|

बैतडी : कञ्चनपुरको बह्रमदेवदेखि दार्चुलाको खलंगा सम्मको महाकाली कोरिडर वातावरणीय प्रभाव मूल्यांकन प्रतिवेदन (इआइए) तयार भएको छ।

सडक विभाग अन्तर्गतको भौतिक सामाजिक तथा वातावरणीय शाखाले परामर्शदाता कम्पनी मार्फत वातावरणीय प्रभाव मूल्यांकन प्रतिवेदन तयार पारेको हो। 
डिपीआर सडक निर्माणका क्रममा हुने जंगलको क्षति, खेतीयोग्य जमीनको क्षति, घरपरिवार विस्थापित लगायत वातावरणीय प्रभावका कुराहरू आँकलन गरेको टीम लिडर रेशम बाँनियाले जानकारी दिए।

वातावरणीय प्रभाव मूल्यांकन प्रतिवेदन अनुसार महाकाली कोरीडर निर्माण गर्दा बैतडीमा करिब ६८ हेक्टर खेतीयोग्य जमीन नष्ट हुने भएको छ। कोरिडरले पञ्चेश्वर, शिवनाथ र दोगडाकेदार गाउँपालिका तथा दशरथचन्द नगरपालिकामा प्रभाव पार्ने जनाइएकोे छ। यस्तै ४ ओटै स्थानीय तहमा करीब ३५ हेक्टर जंगल नष्ट हुने बताइएको छ।

कोरिडर निर्माणका क्रममा शिवनाथमा २१, दशरथचन्द नगरपालिकामा २७ र दोगडाकेदार गाउँपालिकामा ५७ घरपरिवार विस्थापित हुने देखिएको छ। पञ्चेश्वर गाउँपालिकामा विस्थापित हुने परिवार संख्या संकलनको काम भइरहेको छ। कोरिडरले विस्थापित हुने घरपरिवारलाई क्षतिपूर्ति बापत १८ हजारदेखि ४० लाखसम्म मुआब्जा दिन सकिने जनाइएको छ। 

एघार मिटर अर्थात दुई लेन चौडाइ रहने सडक निर्माणको क्रममा झण्डै ५ हजार ठूला रुखहरू र ७ हजार बुट्यान कटान गर्नुपर्ने देखिएको छ। कोरिडरअन्तर्गत बैतडीमा ११४ किलोमिटर सडक निर्माण हुनेछ। कञ्चनपुरमा ११,डडेल्धुरामा ५९ र दार्चुलामा ४० किलोमिटर सडक निर्माण हुने बताइएको छ।

वातावरणीय प्रभाव मूल्यांकन प्रतिवेदन तयार भएसंगै कोरिडर निर्माण कार्यले तीव्रता पाउने जनाइएको छ। महाकाली करिडरअन्तर्गत कञ्चनपुरको ब्रह्मदेव–झुलाघाट-दार्चुलासम्मको दूरी २ सय ९१ किलोमिटर छ।
 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.