|

दमक : जिल्लाको प्रमुख व्यवसायीक केन्द्र मध्येको दमकमा ट्राफिक तथा सडक व्यवस्थापन अस्तव्यस्त भएपछि ट्राफिक प्रहरीले नियम उल्लंघन गर्ने सवारी साधनको चक्कामा चावी लगाउन (ह्विल लक) शुरु गरेको छ। 

ट्राफिक प्रहरीले बढी व्यवस्त हुने जेसिज चोक क्षेत्रमा पार्किङ निषेध गरिएका केही सवारी साधनमा त्यस प्रकारको चावी लगाएको हो। फलामको एक उपकरण नियम उल्लंघन गर्ने सवारी साधनको चक्कामा लगाइन्छ। जसलाई ट्राफिक प्रहरीले ह्विल लक भन्ने गरेको छ। यसरी लक गरिएका सवारी साधन ट्राफिक कार्यालयमा पुगि नियम अनुसार जरिवाना तिरे पछि मात्र धनीले पाउँछन्। 

ट्राफिक प्रहरी कार्यालय दमकका इञ्चार्ज यज्ञप्रसाद शर्माले भने,‘सडकमा घण्टौ सम्म सवारी साधन राखेर आफ्नो व्यवसाय चलाउने क्रमले सडकमा पुग्दा समेत सवारी धनी भेटिदैनन्। त्यस्ता सवारी साधनमा हामीले ह्विल लक लगायों। ती धनीहरूले कार्यालयमा पुगी नियम अनुसार जरिवाना तिरे पछि लक खोलिन्छ।’ 

पहिलो पटक भएकाले सन्देशको रुपमा केही सवारी साधनको ह्विल लक गरिएको र अझै अटेर गरिए यो क्रम बढाइने उनको भनाई छ। पहिलो दिन लक गरिएका सवारी साधनमा सर्वसाधारणका मोटरसाइकल, यात्रु बोक्ने अटोदेखि चिकित्सकका सवारी साधन समेत रहेका थिए।

अस्त-व्यस्त सडक

जनघनत्व र सवारी साधनको चापमा भएको बृद्धिसँगै दमकको ट्राफिक तथा सवारी व्यवस्थापन अस्तव्यस्त भएको छ। मुख्य पूर्वपश्चिम राजमार्गसँगै सहरी सडकहरूमा समेत जथाभावी हुने पार्किङ मुख्य चुनौती बनेको हो। 

पूर्वपश्चिम राजमार्गमा सवारी साधनले ‘स्टेण्ड’ तथा पार्किङ क्षेत्रबाहेक यात्रु चढाउन र ओराल्न पाईँदैन। तर अतिव्यस्त हुने दमकको मुख्य चोक क्षेत्रमा नै सवारी साधनहरूले यात्रु चढाउने र ओराल्ने समेत गर्ने गरेका छन्। यस्तै भित्री सडकहरूमा समेत पार्किङ तथा नो–पार्किङका साइनवोर्ड राखिए पनि त्यसको समेत प्रभावकारी कार्यान्वयन भएको पाईँदैन। 

नगरमा व्यवस्थित बसपार्क रहेपनि यात्रु चढाउन र ओराल्न यात्रुबाहक बस जथाभावी रोक्ने क्रमले दुर्घटना निम्त्याई रहेको छ। मुख्य राजमार्ग बाहेक बढी चाप हुने जेसिज चोक, थाना रोड, बेलडाँगी रोड र बजार क्षेत्रमा जथाभावी रुपमा सडकमै सवारी साधन रोक्ने गरिएको छ।

सवारी नियमको उल्लंघन गर्नु र जथाभावी पार्किङ गर्नु अटेरीपना भएको ट्राफिक प्रहरीको भनाई छ। ट्राफिक प्रहरी कार्यालय दमकका प्रमुख, प्रहरी नायव निरीक्षक यज्ञप्रसाद शर्माले भने,‘नो पार्किङको वोर्ड देखिदेखि सवारी साधन पार्किङ गर्नु त हेपाई हो नि, आखिर नियम मान्नु त ट्राफिक प्रहरीका लागि होइन आफ्नै लागि हो भन्ने कुरा सबैले नबुझे सम्म समस्या समाधान गाह्रो छ।’ 

दमकको सवारी व्यवस्थापन अस्तव्यस्त हुनुको कारण मध्ये सिटी सफारीको चाप, जहाँ पायो त्यहिँबाट घुमाउने, अटो रिक्साको गति, पार्किङक, सडक किनारामा निर्माण सामग्री राख्नु समेत रहेका छन्। यस्तै ठूला मालवाहक ट्रक भित्री सहरी क्षेत्रमा प्रवेश गर्दा समेत सडक अस्तव्यस्त हुने गरेको छ। 

यस्तै दमकमा रहेका कतिपय सहकारी, अस्पताल, बैंक, सरकारी कार्यालयहरूको समेत पार्किङ क्षेत्र छैन। जसका कारण ती कार्यालयहरूमा आउने सेवाग्राही सडक किनारामा नै सवारी साधन पार्किङ गर्न बाध्य हुने गरेका छन्।

व्यवस्थापनको प्रयास

उचित सवारी पार्किङ स्थलको अभावले समेत सडक किनारामा नै सवारी साधन रोक्न बाध्य हुनु परेको सवारी साधन धनी तथा मजदुरको गुनासो छ। तर कुरा पूर्णरुपमा सत्य नभएको नगरपालिकाको धारणा छ। 

दमक नगरपालिकाद्वारा गठित दमक यातायात तथा ट्राफिक व्यवस्थापन एवं शहरी क्षेत्र सुदृढीकरण समितिका अध्यक्ष प्रजापति सापकोटा स्थान अभावको विषय निहुँ मात्र भएको बताउँछन्। उनले भने,‘जति आवश्यकता परेको छ। पार्किङ स्थल त्यति हुन नसकेको चाहिँ हो। तर हुँदै नभएको होइन।’ 

लामो समयसम्म सवारी साधन राख्नु पर्ने भए बसपार्क क्षेत्र, पश्चिम स्टेण्ड लगायतका ठाउँ भएको र साना सवारी साधनको हकमा कतिपय सडकमा एकतर्फी पार्किङको समेत व्यवस्था गरिएको उनले बताए। थप स्थानहरू पहिचान गरी पार्किङ स्थलको रुपमा विकास गर्ने प्रयास भइरहेको उनले जनाए।

नीतिगत प्रयास

दमकको ट्राफिक, सवारी तथा सहरी व्यवस्थापनका लागि नगरपालिको नीतिगत तथा संस्थागत प्रयास पनि शुरु गरेको छ। नगरपालिकाले नगरको यातायात तथा ट्राफिक व्यवस्थापन गर्दै शहरी सुदृढीकरणका लागि छुट्टै कार्यविधि बनाएर लागू समेत गरेकाले सहरी व्यवस्थापन तथा ट्राफिक व्यवस्थापनको काम भइरहेको वडा २ का वडाध्यक्ष समेत रहेको अध्यक्ष सापकोटाले बताए। 

सापकोटा अध्यक्ष रहेको ३७ सदस्यीय दमक यातायात तथा ट्राफिक व्यवस्थापन एवं शहरी क्षेत्र सुदृढीकरण समिति गठन गरी नगरपालिकाले यातायात, ट्राफिकसँगै सहरी व्यवस्थापनको काम थालेको हो। समितिले ट्राफिक प्रहरी र जनपद प्रहरीको सहयोगमा सो कार्यविधि कार्यान्वयन गर्ने गराउने अध्यक्ष सापकोटाले बताएका छन्।

के छ कार्यविधिमा?

नगरपालिकाले बनाएको कार्यविधिमा नगरपालिकाको बजार क्षेत्र र लोकमार्गमा प्रतिघण्टा ४० किमीभन्दा बढी गतिमा सवारी चलाउन रोक लगाइएको छ। त्यस्तै समितिले सडकको व्यस्तता र सवारी चापसमेत हेरेर नगरका अन्य सडकमा समेत गाडीको गति सीमा तोक्न सक्ने व्यवस्था गरिएको छ। त्यस्तै कार्यविधिमा सडकमा गति नियन्त्रणका लागि भन्दै ‘रोड ब्रेकर’ राख्न रोक लगाइएको छ।

यसअघि निर्माण भएका रोड ब्रेकर हटाउन पनि सम्बन्धित उपभोक्तालाई समितिले आदेश दिने उल्लेख छ। त्यस्ता रोड ब्रेकरका कारण सडकमा दुर्घटनाको जोखिम झनै बढेको ट्राफिक प्रहरीको निष्कर्ष रहेकाले हटाउने व्यवस्था गरिएको हो।

नगरपालिकाले तोकेका यातायात तथा ट्राफिक व्यवस्थापनसम्बन्धी नियम उल्लंघन गर्ने सवारीलाई सो समितिले जरिवानासमेत गर्ने व्यवस्था कार्यविधिमा गरिएको छ।

सवारी साधन दुर्घटना भएमा दुर्घटनामा गल्ती गरेको सवारी पहिचान गरी कारवाही गरिने, नगरपालिका क्षेत्रभित्र मापसे गरी सवारी चलाएमा प्रहरीले नियन्त्रणमा लिई त्यस्ता चालकमाथि हदैसम्मको कानुनी कारवाही र जरिवानासमेत समितिले गर्ने जनाइएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.