|

धनगढी : ४ वटा पेस्तोलसहित १८ करोड बढीका तमसुकसहित तीनजना पक्राउ गरेको कैलाली प्रहरीले त्यसको भोलिपल्टै २९  लाख ८० हजार अवैध रकमसहित एक जनालाई पक्राउ गरेको छ।

भारतीय नम्बर प्लेटमाको गाडीमा अवैध वस्तु रहेको गोप्य सूचनाको आधारमा प्रहरीले भारतीय नागरिक अतुल बर्मालाई पक्राउ गरेको हो।

भारतीय नागरिकबाट २५ लाख नेपाली रुपैयाँ र ३ लाख भारतीय रुपैयाँ बरामद गरेको छ। युपी ३१ एके ७३४८ नम्बरको गाडीमा लुकाएर ल्याउँदै गरेको अवस्थामा उक्त रकम बरामद गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख प्रहरी उपरीक्षक सुदीप गिरीले बताए।

‘हामीलाई भारतको पलियाबाट अवैध केही महत्त्वपूर्ण कुरा आउँदै गरेको सूचना आयो’ प्रहरी प्रमुख गिरिले भने, ‘भन्सारमा कुरिरह्यौ अनि पक्राउ गर्‍यौँ।’

प्रहरीले गाडी र चालकलाई नियन्त्रणमा लिएपछि सोधपुछ सुरु गरेको थियो। सोधपुछका क्रममा उनीमाथि शंका लागेपछि जिल्ला प्रहरी कार्यालय ल्याइएको हो। जिल्ला प्रहरी कार्यालय परिषरमा प्रहरी प्रमुख गिरि नै सोधपुछमा खटिएका थिए। त्यसपछि चालक थप आत्तिए। ‘प्रहरी चौकीभित्र ल्याइसकेपछि ऊ थप शंकास्पद भयो’ उनले भने ‘त्यसपछि हामीले गाडिको खानतलासी गर्‍यौँ, अनि रकम बरामद भयो।’

अतुल बर्माको साथबाट ५० हजार भारतीय रकम बरामद भएको थियो भने अन्य रकम गाडीमा लुकाइएको अवस्थामा फेला परेको हो। उनीसँग छवटा विभिन्न बैंकका एटिएम कार्डसमेत प्रहरीले बरामद गरेको छ। उनीबाट विभिन्न खाली चेक समेत भेटिएको छ।

पक्राउ गरेका व्यक्तिको धनगढीमा सुन पसल रहेको प्रहरीले जनाएको छ। ठूलो परिमाणमा रहेको नेपाली रकम उनले किन लुकाएर लैजाँदै थिए भन्ने विषय शंकास्पद रहेको प्रहरी प्रमुख गिरीले बताए।

‘नेपाली रकमको लागि त त्यति समस्या छैन’ उनले भने ‘त्यो रकम पनि किन लुकाएर ल्याइँदै थियो भन्ने विषय भने शंकास्पद रहेको छ।’

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.