|

 

हे अग्निदेव!

हामी त जाडोले

लुगलुग काँप्दै

हिउँको सिरकभित्र

न्यानो सपना देख्दै

भर्भराउँदो आगो खोज्दै

कति वनजङ्गल चहार्‍यौँ

कति लेक-बेँसी गर्‍यौँ

तर, भेटिएन है आगो त!

कतै पाएन है न्यानो त!

 

आगोको भोकले लखतरान हामी

न्यानोको प्यासले आलसतालस हामी

चट्टानहरूमा चढेनौँ कि!

अक्करहरूमा पुगेनौँ कि!

तारेभीरका कापहरूमा

कक्करक्क कक्रेनौँ कि!

गढी-टाकुराका खोँचहरूमा

सिकारीझैँ आगो खोज्दै पसेनौँ कि! 

रूखका जरा र टोड्काहरूमा

पलपल चिहाएनौँ कि!

अहँ,

पाइएन है कतै आगो त!

भेटिएन है कहीँ न्यानो त!

 

हे अग्निदेव!

यसरी हामीले

आगोको खोजीमा

कति युग बितायौँ

कति कल्प कटायौँ

कति सन्ततिहरूलाई शहीद बनायौँ

तर, आगो त के

आगोको आभाससमेत पाएनौँ!

 

हे अग्निदेव!

हामी त अझै गलेका छैनौँ है!

न्यानोको सपना देख्न

हामी त अझै थाकेका छैनौँ है!

आगोको खोजी गर्न...! 

 

तिमी त आफैँ आगोको गोला

तिमी त आफैँ अग्निदेवता!

हे अग्निदेव!

सत्य बताउन सक्छौ

कि यो पृथिवी लोकमा

किन यति दुर्लभ छ आगो?

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.