|

काठमाडौं : विगतका सरकारले थुप्रो पारेर राखेका बेथितिको अन्त्य गर्न वर्तामान सरकारलाई सांसद रामनारायण बिडारीले आग्रह गरेका छन्।

राष्ट्रियसभाको बिहीबारको बैठकमा सांसद बिडारीले विगतका सरकारले कर्मचारी भर्ना गरेको तर तलब नदिएको र न्यून तलबमा शिक्षक राखेको भन्दै ती समस्या वर्तमान सरकारले समाधन गर्नुपर्ने माग राखेका हुन्। नेपाल आइएलओ (संयुक्त राष्ट्र संघको अन्तर्राष्ट्रिय श्रम संगठन)को सदस्य भएको अवस्थामा त्यसरी न्यून तलबमा कर्मचारी राख्नु लज्जापद भएको उनको भनाइ थियो।

सांसद बिडारीले भने, 'लामो समयदेखिका बेथिति अन्त्य गर्नुपर्ने भएको छ। २०५४ देखि साझा सहकारीका कर्मचारीले तलब पाएका छैनन्। शिक्षक अस्थायी बनाएर राखिएको छ। विभिन्न ठाउँमा करारका कर्मचारी भर्ना गरिएको छ। उनीहरू अहिले सडकमा नारा लगाउँदै हिँडेका छन्।'

सरकारले नै शिक्षकको तलब २ हजारदेखि ११ हजार ५०० रुपैयाँसम्म तोकेकोमा पनि सांसद बिडारीले आपत्ति जनाएका थिए। उनले 'पूर्वजनमुक्ति सेनाहरूलाई हेपेर राखिएको, क्रान्तिमा होमिएका बेपत्ता भएकाका परिवार र शहिदका परिवारलाई पनि होच्याएर राखिएको' बताए।

विगतका सरकारले बिगारेका काम वर्तमान सरकारले गर्नुपर्ने र जनतालाई सेवा सुविधा दिनुपर्ने सांसद बिडारीको भनाइ थियो। उनले सर्वसाधारण जनताले उपभोग गर्ने वस्तुको गुणस्तरमा सुद्धता नभएकोमा पनि सरकारको ध्यानाकर्षण गरेका थिए। सर्वसाधारणले उपभोग गर्ने पानी, दूध, फलफूलमा विषादी मिसिएको र बिरामी हुँदा खाने औषधि नक्कली भएको भन्दै सरकारलाई बजार अनुगमन गरेर त्यस्तो विकृती अन्त्य गर्न पनि उनले माग गरेका थिए।

हेर्नुहोस् भिडियोः

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.