|

अर्घखाँची : सडक दुर्घटनामा परी अर्घाखाँची मालारानी-९ गोखुङगा सेपानीका २५ वर्षीय लेखबहादुर पुनको मृत्यु भएको छ।

बिहीबार साँझ ललितपुरबाट बा ८६ प ७५० नम्बरको मोटरसाइकल चढेर सुन्धारा जाँदै गरेका लेखबहादुर पुन 'एलबी'लाई पछाडिबाट आउँदै गरेको बा१ग २४५६ नम्बरको नेपाली सेनाको गाडीले काठमाडौंको त्रिपुरेश्वरमा ठक्कर दिएको थियो।

दुर्घटनामा गम्भीर घाइते पुनको वीर अस्पतालको ट्रमा सेन्टरमा उपचारको क्रममा गएराति निधन भएको मृतकका दाजु लिमानबहादुर पुनले बताए। नेपाली लोक संस्कृतिमा ७ वर्ष बिताइसकेका अभियन्ता पुनले काठमाडौंमा लोकदोहोरी, नृत्य र अभिनयमा सक्रिय थिए।

अहिले पुनको शवलाई पोष्टमार्टमका लागि टिचिङ हस्पिटलमा राखिएको छ। मृतक पुन: राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिस्ठान नेपाल बानेश्वर-कोटेश्वर समितिका सहसचिव पनि हुन्।

टिचिङ हस्पिटलमा राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालका केन्द्रीय अध्यक्ष बद्री पंगेनीसहितको नेपाली कलाकारको टोली पुगेको मृतकका दाजु लिमान बहादुर पुनले जानकारी दिए।

अर्घाखाँचीकै शिर उच्च राखेका एक बहुप्रतिभाशाली व्यक्तित्व पुनको निधनले देशकै कलाकारिता क्षेत्रमा ठूलो क्षति भएको राष्ट्रिय  लोक तथा दोहोरी गीत प्रतिष्ठान अर्घाखाँचीका निवर्तमान अध्यक्ष सहयोगी बिसीले बताए।

एक उदयमान कलाकारको दुखद निधनले एक कुशल, बहुप्रतिभाशाली कलाकार गुमाएको अर्घाखाँची काठमाडौ कलाकार समाजका अध्यक्ष मधुसूदन बन्जाडेले बताए। 

ठक्कर दिने चालक र गाडीलाई विशाल बजार प्रहरीले नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ। उचित क्षतिपूर्ति उपलब्ध नभएसम्म शव नबुझ्ने मृतकका आफन्तले जनाएका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.