निर्माण कम्पनी र सडक कार्यालयबीच आरोप प्रत्यारोप

|

बैतडी : दुई वर्षमा निर्माण समन्न गरीसक्ने गरी सम्झौता भएको बैतडीको पाटन नगरपालिकाको सकार तथा कैलपाल जोड्ने मोटरेबल पुल पाँच वर्षमा पनि निर्माण हुन सकेको छैन।

विस २०७१ सालमा पुल निर्माणका लागि एडभेन्चर कन्सट्रक्सन कम्पनीले जिम्मा पाएको थियो। सुर्नया नदीमाथि ५० मिटरको पुल निर्माण २ वर्षमा सक्ने गरेर कम्पनीले सम्झौता गरेको भए पनि अहिलेसम्म ३० प्रतिशत मात्रै काम भएको डिभिजन सडक कार्यालय पाटन बैतडीले जनाएको छ।

ठेकेदार कम्पनीको लापरवाहीका कारण समयमै पुल निर्माणको काम नभएको डिभिजन सडक कार्यालयका प्रमुख शंकर खनालले बताए। तर निर्माण कम्पनीले भने कार्यालयकै कमजोरीले पुल समयमा सम्पन्न हुन नसकेको दाबी गरेको छ।

पुल निर्माणस्थल सम्म पुग्ने बाटोको समयमा मुआब्जा नदिँदा हामीले २८ महिनासम्म काम गर्न नपाएको, त्यसपछि काम गरेको भुक्तानी पनि समयमा नपाएका कारणले पुल निर्माण हुन नसकेको निर्माण कम्पनीका प्रतिनिधि मदनमोहन बिष्टले बताए। 

२ करोड ९० लाखमा निर्माण सक्ने गरेर सम्झौता गरेको कम्पनीले समयमा काम नसकेपछि खरीद ऐनको आठौं संशोधन अनुसार आगामी माघ महिनाभित्र कम्पनीलाई पुल निर्माण कार्य सम्पन्न गर्न भनेको डिभिजन प्रमुख खनालको भनाई छ।

प्रमुख खनालले भने, 'समयमा पुल निर्माण नसक्ने कम्पनीलाई किन कालोसूचीमा नराख्ने भनेर सूचना समेत प्रकाशित गरेको थियो। तर खरिद ऐनको आठौं संशोधनले एकपटकका लागि कम्पनीले काम गर्न चाहे काम गर्न दिने प्रावधान छ। सोही अनुसार हर्जनासहित म्याद थपेको हो।' 

गाडी चढ्ने सपना अधुरै

पाटन नगरपालिकाको दुर्गम क्षेत्र भनेर चिनिले १ सकार र वडा नं ७ कैलपालका स्थानीय गाडी चढ्ने सपना अधुरै रहेको छ। पाँच वर्ष अगाडि सकार र कैलपाल जोड्नको लागी सुर्नयानदीमा निर्माण सुरु गरिदा उक्त क्षेत्रका नागरिक निकै हर्षित भएका थिए। छिट्टै घरवाटै गाडीको यात्रा गर्न पाइन्छ भनेर। तर त्यसको ठिक विपरित भएको छ। सुर्नया नदी पुल नहुँदा उक्त क्षेत्रका नागरिकको स्थानीय सरकारसँगको सम्पर्क पनि बिच्छेदजस्तै बनाएको छ।

नगरपालिकाको केन्द्र रहेको पाटन बजार पुग्न पनि घण्टौं हिडेर पुग्नुपर्ने बाध्यता रहेको वडा १ का वडा अध्यक्ष गणेशदत्त भट्टराईको भनाई रहेको छ। उनले भने, 'सकार जोड्ने सुर्नया नदीको मोटरेबल समयमा सम्पन्न नहुँदा पाटन नगरपालिका १ र ७ का स्थानीयको गाडीमा चढ्ने सपना पनि अधुरो रहेको छ।' 

सडक सञ्जाल पुगे पनि सुर्नया नदीमा पुल नहुँदा उक्त क्षेत्रमा यातायात सञ्चालनमा आउन सकेका छैनन्।  पुल निर्माण नभएकै कारण त्यहाँका नागरिकले सास्ती भोग्दै आएका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.