|
रंगुन नदीमा निमार्णधीन पुल

डडेल्धुरा : परशुराम नगरपालिकामा पर्ने रंगुन नदीमा पाँच वर्षअघि पुल निर्माणको ठेक्का सम्झौता हुँदा यहाँका स्थानीय निकै खुसी थिए। नदीले दिएको दुःख पुल बनेपछि हट्ने आशा उनीहरुमा थियो। तर, अहिलेसम्म पुल नबन्दा उनीहरुको खुसी निराशमा परिणत भएको छ।

रंगुन नदीको पुल तीन वर्षमा निर्माण सम्पन्न गरिसक्ने गरी २०७१ असार १८ मा निर्माणको ठेक्का सम्झौता भएको थियो। सम्झौताअनुसार २०७४ असार १७ मा निर्माण सम्पन्न गरिसक्नुपर्ने उल्लेख छ। तर, पाँच वर्ष पूरा भइसक्दा पनि निर्माण सम्पन्न भएको छैन। पुल नबन्दा यहाँका सर्वसाधरण ज्यान जोखिममा राखेर नदी पार गर्दै आइरहेका छन्।

सडक डिभिजन कार्यालय कुलपातेअन्तर्गत रंगुन नदीमा पुल निर्माणको ठेक्का पप्पु–राजेन्द्र–कुमार जेभी कम्पनीले लिएका छ। पुल निर्माण गर्ने सम्झौताको म्याद गुज्रिँदासमेत पुलको निर्माण सम्पन्न नभएपछि स्थानीय आक्रोशित भएका छन्। मोटरेवल ब्रिज प्रविधिबाट निर्माण भइरहेको पुलको २५५ मिटर लम्बाई छ। सुरुको बजेट लागत १२ करोड २८ लाख ८१ हजार २३१ रुपैयाँ ५१ पैसा रहेको थियो।

पटक–पटक सम्झौता थप्दै गरेको भए पनि थपेको समय समेत सकिएको र पुल निर्माण सम्पन्न हुन सकेको छैन। यो अवधिमा २५ प्रतिशतभन्दा बढी काम गर्न बाँकी रहेको सडक डिभिजन कार्यालय कुलपाते डोटीका सबइन्जिनियर मानबहादुर बिष्टले जानकारी दिए। 

अलपत्र पुल निर्माण

भागेश्वर गाउँपालिका–४ डुङ्गरीदेखि अजयमेरु गाउँपालिकाको देवल दिव्यपुर जोड्ने सडक खण्डको सेरागाडमा पुल निर्माण पनि अलपत्र छ। 

डिभिजन सडक कार्यालय कुलपाते, दिपायलले पुल निर्माणका लागि २०७२ भदौ २४ मा बिकोई बिल्र्डससँग ठेक्का सम्झौता गरेको थियो। भ्याटसहित कुल पाँच करोड एक लाख रुपैयाँमा ठेक्का सम्झौता गरेको निर्माण कम्पनीलाई पुल निर्माण कार्य सम्पन्न गर्न दुई वर्षको समयावधि तोकिएको थियो।

२०७४ साल भदौ २४ मा ठेक्का अवधि सकिएपछि पुनः म्याद थप गरिएको थियो। जसअनुसार २०७५ भदौ ९ मा काम सक्नुपर्ने सम्झौता भएको डिभिजन सडक कार्यालय कुलपाते डोटीका सबइन्जिनियर विष्टले बताए। 

दोस्रोपटक थप गरिएको एक वर्ष सकिन लागे पनि पुल निमार्ण हुन सकेको छैन। वर्षाको समयमा जोखिम मोलेर पुल निर्माणको काम गरिएकाले बाढीले निर्माणाधीन पुल भत्किएकाले केही समय लागेको र अब अन्तिम चरणमा पुगेको निर्माण कम्पनी सञ्चालक होमनाथ कोइरालाले जनाएको छ। ४० मिटर लम्बाई र ११ मिटर चौडा त्यो पुल समयमै निर्माण हुन नसक्दा स्थानीयले सास्ती खेप्नु परिरहेको छ। 

यस्तै, अमरगढी नगरपालिका र नवदुर्गा गाउँपालिका जोड्ने रडुवा खोलामा निर्माणाधीन अवस्थामा रहेको रडुवा खोलामा पक्की पुल निर्माण कार्य अलपत्र अवस्थामा रहेको छ।

२०७३ सालमा निर्माण सम्पन्न गर्ने गरी जागृती निर्माण सेवा बझाङले २०७१ सालमा जिम्मेवारी पाएको थियो। तर, सम्झौता भएको पाँच वर्ष हुँदासम्म पुल निर्माणको करिब ५५ प्रतिशत मात्र काम सम्पन्न भएको छ।  ४ करोड ८३ हजार लागतमा निमार्णधिन सडकको २ पटक म्याद थपेको म्याद २०७५ माघ १० मा सकिएको हो। नयाँ निमार्ण खरिद ऐन अनुसार फेरी एक वर्ष म्याद थपिएको सडक डिभिजन कार्यालय कुलपाते डोटीका सव–इन्जिनियर मानबहादुर बिष्टले बताए।

डडेल्धुराकै सकायल खोलामा निर्माण भइरहेको डाडावन पक्की पुल पनि निर्धारित समयावधि सकिएको दुई वर्ष बितिसक्दा निर्माण कार्य करिब ४० प्रतिशत मात्रै सम्पन्न भएको छ। दुई वर्षको अवधिमा निर्माण सम्पन्न गर्ने गरी राजेन्द्र चाँदनी जेभी डडेल्धुराले २०७२ सालमा २ करोड ५० लाखमा सम्झौता गरेको थियो। 

गन्यपाधुरा गाउँपालिका र नवदुर्गा गाउँपालिकालाई जोड्ने गरी निर्माण भइरहेको डाडावन पुलको दुबैतर्फ पिल्लर मात्रै निर्माण भएका छन्। 

यस्तै, भागेश्वर गाउँपालिका–३ पर्छेटाको पछौडा पुल पनि अलपत्र अवस्थामा छ। २०७१ सालमा २०७४ मंसिरमा सम्पन्न गर्ने गरी २ करोड लाख २५ लाखमा राजेन्द्र चाँदनी आशिष जेभी निमार्ण कम्पनीसँग सम्झैता भएको थियो। सम्झैता अवधि सकिएको २ वर्षसम्म करिब ४०  प्रतिशत मात्र काम भएको सडक डिभीजन कार्यालय कुलपाते डोटीका सबइन्जिनियर विष्टले बताए। 

ती पुलको निर्माण गर्ने जिम्मेवारी पाएको निर्माण व्यवसायीलाई पटकपटक पत्राचार गरेको भएपनि अटेर गरी काममा ढिलाई गरेको डिभिजन सडक कार्यालय कुलपाते डोटीका सब–इन्जिनियर विष्टको भनाइ छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.