म्याग्दी : अधिकांश मानिस बुढ्यौलीलाई अभिशाप ठान्छन्। ६०/७० वर्ष पार गरेपछि के नै गर्न सकिन्छ र भनेर आफैँ निराश हुने गर्छन् र कुनै पनि काममा सक्रिय भएर लाग्न चाहँदैनन्। तर म्याग्दीका एक १०६ वर्षीय वृद्धले बुढ्यौलीलाई पनि जितेर सक्रिय जीवन बिताइरहेका छन्।
शताब्दी लामो उमेर पार गरेका अन्नपूर्ण गाउँपालिका ५ नारच्याङका चन्द्रे फगामी फुर्तिला छन्। विसं १९७० फागुन २८ गते जन्मिएका फगामीको यसवर्ष १०६ वर्ष पूरा हुन्छ। देख्दा हँसिलो, शौचालय जान,घर आसपासका काममा समेत अगाडि सर्ने फगामी प्रष्ट बोल्छन् तर कान कमै सुन्छन्।
१ सय वर्षको उमेरमा पनि पशुचौपाया रेखदेख, तरकारी खेतीसँगै घरायसी काममा ब्यस्त हुने गरेका फगामीको सक्रियता देखेर गाउँले समेत दंग पर्छन्। धेरैले उनलाई भगवानको उमेर, बूढो ‘ठिटो’ को नाम समेत दिन्छन्। सम्भवत् म्याग्दीकै सबैभन्दा बयोवृद्ध फगामीलाई भेट्न आउनेले कानमै आवाज पुग्ने गरी राखेको जिज्ञासालाई खुलेरै जवाफ दिन्छन्।
‘हामीले जस्तै काम गर्नुहुन्छ,‘अहिलेसम्म बिरामी भएर औषधि खुवाएको याद छैन’ छोरी दिलिसा पूर्जाले भनिन्। उनले बुबाको लामो आयुका बारेमा धेरैले चासो देखाउने गरेको बताइन्। दिलिसा, अभिसा बुदुजा र हस्तिकला बुदुजा बयोवृद्ध फागमीका तीन छोरी हुन्। विवाह गरी गए पनि बुबाको रेखदेख तथा समय समयमा आउने गरेका छोरीहरूसँगै शताब्दी पार गरेपछि पनि गाउँघरमा आवत-जावत गर्ने, आफन्तसँग दिनभरि कुरा गरेर बस्ने गरेको छोरीहरूको भनाइ छ।
हिमालय आँखा अस्पतालमा शल्यक्रिया गरेपछि घरायसी काम गर्ने गरेका फगामीलाई गाउँलेले देउताको उमेर भन्दै दर्शन गर्ने गरेका छन्। वडा अध्यक्ष चन्द्रप्रसाद फगामीले गाउँमा ६० वर्ष पार गरेका बुढाबुढीले ओछ्यानमा ढल्किरहने, खानपिनमा आनकानी गर्ने, नियमित औषधि उपचार, प्रेसर, ग्याष्ट्रिक, सुगरलगायत रोगको आक्रमणबाट आजित भएका बुढापाकाको अगाडि बयोवृद्ध फगामीले अपबाद भएको बताए।
‘उहाँको खानपिन र काम गर्ने तरिका नै धेरै बाच्ने आधार हुन्‘, वडा अध्यक्ष फगामीले भने, 'धेरै बाच्न चाहनेहरूले उहाँको दैनिकीबाट सिक्नुपर्छ।’ उनकाअनुसार आनीबानीका कारण उहाँ युवाजस्तै फूतिलो भएको बताए। युवा अवस्थामा फगामीले गाउँमा सामाजिक तथा धेरै गतिविधिमा सक्रियता देखाउने गरेको स्थानीयको भनाई छ।
अन्नपूर्ण बेसक्याम्प तथा गाउँको माथिल्लो लेकमा जडिबुटी खाने गरेकाले पनि फूर्तिलो देखिएको बताउने गरेको उनको भनाई छ। गाउँका सामाजिक कार्यमा समेत उत्तिकै सक्रिय हुने गरेका चन्द्रले १ सय वर्ष पार गरेपछि घरायसी काममा मात्रै ब्यस्त हुने गरेको वडा अध्यक्ष फगामीको भनाई छ। गाउँपालिकाभित्रका सबैभन्दा ज्येष्ठ नागरिकलाई सम्मान सहित घरायसी समस्यालाई समाधान गर्ने वडामार्फत पहल समेत गरिएको छ।
यता वडा अध्यक्ष डमबहादुर पुनले वृद्धवृद्धाको सम्मानमा कुनै पनि कमी हुन नदिने बताए। उनले गाउँपालिकाभित्र रहेका वृद्धवृद्धालाई सम्मान सहित स्वास्थ्य लगायतका आधारभूत आवश्यकतालाई पूरा गर्ने बताए।
१०६ वर्षमा बल्ल बैंक खाता
फगामीले घरआगनमै बैंकको खाता खोले। गाउँपालिकाको केन्द्र पोखरेबगरमा रहेको गरिमा विकास बैंकको शाखाले घरदैलोमै पुगेर खाता खोलिदिएपछि उनी मख्ख छन्।
आफन्तको सहयोगमा वडा कार्यालयबाट सामाजिक सुरक्षा भत्ता ल्याउने गरेका फगामीले आफ्नै खातामा जम्मा भएको भत्तालाई बैंकका कर्मचारीले घरमै आएर वितरण गर्ने प्रतिबद्धता जनाएपछि उत्साहित भएको शाखा प्रबन्धक श्याम थापाले बताए।
‘उहाँलाई खातासँगै बैकको सेवाका बारेमा पनि जानकारी गराए,‘उहाँलाई हरेकपटक आगनमै आएर भत्ता दिन्छौ’ थापाले भने। उनका अनुसार घरायसी समस्याले आवत-जावत गर्न मुस्किल भइरहेको अवस्थामा खाता खोलेर घरआगनमै सामाजिक सुरक्षाभत्ता पाइने भएपछि ८६ वर्षीय केशमति तिलिजा, ८२ वर्षीय कुलबहादुर फगामी र वृद्धा मतिमा बुदुजालाई समेत खाता खोलेको बताए।
खाता सञ्चालन तथा वडास्तरमा वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गरेपछि गाउँका वृद्धवृद्धा, एकल महिला, अपांगता तथा दलितलाई सहज भएको छ। घरमा एक्लै भएकालाई यो अभियानले बरदान सावित भएको बताउँदै गाउँपालिका भित्रका सबै वडामा अभियान सञ्चालन गर्ने बताए।
नारच्याङमा सुरु गरिएको अभियानमा ८० पार गरेका वृद्धवृद्धालाई धेरै सहज भएको बताए। बैैंकिङ प्रणालीमार्फत रकम वितरण गर्दा सुरक्षित र पारदर्शी हुने भएकाले पनि वृद्धवृद्धाहरू खाता खेल्न सक्रिय भएका छन्।
तपाईंको ईमेल गोप्य राखिनेछ ।