|

काठमाडौं : २०४६ को जनआन्दोलनका कमाण्डर स्वर्गगीय गणेशमान सिंहको २२औँ स्मृति दिवसको अवसरमा बिहीबार बिहान गणेशमान सिंह फाउण्डेशनको आयोजनामा शोभाभगवतीमा  माल्यार्पण गरिएको छ।

कार्यक्रममा नेपाली काङ्ग्रेसका नेता प्रकाशमान सिंहले नेपालको प्रजातान्त्रिक आन्दोलनमा सिंहको महत्वपूर्ण भूमिका रहेको उल्लेख गरे। 'स्वर्गीय सिंह संघर्षशील, त्यागी, लौहपुरुष हुनुहुन्थ्यो', उनले भने, 'उहाँ प्रजातान्त्रिक आन्दोलनलाई सहज ढङ्गले नेतृत्व गर्न सक्ने नेता हुनुहुन्थ्यो।'

पूर्वउपप्रधानमन्त्री सिंहले मुलुकमा विवादित अवस्थामा रहेका कम्युनिष्टलाई एक ठाउँमा ल्याउन सिंहको महत्वपूर्ण भूमिका रहेको बताए। 'एकदलीय शासन व्यवस्थामा विश्वास गर्ने कम्युनिष्टलाई बहुदलीय प्रजातन्त्रमा ल्याउन सिंहको महत्वपूर्ण योगदान थियो', उनले भने, 'उहाँको योगदानलाई स्मरण गर्नसमेत अपिल गर्दछु।'

दुईतिहाइको सरकारले जनताको भावना र मर्मअनुसार काम गर्न नसकेको आरोप पनि उनले लगाए। 'वर्तमान सरकारले जनताको चाहना पूरा गर्न सकेन', उनले भने, 'जनताको मतको कदर यो सरकारले गर्न सकेन।'

पार्टीका पूर्वमहामन्त्री सिंहले नेपाली काङ्ग्रेस पनि संस्थागतरूपमा चल्न नसकेको बताए । 'कांग्रेस पनि संस्थागतरुपमा चल्न सकेन', उनले भने, 'सरकार र कांग्रेस दुवैको अवस्था उस्तै देखिन्छ।'

कार्यक्रममा काङ्ग्रेस केन्द्रीय सदस्य नवीन्द्रराज जोशीसहित नेपाली कांग्रेसका नेता-कार्यकर्ताले सिंहको सालिकमा माल्यार्पण गरेका थिए ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.