कडा कानुनी व्यवस्थाको पक्षमा सांसदहरू

|
File Photo

काठमाडौं : सांसदहरूले नेपाली नागरिकसँग बिहे गरेर आउने विदेशीलाई ७ वर्षपछि मात्रै नेपाली नागरिकता दिने व्यवस्था गर्नुपर्ने बताएका छन्। संसदको राज्य व्यवस्था तथा सुशासन समितिका सदस्य सांसहरूले नागरिकता नदिउन्जेललाई अर्कै परिचयपत्र दिनुपर्ने उल्लेख गरेका हुन्। 

सांसद तीर्था गौतमले नेपालीसँग बिहे गरेर आउनेलाई तत्काल नागरिकता दिन नहुने अडा राख्दै बरु वैवाहिक परिचयपत्र विकल्प हुन सक्ने उल्लेख गरिन्। 

‘वैवाहिक परिचयपत्रको व्यवस्था गरेर जानु राम्रो हुन्छ। तर नागरिकताको प्रक्रिया बिहेको सात वर्षपछि मात्रै सुरु गर्नुपर्छ’, उनले भनिन्, ‘७ वर्षपछि मात्रै नागरिकता दिने व्यवस्था गरौँ, यसो भएमा अहिलेको समस्या पनि हट्छ।’

त्यसैगरी सांसद रेखा शर्माले बिहेको १० वर्षसम्म परिचयपत्र दिनु उचित हुनने बताइन्। ‘यो परिचयपत्रबाहकले राजनीतिक बाहेकका अधिकार प्रयोग गर्न पाओस्’, उनले भनिन्, ‘त्यसको १० वर्षपछि अंगीकृत नागरिकतका लागि निवेदन दिने व्यवस्था गरौँ।’

सांसद शर्माले कम्तीमा १० वर्षसम्म जनप्रतिनिधि चुन्ने, चुनिने र नियुक्तिको अधिकार दिन नहुने अडान राखिन्। सांसद शर्माले नेपालीसँग बिहे गरेर आउने पुरुषको हकमा योभन्दा कडा व्यवस्था गरिनुपर्ने बताइन्। 

‘विवाह गरेर आउने विदेशी पुरुषको हकमा त्योभन्दा कडा व्यवस्था गरौँ’, उनले भनिन्, ‘यसो भएमा मात्रै अंगीकृत नागकिताको समस्या पनि हटाउन सकिन्छ।’ तर नेपाली कांग्रेसका सांसद दिलेन्द्र बडूले बिहे गरेर आउने विदेशीलाई तत्काल नागरिकता नदिने कुरामा सहमत हुन नसकिने अडान राखे। 

‘अहिले सांसदहरूले ७ वर्ष भनिरहेका छन्। तर सरकारले ल्याएको विधेयकमा चाहिँ ६ महिनामै निवेदन दिने व्यवस्था छ’, उनले भने, ‘किन यस्तो गरियो? जवाफ चाहियो।’

अंगीकृत नागरिकता भनेको बिहे गरेर आउने पुरुषका लागि पनि भएको उल्लेख गर्दै बडूले त्यो व्यवस्था महिलालाई मात्रै ल्याइएको भन्दै सरकारसँग जवाफ मागे।

अर्की सांसद यशोदा सुवेदीले पनि नागरिकताबारे कडा व्यवस्था गर्नुपर्ने अडान राखिन्। ‘धेरै छलफल नगरी यो विधेयक टुंग्याऊँ, विवादित नबनाऊँ’, उनले भनिन्, ‘अन्तर्राष्ट्रिय मापदण्ड पनि हेरौँ, बिहे गरेर आउनेको जीवनयापन सहज हुनुपर्छ। तर राजनीतिक अधिकार सात वर्षपछि मात्रै दिने गरी व्यवस्था गरौँ।’

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.