुख जिल्ला अधिकारी ललितकुमार बस्नेतले जानकारी दिए। 

भेरी नदीमा समेत पानीको वहाव बढेका कारण जोखिम रहेका वस्तीका स्थानीयलाई सचेत रहज आग्रह गरिएको छ। नदीमा पानीको वहाव वढेका कारण नदीबाट काठ निकाल्ने स्थानीयलाई सचेत रहन समेत आग्रह गरिएको छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.