जनकपुरधाम : प्रदेश सरकारको मातहतमा आइसकेका जनकपुर अञ्चल अस्पतालमा मंगलबार अख्तियारको टोलीले छापा मारेको छ।
उपकरणसहित विभिन्न समान खरिदमा भ्रष्टाचार भएको उजुरी परेपछि अख्तियारले छापा मारेको हो। अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बर्दिबासको टोलीले अचानक अस्पताल पुगेर प्रमुख तथा मेडिकल सुपरिटेन्डेन्ट डा. नागेन्द्र यादव, डा.जामुन सिंह, डा.कुलदीप पण्डित सहितका कर्मचारीसँग सोधपुछ गरेको छ।
करिब तीन घण्टासम्म सोधपुछ गरेको अस्पतालका एक डाक्टरले जानकारी दिए। उनका अनुसार उपकरणदेखि टेबल कुर्सीसम्मको खरिद प्रक्रिया र खरिद मूल्य विषयमा जानकारी लिएर फर्केका छन्।
अख्तियार बर्दिवास कार्यालयका प्रवक्ता हरिप्रसाद शर्माले भ्रष्टाचारसम्बन्धी उजुरी परेपछि अस्पताल पुगेर टोलीले जानकारी लिएको जानकारी दिए। ‘अहिले अस्पतालका कुनै फाइल नियन्त्रणमा लिएका छैनौँ’ उनले भने। उजुरीमाथि अनुसन्धान सुरु भएको र आवश्यक परेको खण्डमा फाइल नियन्त्रणमा लिने उनको भनाइ छ।
अस्पतालमा पटकपटक कर्मचारी भर्ना र उपकरण तथा फर्निचर समान खरिदमा अनियमिता भइरहेको आरोप लाग्ने गरेको छ। पछिल्लो समय टेण्डर आह्वान गरे पनि मिलोमतोमा सेक्युरिटी गार्ड काठमाडौंका एक कम्पनीबाट लिने सम्झौता गरेको थियो।
तपाईंको ईमेल गोप्य राखिनेछ ।