कला साहित्य

किन यति दुर्लभ छ आगो !
SHARES

पुस २२, २०७३

     

    हे अग्निदेव!

    हामी त जाडोले

    लुगलुग काँप्दै

    हिउँको सिरकभित्र

    न्यानो सपना देख्दै

    भर्भराउँदो आगो खोज्दै

    कति वनजङ्गल चहार्‍यौँ

    कति लेक-बेँसी गर्‍यौँ

    तर, भेटिएन है आगो त!

    कतै पाएन है न्यानो त!

     

    आगोको भोकले लखतरान हामी

    न्यानोको प्यासले आलसतालस हामी

    चट्टानहरूमा चढेनौँ कि!

    अक्करहरूमा पुगेनौँ कि!

    तारेभीरका कापहरूमा

    कक्करक्क कक्रेनौँ कि!

    गढी-टाकुराका खोँचहरूमा

    सिकारीझैँ आगो खोज्दै पसेनौँ कि! 

    रूखका जरा र टोड्काहरूमा

    पलपल चिहाएनौँ कि!

    अहँ,

    पाइएन है कतै आगो त!

    भेटिएन है कहीँ न्यानो त!

     

    हे अग्निदेव!

    यसरी हामीले

    आगोको खोजीमा

    कति युग बितायौँ

    कति कल्प कटायौँ

    कति सन्ततिहरूलाई शहीद बनायौँ

    तर, आगो त के

    आगोको आभाससमेत पाएनौँ!

     

    हे अग्निदेव!

    हामी त अझै गलेका छैनौँ है!

    न्यानोको सपना देख्न

    हामी त अझै थाकेका छैनौँ है!

    आगोको खोजी गर्न...! 

     

    तिमी त आफैँ आगोको गोला

    तिमी त आफैँ अग्निदेवता!

    हे अग्निदेव!

    सत्य बताउन सक्छौ

    कि यो पृथिवी लोकमा

    किन यति दुर्लभ छ आगो?

शशि लुमुम्बू

पूर्वी पहाडी जिल्ला भोजपुरको याकुमा जन्मिएका लुमुम्बूको वि.सं. २०६२ मा 'पहाड बूढो' नामक कविताकृति प्रकशित छ। उनका फुटकर रूपमा दर्जनौँ कविता, कथा, निबन्ध एवम् समीक्षा प्रकाशित छन्। लुमुम्बूले दर्जनौँ पत्रपत्रिका, स्मारिका तथा अन्य लेखकका कृतिको सम्पादन एका छन्। विभिन्न संघसंस्थाद्वारा सम्मानित एवम् पुरस्कृत लुमुम्बू हाल नेपाल प्रज्ञा-प्रतिष्ठानको प्राज्ञसभा सदस्य तथा सञ्चार संयोजक छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
मुक्तिश्री टावर
नयाँ बानेश्वर, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: news@thahakhabar.com
बिज्ञापनः ad@thahakhabar.com
फोन : ९७७-१- ४७८६५६२

थाहा मिडिया ग्रुप

थाहा गणितको शुत्र होइन । कुनै मन्त्र पनि होइन । थाहा त चेतनाको त्यो झिल्को हो जसले हाम्रो दृष्टिलाई फराकिलो बनाउंँछ, हाम्रो विचारलाई उघारो बनाउँछ, हाम्रो कामलाई ठिक बनाउँछ र हाम्रो जीवनलाई थप सहज बनाउँछ । थाहा एउटा प्रकृया हो ... [विस्तृत]