|

सिन्धुली : राष्ट्रिय प्रजातन्त्र पार्टी (संयुक्त) का अध्यक्ष पशुपति समशेर राणाले ओली सरकारको कुशासनबाट आक्रोशित जनताले विकल्प खोजेको बताएका छन्।

अध्यक्ष राणाले शनिबार भने, ‘इतिहासकै बलियो दुई तिहाइको नेकपा सरकारलाई जनताले मौका दिएकै हो। तर सरकारले सिन्को पनि भाँच्न सकेन। विगत १६ महिनामा ओली सरकारले भ्रष्टाचार, कुशासन र अधिनायकवाद उन्मुख शासन सैलीबाहेक केही दिन सकेन।’

‘त्यसकारण जनतामा निराशा छाएको छ। आक्रोश बढेर गएको छ। जनता अब पर्खेर बस्नेवाला छैनन्’ सिन्धुली जिल्लास्तरीय भेलालाई सम्बोधन गर्दै राणाले भने। गुठी विधेयक र रवी लामिछाने प्रकरणमा जनताको आक्रोश छताछुल्ल भएको भन्दै जनताले खोजेको विकल्प राप्रपा (संयुक्त) ले दिने अध्यक्ष राणाले दावी गरे।

सरकार भ्रष्टाचारमा चुर्लुम्म डुबेको र राष्ट्रपतिको भूमिका निष्पक्ष नभएको जिकिर गर्दै उनले निष्पक्ष संस्थाको रुपमा राजसंस्थाको आवश्यकता टड्कारो रहेको बताए। जनताको चाहना बमोजिम राजसंस्था र सनातन हिन्दु राष्ट्रको लागि आन्दोलन गर्ने पार्टीको योजना रहेको राणाले जानकारी गराए।

अर्का अध्यक्ष डा. प्रकाशचन्द्र लोहनीले सत्तारुढ दलहरूले मार्क्सवादको नाममा मुलुकमा लुटतन्त्र मच्चाएको टिप्पणी गरे। नेता बनेर जनताको सेवा गर्ने होइन सरकारमा पुगेर अकुत सम्पत्ति आर्जन गर्ने प्रवृत्ति बढेको बताए। उनले नेताहरूको सम्पत्ति छानबिन गर्न माग पनि गरे।

जनआन्दोलनले माग नै नगरेको धर्मनिरपेक्षता लादेर अन्याय गरिएकाले ८१ प्रतिशतभन्दा बढी हिन्दु र ९२ प्रतिशत ओमकार समुदाय भएको नेपालमा सनातन हिन्दु राष्ट्रको विकल्प नभएको अध्यक्ष लोहनीले दावी गरे। लोहनीले राप्रपा (संयुक्त) बेलायत, नर्वे जस्तो संवैधानिक राजसंस्था सहितको प्रजातन्त्र र धार्मिक स्वतन्त्रता सहितको हिन्दु राष्ट्रमा अडिग रहेको पनि बताए। 

नेता लोहनीले देशको आवश्यकता अनुरुप राप्रपा (संयुक्त) सशक्त भएर अघि बढ्ने बताए। यसै सन्दर्भमा समान विचारधार भएका दल र शक्तिहरूसँग राप्रपा (संयक्त) ले एकता गर्ने समेत उनले जानकारी गराए।

विभिन्न पार्टी परित्याग गरी राप्रपा (संयुक्त) मा प्रवेश गर्ने ४३ जना नवप्रवेशीलाई अध्यक्षद्वयले स्वागत गरेका थिए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.