काठमाडौं : सत्तारूढ दल नेपाल कम्युनिष्ट पार्टीकी सांसद पम्फा भुसालले नेपाल–भारत सिमानामा तारबार र पर्खाल लगाउनुपर्ने बताएकी छन्।
बुधबार बसेको संघीय संसद् राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै उनले कुनै मुलुकले अर्को मुलुकमाथि हस्तक्षेप गर्न नहुने भन्दै भारतसँगको सीमामा तारबारको जरुरी रहेको बताएकी हुन्।
‘कुनै मुलुकमाथि अर्को मुलुकले हस्तक्षेप गर्नुहुन्न। हाम्रो भूगोल रक्षाका लागि भारतसँग जोडिएको सिमानामा तारबार र पर्खाल लगाएर नियमन गरौँ’, उनले भनिन्, ‘आफ्नो भूगोल बचाउन यो काम गर्नैपर्छ। तारबार लगाएपछि सीमानामा निश्चित नाका बनाउनुपर्छ। ती नाकाबाट परिचयपत्र या अन्य कुनै आधिकारिक कागजपत्रबाट आवतजावत गर्न दिनुपर्छ।’
भुसालले हरेक हप्ता, महिना, वर्ग मिटरदेखि किलोमिटरका दरले भारतले नेपालको भूगोल मिचिरहहेको स्मरण गराइन्। ‘त्यो भारतीय जनताले गरेको होइन। किसानले गरेको होइन’, उनले भनिन्, ‘भारतीय सीमा सुरक्षा बलले हतियारका आडमा गरेको हो। अस्त्र शस्त्रका बलमा गरेको हो।’
नेपालको सीमा समस्या भारतसँग मात्रै रहेको बताउँदै उनले यस्तो खुला सीमा व्यवस्था संसारमा अन्त कहीँ नभएको जिकिर गरिन्। ‘संसार कहीँ पनि यस्तो देश छैन, जहाँ यस्तो खुल्ला सीमा व्यवस्था होस्’, उनले थपिन्, ‘भारतकै अन्य देशसँग पनि बन्द सिमाना छ। तर नेपालमा चाहिँ खुल्ला राखिँदा भारतले दैनिक मिचिरहेको छ।’
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले संसदलाई छलेर भए पनि मेक्सिको सँगको सीमानामा पर्खाल लगाउन अर्बौं खर्च गरिरहेका उदाहरण उनले दिइन्। ‘तर हाम्रो खुल्ला छ’, भुसालले भनिन्, ‘भारतको एक प्रतिशत मात्रै जनसंख्या नेपालमा आउने हो भने के हुन्छ? कहिले सोचेका छौँ।’
कञ्चनपुरमा २०१६ राजा महेन्द्र जाँदा रहेको सिमाना अहिले एक घण्टा पैदल वर आइसकेको उनले दाबी गरिन्। ‘त्यहाँ राजा महेन्द्र गएका एक घण्टा पर रहेको सिमाना अहिले भारतले मिचेर एक घण्टा वर आइसकेको हामीलाई स्थानीयले बताए’, भुसालले सुनाइन्, ‘भारतले मिच्दा नेपाल खुम्चिएको छ। सीमानामा सेना र सशस्त्र प्रहरी राखौँ । ठेक्का बरु अरूलाई लगाउँला।’
तपाईंको ईमेल गोप्य राखिनेछ ।