|
Photo : uefa.com

काठमाडौं: क्रिस्टियानो रोनाल्डो र गेराथ बेल स्पेनी क्लब रियल मड्रिडमा सहकर्मी हुन्। तर युरोकपमा आफ्नो देशलाई फाइनल पुर्‍याउन उनीहरु आमने सामने हुँदैछन्। त्यसैले बुधबार राती पौने १ बजे हुने पोर्चुगल र वेल्सबीचको खेललाई रोनाल्डो र बेलबीचको भिडन्तको रुपमा लिइएको छ।  

स्पेनिस क्लबमा सँधै एक अर्काको सहयोगी भएर खेलेका रोनाल्डो र बेल आज एक अर्कालाई पराजित गर्ने दाउमा हुनेछन्। रियल मड्रिडमा सबैभन्दा मिल्ने साथी यी दुई खेलाडी एकल प्रयासमानै आफ्नो टोलीलाई विजयी गराउने क्षमता राख्छन्। 

सन् २००० पछि पहिलो पटक एक अर्का विरुद्ध खेल्न लागेका पोर्चुगल र वेल्सको यो समग्रमा भने चौथो भेट हो। पछिल्लो पटक भएको मैत्रीपूर्ण खेलमा पोर्चुगल ३–० ले विजयी भएको थियो भने बाँकी खेलहरु पनि पोर्चुगलले आफ्नो पक्षमा पारेको थियो। 

युरोकपमा संधै अभागी सावित हुँदै आएको पोर्चुगल पछिल्लो पटक सन् २००४ को फाइनलमा ग्रिससंग पराजित भएको थियो। युरोकपमा सबैभन्दा बढी खेल खेल्ने रेकर्ड बनाएको पोर्चुगलले अहिलेसम्म एउटा पनि उपाधि भने चुम्न सकेको छैन।  उसले ३३ खेल खेल्दा पाँचौं पटक युरोकपको सेमिफाइनलको यात्रा तय गरेको हो।

यस प्रतियोगितामा निर्धारित समय भित्र कुनैपनि खेल नजितेको पोर्चुगलले पछिल्लो १२ खेलमा ८ मा जित हासिल गर्दा ४ खेल बराबरी खेलेको छ। समूह चरणबाट भाग्यले साथ दिँदै नकआउट चरणमा पुगेको पोर्चुगलले प्रिक्वार्टरफाइनलमा क्रोएसियालाई १–० ले ले र क्वाटर्रफाइनलमा पोल्यान्डलाई ट्राइब्रेकरमा पराजित गरेको थियो।

तुलनात्मक रुपमा कमजोर समूहमा रहेको पोर्चुगलले निकै कठिन र साँघुरो जितका साथ सेमिफाइनलसम्म पग्दा वेल्सले भने पोर्चुगलको तुलनामा निकै सहज तरिकाबाट सेमिफाइनल सम्मको यात्रा गरेको हो। समूह चरणमा समूह विजेता बन्दै नकआउट चरणमा पुगेको उसले प्रिक्वार्टरफाइनलमा उत्तरी आयरल्यान्ड तथा क्वार्टरफाइनलमा उपाधिको दाबेदार वेल्जियमलाई निर्धारित समय भित्रै ३–१ ले पराजित गरी सेमिफाइनल सम्मको यात्रा तय गरेको हो। तर आजको खेलमा उसका प्रभावशाली प्लेमेकर एरोन राम्सीको अनुपस्थितिले वेल्स केही दबाबमा भने हुनेछ। 

फ्रान्समा युरो कप खेल्नका लागि पुगेको वेल्स धेरै चर्चा बटुलेको टोली होइन। तर, जब इंगल्याण्डलाई पछि पार्दै समूह विजेताको रूपमा नकआउट चरणमा प्रवेश गर्‍यो र क्वार्टरफाइनलमा उपाधिको दावेदार मानिएको बेल्जियमलाई ३-१ ले पराजित गर्दै सेमिफाइनल प्रवेश गर्‍यो, त्यसपछि भने वेल्सको चर्चा सर्वत्र छाएको छ।

यही प्रतियोगितालाई आधार मान्दा पोर्चुगल भन्दा वेल्स आजको खेलमा जितको दाबेदार मान्न सकिन्छ। तर सुपरस्टार रोनाल्डो प्रेरित पोर्चुगलले पछिल्लो समय उत्कृष्ट खेल देखाइरहँदा भाग्यको पनि साथ मिलेको छ। 

दुवै टोलीमा रोनाल्डो र बेल बाहेक अन्य हाइप्रोफाइल खेलाडी नहुँदा आजको खेलमा यी दुईको काँधमा नै आफ्नो टिमलाई जिताउने जिम्मेवारी रहनेछ। जित र हार दुबैमा यी दुई खेलाडीको नाम जोडिने भएकोले यिनीहरु स्वभाविक दबाबमा हुनेछन्। 

रोनाल्डो भर्सेज गेल

युरोकपमा सबैभन्दा बढी १९ खेल खेल्ने रेकर्ड रोनाल्डो नाममा छ। यस्तोमा गेराथ बेलले भने पहिलो पटक कुनै ठूलो प्रतियोगितामा सहभागिता जनाइरहेका छन्। क्रिस्टियानो रोनाल्डोले जारी प्रतियोगितामा सेमिफाइनलसम्मको यात्रा गर्दा २ गोल गरेका छन् भने बेलले लागि ३ गोल गरेका छन्।

स्पेनिस क्लब रियल मड्रिडका लागि सँधै उत्कृष्ट प्रदर्शन गर्दै आएका रोनाल्डोले देशको लागि पछिल्लो १३ खेलमा जम्मा २ गोल गरेका छन्, भने बेलले युरोकपको छनौट चरण तथा यो प्रतियोगितामा गरी १० गोल गरिसकेका छन्।

आजको प्रतियोगितामा रोनाल्डोलाई कीर्तिमान राख्ने मौका रहेको छ। उनले वेल्सविरूद्वको खेलमा गोल गर्न सके युरोकपमा फ्रान्सका लिजेन्ड मिचेल प्लाटिनीको नौ गोलको रेकर्डको बराबरी गर्नेछन्।

यस्तै, पोर्चुगाली टोली अहिलेसम्म सबैभन्दा धेरैपटक युरोकप खेल्ने टोली हो। पोर्चुगलले अहिलेसम्म ३३ वटा खेल खेलिसकेको छ भने रोनाल्डो पोर्चुगलका तर्फबाट सर्वाधिक युरो कप खेल्ने खेलाडी हुन्। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.