|

  • धर्मेन्द्र दाहाल-

हेटौंडा :डिफेन्डिङ च्याम्पियन मनाङ मर्स्याङ्दीसँग गत वर्ष फाइनलमा भोगेको हारको बदला लिँदै त्रिभुवन आर्मी क्लबले दोश्रो हेटौंडा अन्तर्राष्ट्रिय गोल्ड कपको उपाधि हात पारेको छ।  

हेटौंडाको फरेष्टी खेल मैदानमा शनिबार भएको फाइनल खेलमा मनाङ मर्स्याङ्दीलाई २–० ले पराजित गर्दै आर्मीले उपाधि जितेको हो। उपाधिसँगै आर्मीले नगद ५ लाख सहित शिल्ड हात पारेको छ। उपविजेता मनाङले ३ लाख रुपैयाँ पाएको छ।

रोमाञ्चक प्रतिस्पर्धामा नेपाल आर्मीले १८ औं मिनेटमा भरत खवासको गोलमा अग्रता लियो। खवासले गोल गरेको १ मिनेट पश्चात मनाङ मर्स्याङ्दीका खेलाडी अफिज ओलावाले रातो कार्ड पाएर बाहिरिएपछि मनाङ दबावमा परेको थियो। आर्मीका सन्तोष तामाङलाई लडाएपछि पहेलो कार्ड पाएका ओलावलेले रेफ्री सुदिश पाण्डेलाई अपशब्द प्रयोग गरेपछि रातो कार्ड खादै मैदानबाट बाहिरिएका थिए।

आर्मीले खेलको ८४ औं मिनेटमा सन्तोष तामाङले गोल गर्दै टिमलाई २-० को  जित दिलाए। शनिबारको खेलमा उत्कृष्ट प्रर्दशन गरेका सन्तोष तामाङ म्यान अफ द म्याच भए । 

प्रतियोगिताभर सर्वोत्कृष्ट प्रर्दशन गरेका आर्मी मिडफिल्डर सन्तोष तामाङ सर्वोत्कृष्ट खेलाडी बन्दै ५० हजार नगद प्राप्त गर्दा आर्मीकै विकेश कुथु उत्कृष्ट गोलकिपर, आर्मीकै भरत खवास बेष्ट फरवार्ड, आर्मीका प्रशिक्षक नवीन न्यौपाने बेष्ट प्रशिक्षक तथा  मनाङ मर्स्याङ्दीका विराज महर्जन बेष्ट डिफेन्डर हुँदै नगद १५–१५ हजार प्राप्त गरे। प्रतियोगिताकै अवसरमा पत्रकार प्रताप विष्टलाई १५ हजार ५ सय सहित सम्मानित गरिएको थियो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.