|

धनकुटा : देशमा अधिकांश ठेकेदारले धेरै योजनाको ठेक्का लिने तर समयमै काम नसक्ने आरोप खेपिरहेको बेला धनकुटाका एक ठेकेदारले तोकिएको समयभन्दा अघि नै स्वास्थ्य चौकी भवन निर्माण गरी हस्तान्तरण गरेका छन्।

धनकुटाको शहीदभूमि गाउँपालिका–६ थलथले बजारस्थित आँखिसल्ला स्वास्थ्य चौकी भवन निर्माणको म्याद १८ महिना भए पनि ठेकेदार कम्पनी सगरमाथा सुदिक्षा थुलुङ्ग जेभीले साढे १३ महिनामा नै निर्माण सम्पन्न गरि हस्तान्तरण गरेको हो।

निर्माण कम्पनीका ठेकेदार प्रकाश थुलुङले एक कार्यक्रमका बीच गाउँपालिका अध्यक्ष मनोज राईको रोहवरमा वडाध्यक्ष हेमकुमार राई, आँखिसल्ला स्वास्थ्य चौकीका निमित्त प्रमुख जीवनकुमारी राईलाई निर्माण सम्पन्न भएको भवन र कागजात हस्तान्तरण गरे। तोकिएको समयअघि नै योजना पूरा गरेको कारण ठेकेदार कम्पनीले सरकारवाट योजनाको कुल लागतको करिब २० प्रतिशत बोनस रकमसमेत पाउने भएको छ।

शहरी विकास कार्यालय तथा भवन निर्माण विभाग डिभिजन कार्यालय धनकुटाको भ्याटबाहेक २ करोड ९ लाख ३४ हजार १ सय ८३ रुपैयाँको लागतमा सो भवन निर्माण भएको ठेकेदार प्रकाश थुलुङले बताए। सो भवनको निर्माण सम्झौता २०७५ साल असार २५ गते भएको थियो। योजना निर्माण सम्पन्न म्याद आगामी पुस २४ गतेसम्म रहेको छ। 

शहीदभूमि गाउँपालिका अध्यक्ष मनोज राईले समय अगावै निर्माण सम्पन्न गरेकोमा ठेकेदार कम्पनीलाई धन्यवाद दिए। ‘मैले स्वास्थ्य चौकी निर्माणको कामलाई नजिकवाट नियाली रहेको र काम सन्तोषजनक भएको छ। असल तथा कुशल ठेकेदार पाएकै कारण निर्माण छिटो सम्पन्न भएको हो’ उनले भने।

यस्तै, निर्माण व्यवसायी संघ धनकुटाका अध्यक्ष अर्जुन केसीले सबैको सहयोग पाए ठेकेदारले ठेक्का लिएको काम समयमै पूरा हुने बताए। कानुनी झन्झट र स्थानीयको सहयोग नपाएकै कारण अधिकांश योजना समय सम्भव हुन नसकेको र युवा निर्माण व्यवसायी प्रकाश थुलुङ सबै निर्माण व्यवसायीको लागि उदाहरणको पात्र बनेको बताए।

सगरमाथा सुदिक्षा थुलुङ जेभीका संचालक प्रकाश थुलुङले थलथले बजार वासीको सहयोगले भवन निर्माण समयमै सम्पन्न गर्न सम्भव भएको बताए। कच्ची सडक भएको कारण भवन निर्माणको लागि आवश्यक सामाग्री ल्याउन कठिन भएको अनुभवसमेत उनले व्यक्त गरे।

स्वास्थ्य चौकी भवनको स्वामित्व लिएपछि  ६ नं. वडाका वडाध्यक्ष हेमकुमार राईले अव केही दिनभित्र नै पुरानो स्वास्थ्य चौकीको सामान नयाँ भवनमा सार्ने र औपचारिक रुपमा भवनको उद्घाटन गरिने बताए।

शहीदभूमि गाउँपालिकाभित्र अहिलेसम्म स्वास्थ्य चौकीको सुविधायुक्त भवन बनेको थिएन। भवन निर्माण समय अगावै पूरा भएपछि उपचारको लागि सदरमुकाम तथा धरान जानुपर्ने वाध्यता यहाँका वासिन्दालाई हटेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.