चितवन : प्रदेश ३ का उद्योग पर्यटन वन तथा वातावरणमन्त्री अरुण नेपालले समृद्धिका लागि वनको सदुपयोग गर्नुपर्ने बताएका छन्। चितवनमा जिप लाइनको उद्घाटन गर्दै मन्त्री नेपालले हरियो वनलाई समृद्धिका लागि भरतपुर प्रयोग गर्नुपर्ने बताएका हुन्।
मन्त्री नेपालले विगतबाट संरक्षण गरिएको हरियो वनलाई अब समृद्धिसँग जोडेर आर्थिक उपार्जन गर्नुपर्नेमा जोड दिए। उनले वनबाट अक्सिजन मात्रै नभइ जीवनस्तर उकास्न नयाँ तरिकाले अघि बढ्नुपर्ने उनको भनाइ छ।
उनले आवश्यकता र प्राथमिकताका आधारमा बनलाई उपयोग गरी स्थानीयको आयआर्जन बढाउनुपर्नेमा जोड दिए। यद्यपि वनलाई प्रयोग गर्दा यसको संरक्षणमा भने पर्याप्त ध्यान पुर्याउनुपर्ने उनले बताए। ‘हरियो वन नेपालको धन भन्ने नारालाई अब समृद्धिसँग जोड्नुपर्छ, स्थानीयको जीवन परिवर्तन गर्नेगरी सबै गम्भीर भएर अघि बढौँ' उनले भने 'हिजो संरक्षण गरीयो अब फाइदा लिनुपर्छ।'
अब राजनीतिक आन्दोलन सकिएकाले आर्थिक समृद्धिमा जोड दिनुपर्ने मन्त्री नेपालको भनाइ छ। तत्कालीन समय र परिस्थितिअनुसार उत्कृष्ट संविधान जारी भएकाले अब सबै मिलेर विकास, समृद्धिमा जुट्नुपर्ने बताए। संघीयताले घरघरलाई आफ्नो क्षेत्रको विकास आफैँ गर्ने अवसर दिएकाले सबै लाग्नुपर्ने बताए।
वनलाई सदुपयोग गर्दै छिमेकि राष्ट्र भुटान विगत एक दशकमा निक्कै अघि बढेको उदाहरण दिँदै उनले नेपालले पनि यसबाट सिक्नुपर्ने बताए। वनमा जिपलाइन, ट्रि क्लाम्विङलगायतका विभिन्न आम्दानी बढाउने गतिविधि गर्नुपर्ने मन्त्री नेपालको भनाइ छ।
उनले समृद्धिका लागि अब सबै नेपालीमा आत्मविश्वास बढाउनुपर्ने बताए। हामी गर्न सक्छौँ, हामी गछौँ भनेर लाग्न सबैलाई उनले आग्रहसमेत गरे। उनले जुनसुकै क्षेत्रमा, जहाँबाट सुरु गरे पनि प्रदेश सरकारले समृद्धिका गतिविधिलाई पूर्ण साथ र सहयोग गर्दै सफल बनाउने प्रतिबद्धता पनि जनाए। उनले जल, जंगलले अब स्थानीयको जीवन परिवर्तन गर्नुपर्नेमा जोड दिए।
तपाईंको ईमेल गोप्य राखिनेछ ।