'मान्छेको प्रवृत्ति बुझेरै ऋषिमुनीले मन्त्र बनाए'
'मान्छेको प्रवृत्ति बुझेरै ऋषिमुनीले मन्त्र बनाए'
हामीले अन्य अध्यायहरूमा निर्विचार अवस्था कसरी पाउने भन्ने चर्चा गर्यौँ। यो अवस्था प्राप्त गर्न कठिन त छ तर असम्भव छैन। तथापि आज हामी यति विघ्न विचार प्रधान भयौं कि निर्विचारको अवस्थाको चर्चा गर्दा थुप्रै मानिसहरूले शुरूमै असमर्थता जनाउने छन्।
उनीहरू निर्विचार अवस्थाको प्राप्तिका लागि गर्नुपर्ने परिश्रम गर्नदेखि डराउने छन्। त्यसैले यहाँनेर निर्विचारको अवस्थाको प्राप्तिको चर्चा नगरी विचारमा रूपान्तरण गरेर कसरी जीवनमा सकारात्मक परिवर्तन ल्याउने भन्ने विषयमा चर्चा केन्द्रित गर्दै छु। यस सन्दर्भमा केही कुरा बुझ्नु जरुरी छ।
हामीले के सोच्छौं। हाम्रो मनमा के कस्तो संवेदना जाग्छ ती सबै स्वचालित छन्। वैज्ञानिकहरू भन्छन् चेतन मस्तिष्क त अर्धचेतन मस्तिष्कको प्रतिछाया उतार्ने ऐना जस्तै हो।
वैज्ञानिक परीक्षणहरूले के देखाए भने हामीले होसपूर्ण भएर म यो काम गर्दै छु भनेर गर्दा पनि सम्बन्धित काम गर्न मस्तिष्कले पहिलै निर्देशन दिइसकेको हुन्छ। अर्थात् हामी स्वत्रन्त्र छैनौं परिचालित छौं। हामीले गर्ने ९० प्रतिशत क्रियाकलाप केवल मस्तिष्कको अधिनायकवाद हो।
उदाहरणका लागि गाडी चलाउँदा हामीले सयौं पटक गेर बदलेका हुन्छौं, स्टेरिङ घुमाएका हुन्छौं, आवश्यकताअनुसार ह्याण्डिल घुमाएका हुन्छौं, ब्रेक लगाएका हुन्छौं। हामीले होसपूर्ण भएर यस्ता काम पटक्कै गरेका हुँदैनौं। स्वचालित रूपमा कामहरू भइरहेको हुन्छ। अर्को अर्थमा हाम्रो मस्तिष्कका लागि हामी केवल कठपुतली हौं।
मस्तिष्क स्वचालित मेसिन
यसलाई यसरी बुझौँ, मस्तिष्क स्वचालित मेसिन हो र विचार, मनोदशा, व्यवहार र क्रियाकलाप उत्तपादित वस्तु हुन्। यो स्वचालित मेसिनले तत्कालीन रूपमा विचार, मनोदशा, व्यवहार र क्रियाकलापलाई प्रभाव पार्छ तर दीर्घकालीन रूपमा भने हाम्रो व्यक्तित्व र समग्र जीवनमा नै प्रभाव पार्छ। मस्तिष्क स्वचालित छ अनि हामी लाचार छौं। नचहँदा नचहँदै हामीमा नकारात्मक सोच आउन सक्छ। जसले गर्दा नकारात्मक भावहरू उत्पन्न हुन्छ।
अनि हामी नकारत्मक कामहरू गछौं र नकारत्मक परिणामको भागी हुन्छौं। हामी यति निरीह अन्जान नै गल्तीहरू हुँदै जान्छन् अनि हामीले परिणामको भागी हुँदै जानुपर्ने।
तर श्रृष्टि यति निष्ठुर छैन, यस्तो अवस्थाको रूपान्तरणको उपाय पनि छ। हामी जे हौं हाम्रो सोचकै परिणाम हो भन्नु हो अर्थ केहि परिवर्तन गर्नुपर्छ भने सोच्ने तरिकामा गर्नुपर्छ। स्वचालित नै किन नहोस् सकारात्मक सोच र भाव उत्पन्न हुने अवस्थामा त सकारात्मक कामहरू गरेर सकारत्मक परिणामको भागी पनि बन्ने थियौं।
दिन र रात जस्तै प्रकृतिका हरेक ऊर्जा चक्रमा घुमेको हुन्छ। हाम्रो शरीर र मन पनि यसबाट अछुतो छैन। उदाहरणका लागि महिलामा हरेक चार हप्तामा नै मासिक श्राव हुन्छ। मासिक श्रावको अवस्थामा महिलाहरूमा चिड्चिडाउने, सजिलैसँग चित्त दुःखाउने, तनाव महशुस गर्ने, मुडमा परिवर्तन भइरहने आदि हुन्छ। यसको अर्थ हरेक चार हप्ताको चक्रमा महिलामा यस खालको मनोभावको दोहरिएर आउने भो।
महिलाको मासिक श्राव त देखिन्छ तथापि वैज्ञानिकहरूका अनुसार महिलामा जस्तै पुरुषमा पनि हरेक चार हप्तामा शरीरको हर्मोन र मस्तिष्कको रसायनमा (न्यूरो ट्रन्समिटर) परिवर्तन भएर मासिक श्राव भएका महिलामा झैँ मनोभावनात्मक समस्या देखिन्छ। यसको अर्थ हरेक मनोभावहरू चार हप्ता मै दोहरिन्छ भनेको चाँहि होइन। तथापी हरेक मानिसमा निश्चित विचारहरू र भावहरू भने निश्चित समयमा दोहरिएर चाँहि आउँछ।
२४ घण्टाको अवधिमा पनि हामी निश्चित समयमा खान्छौं, काम गर्छौ, सुत्छौं। अनि शरीरको रसायन पनि तत्त अनुरूप रूपान्तरण भएको हुन्छ। यसैलाई नै मस्तिष्क विज्ञानको भाषामा ‘सार्काडियन साइकल’ भनिन्छ।
हामीले याद नगरेको मात्रै हौं, एउटा निश्चित समय अवधिको विचारहरू, मानोभावहरू र व्यवहारहरू र हामीले गरेका कामहरूलाई टिपोट गर्ने हो भने छर्लंग हुन्छ, हाम्रो जीवन उस्तै चक्रको एकाइहरूको संगम हो।
प्रवृत्ति बुझेर नै ऋषिमुनीको मन्त्र
बारम्बार दोहरिएर आउने कुरालाई पुनरुक्ति भनिन्छ। हरेक ऊर्जाको जस्तै मस्तिष्कको पुनरुक्तिको प्रवृत्तिलाई बुझेर नै प्रचीन कालमा ऋषिमुनीहरूले मन्त्र बनाएका हुन्।
मन्त्रको अर्थ नै कुनै कुरालाई बारम्बार दोहराएर जीवनमा त्यसको फल प्राप्त गर्नु हो। सधैँ आफूलाई बलवान छु भन्ने गरेमा मानिस अवश्य बलवान हुँदै जान्छ। हामीले जीवनमा चाहने कुरालाई दोहर्याई रह्यौं भने त्यो हाम्रो व्यक्तित्व बन्छ। जीवन बन्छ।
यहाँसम्म आइपुग्दा यति कुरा त बुझियो कि मस्तिष्कको पुनरुक्ति समग्र जीवनको निमार्णको साधन हो। अब यहाँनेर मनन गर्नैपर्ने कुरा चाँहि के हो भने आज हाम्रो जीवनमा बिग्रिएका सम्बन्ध, असफलता, नाजुक स्वस्थ्य, पैसाको अभाव लगायतका यावत समस्याहरू त हाम्रै मस्तिष्कको पुनरूक्तिकै कारण हुन्। गल्ती चाँहि काँहानेर भयो भने हामी दुःखी छौं किनकि हामी आनन्दको बारेमा नसोचेर दुःख कसरी हटाउने भनेर सोच्छौं।
दुःख कसरी हटाउने भनेर सोच्दा दुःख नै पुनरुक्तिबन्छ। हामी धुम्रपान गछौं र चुरोट कसरी छोड्ने भनेर फेरि चुरोटलाई नै पुनरुक्तिबनाउछौं। हामी असफल, रोगी, गरिब आदि छौं भने यसकारण छौं कि तिनलाई जीवनबाट हटाउन सोच्दा ति पुनरुक्तिबन्दै गरेका हुन्छन्। अनि जति धेरै पुनरुक्तिहुन्छ त्यो कुराको उपस्थिति हाम्रो जीवनमा अझ धेरै हुँदै जान्छ।
समस्या यतिमा मात्रै सीमित छैन। अधिकांश समयमा विचार र भावका सन्दर्भमा हामी होसपूर्ण हुँदौनौं अनि अत्यधिक विचारहरू र भावहरू नकारत्मक हुन्छन्।
हामी विचारहरू र भावहरूप्रति होसपूर्ण नहुँदा पत्तै नपाई तिनले नकारत्मक प्रभाव पार्दै गरेका हुन्छन्। त्यस्तै विचारहरू र भावहरू घनिभूत रूपमा हामी थाहा पाउने गरी आउँदा चाँहि विचार र भाव यति विघ्न हाबी हुन्छन् कि हामीले होस् नै गुमाएर ती विचारहरू र भावनाहरू अनुरूप व्यवहार गछौं।
तसर्थ समान्य अवस्थामा मस्तिष्क र शरिरमा स्वचालित रूपमा पलपल आइरहने विचार, मनोदशा र संवेदनाप्रति सजक हुने बानी बसाल्नुपर्छ। के कुराले हाम्रो विचार र भावलाई प्रभाव पर्दो रहेछ भन्ने कुरालाई गहिराईमा महसुस गर्नुपर्छ।
नरात्मक विचार वा भाव आउँछ नै तर त्यसको विपरीत प्रवृत्तिको विचार गर्ने वा भावको विकास गर्ने गर्नुपर्छ। जस्तै घृणा भाव आयो भने प्रेम गर्ने बानी बसाल्नुपर्छ। जीवनको नकारत्मक कुरामा मात्रै ध्यान गइरह्यो भने जीवनको सकारात्मक कुरालाई प्रयत्नपूर्वक सम्झने गर्नुपर्छ। यस्तो किन गर्ने भन्दा नराम्रो कुरालाई नभई राम्रो कुराहरूलाई पुनरुक्ति बनाउनका लागि हो।
जीवनमा उज्यालोको खोजी
जीवनबाट अन्धकार हटाउनु छ भने अन्धकार कसरी हटाउने चिन्ता गर्ने होइन उज्यालोको खोजी गर्नुपर्छ। उज्यालोको उपस्थितिमा अन्धकार आफैँ हट्छ। दुःख कसरी हटाउने भन्ने चिन्ता होइन आन्दनदित कसरी हुने सिक्नुपर्छ अनि दुःख आफैँ हट्छ।
नकारात्मकलाई कसरी हटाउने भन्ने पीर गर्ने होइन सकारत्मलाई कसरी पाउने भन्ने प्रत्यत्न गर्नुपर्छ। आफूमा भएका कमजोरी हटाउन खोज्दा हीन भाव पैदा हुन्छ भने संसारमा भएका राम्रो कुरा बटुल्ने अभियानमा लाग्दा उत्साह पैदा हुन्छ। आफूमा भएको कुनै कुराको त्याग गर्ने नै होइन बरू परमको भोग गर्नुपर्छ।
संसारिक महोललाई त्याग्नेहरूले मानिसलाई भ्रममा मात्रै पारेका हुन्, ति जति दुःखी र दरिद्र दुनियाँमा कोही छैनन्। तर ध्यान प्राप्त गर्नेहरूले सन्सारको सबैभन्दा उच्च जीवन भोग गरेका हुन्छन्।
यसरी सकारात्मक कुरालाई पुनरुक्ति बनाउनेबित्तिकै मस्तिष्कले स्वचालित रूपमै ती कुराहरूलाई ग्रहण गर्छ अनि विचारमा, भावमा, व्यवहारमा, कार्यमा, व्यक्तित्व र जीवनमा सकारत्मक रूपान्तण आउँछ।
तपाईंको ईमेल गोप्य राखिनेछ ।