|

दमक : अल्ट्रा म्याराथनको अन्तर्राष्ट्रिय धाविका मिरा राईलाई झापामा २८ लाख रुपैयाँ सहित सम्मान गरिएको छ। अल्ट्रा म्याराथन खेल क्षेत्रमा अन्तर्राष्ट्रिय स्तरमा नै देशको नाम राख्न सफल भएकाले उनलाई सम्मान गरिएको हो।

सगरमाथा तेक्वान्दो डोजाङको सहकार्यमा बेलायतमा कार्यरत आधा दर्जन संघसंस्थाले संकलन गरेको २८ लाख रुपैयाँ बिहीबार दमकमा एक कार्यक्रमको आयोजना गरी सम्मान गरिएको हो। मिरालाई बेलायतमा रहेको किराँत राई यायोख्खा, जेन मार्शल आर्ट एकेडेमी, भोजपुर समाज र नेपाल युथ अर्गनाइजेसनले एकैसाथ सम्मान गरेका हुन्।

कार्यक्रममा सगरमाथा तेक्वान्दो डोजाङ संस्थापक राष्ट्रकुमार राईले मिराले अल्ट्रा म्याराथनमा अन्तर्राष्ट्रिय स्तरमा नै नेपालीलाई चिनाउन गरेको महत्वपूर्ण योगदानलाई सम्मान गरिएको बताए।

बिहीबार नै मिरालाई अल्ट्राम्याराथन खेलमा लाग्नका लागि प्रोत्साहन दिने उनका गूरु ध्रुवविक्रम मल्ललाई समेत सम्मान गरिएको छ। उनलाई दुई लाख रुपैयाँ नगद सहित सम्मान गरिएको हो। कार्यक्रममा राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव केशवकुमार विष्टले देशलाई विश्वसामु चिनाउन खेलाडीको मुख्य भूमिका हुने बताए।

को हुन् मिरा ?

भोजपुरको सानो दुंगला वडा नं ९ मा जन्मिएकी मिरा पूर्व जनमुक्ति सेना हुन्। उनी सेना समायोजनका क्रममा उमेर नपुगेका कारण अयोग्य ठहरिएपछि खेल क्षेत्रमा लागेकी हुन्। जनमुक्ति सेनाको क्याम्पमा रहँदा पिएलए स्पोर्टस् क्लवदेखि नै उनले खेल सुरु गरेकी थिइन्।

खेलमा पहिलो पटक सहभागी हुँदा नै पहिलो बन्न सफल भएकी मिराका लागि दर्जनौं अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा पहिलो, दोस्रो र तेस्रो स्थान हात पारिसकेकी छन्।

भोजपुरमा जन्मिएकी मीरा १४ वर्षको उमेरमा कक्षा ७ मा पढ्दै गर्दा तत्कालिन समयमा माओवादी प्रवेश गरेकी थिइन्। सम्मान कार्यक्रममा उनले  विश्वको जुनसुकै कुनामा गएर पनि नेपालको झण्डा फहराउन पाउँदा खुशी लगेको बताइन्। ‘ खेलको माध्यमबाट नेपाललाई विश्व सामु चिनाउन पाउँदा खुशी छु, अझै धेरै प्रतिस्पर्धाहरु जितेर नेपालको नाम राख्नेछु।’

अल्ट्रा म्याराथनमा पहाड र हिमालमा दौडनुपर्ने भएकाले अरु दौड भन्दा कठीन भएको उनको भनाइ छ। ‘डाँडा काँडामा दौडनु धेरै गाह्रो छ तर म सानैदेखि पहाडमा घाँस, दाउरा गरेकाले त्यस्तो धेरै गाह्रो हुदैन।’ उनले आफू एक दिन अल्ट्रा म्याराथनकी अन्तर्राष्ट्रिय धाविका बन्छु भनेर नसोचेको समेत बताउँछिन्। भन्छिन्,‘ गाउँमा घाँस दाउरा गर्ने म यत्रो विश्व विजेता हुन्छु भन्ने पनि सोचेको थिइन, यो सबै ध्रुव गुरुको देन हो।’

मलेसिया जान छाडेर खेलमा 

सेना समायोजनमा अयोग्य ठहरिएपछि रोजगारीका लागि मलेसिया जान लागेकी मिरालाई ध्रुवबिक्रम मल्लले खेलकुदमा उनको सम्भावना देखेर बैदेशिक रोजगारीमा जानबाट रोकेको उनले बताईन्। उनले भनिन्,‘खेल क्षेत्रमा लाग्ने कुनै पैसा नभएकाले रोजगारीमा मलेसिया जान लागेको थिएँ, ध्रुब गुरुले मलाई एक बर्षसम्म आफ्नै घरमा खाना बस्न दिएर सिकाउछु भन्नुभयो र खेल क्षेत्रमा लाग्न प्रेरणा दिनुभयो।’

उनका गुरु ध्रुवविक्रमका अनुसार उनी कराँतेकी खेलाडी थिइन्। उनले कराँतेमा ब्ल्याक बेल्ट प्राप्त गरेकी छिन्। उनका गुरु ध्रुब भन्छन्,‘ उसलाई मैले नै कराँते सिकाएको हुँ, जति अभ्यास गर्दा पनि नगल्ने भएकाले मैले नै दौडमा लाग्न सुझाव दिएको हुँ।’

उनलाई मिराले खेल क्षेत्रमा एक वर्षमा केही नतिजा ल्याउने आशा लागेर आफ्नै घरमा राखेर खेलमा लाग्न प्रेरित गरेको बताउँछन्। आफ्नी चेलीले विश्वमा रेकर्ड राख्न सफल भएकोमा उनी खुशी ब्यक्त गर्छन्। भन्छन्,‘मिराको प्रगतिमा म सधै साथ दिन तयार छु, उसले अझै गर्नु छ, नेपाललाई विश्वसामु चिनाउने दायित्व उसको काँधमा छ।’

उनलाई बेलायती नागरिक रिर्चाड गुल्डले समेत खेल क्षेत्रमा लाग्न सहयोग गरेका थिए। सन् २०१४ को सेप्टेम्बरमा इटालीमा भएको प्रतियोगिता उनको जीवनको पहिलो अन्तर्राष्ट्रिय स्तरमा भाग लिने अवसर प्राप्त गरेकी थिइन्। जहाँ उनले विश्व बिजेता हुँदै रेकर्ड नै तोडिन्। यस्तै मिराले फ्रान्समा भएको ८२ किलोमिटरको म्याराथनको उपाधि समेत हात परिसकेकी छिन्। उनले हङकङ, फ्रान्स, बेलायत लगायत देशमा समेत प्रथम, द्धितीय लगायतका स्थान हात पार्न सफल भएकी छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.