|

  • पद्मरत्न तुलाधर, वामपन्थी नेता

     

त्यसो त रुपचन्द्र बिष्ट र म २०१५ सालमा सँगै त्रिचन्द्र क्याम्पस पढेका हौं, तर त्यति घनिष्ठता भएन जति ४३ सालपछि हुन गयो। क्याम्पस पढ्दा उहाँ र निर्मल लामा निकै चर्चित हुनुहुन्थ्यो। उहाँहरु सहपाठी र विद्यार्थीहरुलाई चौरमा जम्मा गरेर राजनीतिका कुराहरु सुनाउनुहुन्थ्यो। हामी पनि उहाँहरुलाई सुन्न खुब रुचाउँथ्यौं। 

पछि म २०४३ सालको चुनाव जितेर राष्ट्रिय पञ्चायतको सदस्य बन्न पुगें। म वामपन्थीहरुको प्रतिनिधित्व गर्थें। तर दलहरुमाथि प्रतिवन्ध भएकाले म स्वतन्त्र उठेको थिएँ। उहाँ २०३८ सालदेखि नै रापस हुनुहुन्थ्यो। उहाँको सोच र व्यक्तित्वबाट म अघिदेखि नै प्रभावित थिएँ। त्यैमाथि एउटै सदनको सदस्य हुन पुगेपछि नजिक नहुने कुरै भएन। साथीजस्तो हुन पुग्यौं। पञ्चायतको जमाना थियो। सदनमा पनि पञ्चहरुकै बाहुल्यता हुनु स्वभाविक भैहाल्यो। जनमुखी राजनीति गर्नेहरु सदनमा नपुगेका होइनन्, तर संख्यामा कम थिए। रुपचन्द्र, म, रोहित, गोविन्द दुवाल, चितवनका भीमबहादुर श्रेष्ठ, कास्कीमा सोमनाथ प्यासी, इलामका नोवल केमी राई र चितवनका जागृत भेटवाल वैचारिक हिसावले नजिक थियौं। कतिपय विषयमा सदनमा हाम्रो समस्वर हुन्थ्यो। 

सदनको त्यो दिन

त्यै २०४३ सालको अन्त्यतिरको कुरा होला। मरिचमान सिंह प्रधानमन्त्री हुनुहुन्थ्यो, नवराज सुवेदी राष्ट्रिय पञ्चायतको अध्यक्ष हुनुहुन्थ्यो। सदनमा सरकारको आर्थिक नीतिबारे छलफल चलिरहँदा सूर्यबहादुर थापाले सरकारको चरित्रलाई कण्डमसँग तुलना गर्नुभयो। मलाई किन–किन उहाँले त्यो शब्द प्रयोग गरेको मनै परेन। 

मैले अध्यक्षलाई सोधें, ‘गरिमामय भनिएको हाउसमा यस्तो शब्द प्रयोग गर्न पाइन्छ? रुलिङ गर्नु पर्छ कि पर्दैन अध्यक्षज्यू?’

नवराज सुवेदीलाई मेरो कुरा ठीक लागेछ क्यारे! उहाँले रुलिङ गर्दै त्यस्तो शब्द प्रयोग नगर्न भन्नुभयो। तर मैले नियमापत्ति गरेको पद्मसुन्दर लावतीलाई मन परेको रहेनछ वा उनलाई ठट्टा गर्ने मुड चल्यो। 

मेरो नियमापत्तिमाथि नियमापत्ति गर्दै लावतीजीले अध्यक्षलाई सोधे, ‘अनि माननीय अध्यक्षज्यू, यस्तो गरिमामय सदनमा रुन चैं पाइन्छ कि पाईंदैन नि?’
सदनमा ख्यालठट्टा वा घोचपेच गर्न सूर्यबहादुर र लावती माहिर हुनुहुन्थ्यो।

तपाईंलाई थाहै छ, म अलिक भावुक किसिमको मान्छे छु। सार्वजनिक समारोह आदिमा पनि धेरै पटक भावुक भएको छु। रोएको छु। राष्ट्रिय पञ्चायतमा म रोएको कुरालाई लावतीले हाँसोको बिषय बनाएका थिए। वामपन्थीहरुलाई घोचपेच गर्न उनलाई कसले भेटोस्! पञ्चहरु हामी वामपन्थीहरुले बोलिरहँदा स–साना कुरामा पनि नियमापत्ति गरेर हैरान पार्थे। राम्ररी कुरा राख्ने मौकै दिंदैनथे।

लावतीले मेरो भावुकतामाथि प्रश्न उठाएपछि मैले अध्यक्षतिर हेरें। 

उहाँले केही बोल्न नपाउँदै रुपचन्द्र जुरुक्क उठ्नुभयो र भन्नुभयो, ‘मुखले बोल्न नदिएपछि, हातले लेख्न नदिएपछि, आँखाले बोल्छ अध्यक्षज्यू! हो कि होइन, थाहा चाहियो।’

उहाँले त्यसो भनेपछि कसैले बोल्नै सकेनन्।

रुपचन्द्र त्यस्तो हुनुहुन्थ्यो। आफ्ना कुरा दह्रोसँग राख्नुहुन्थ्यो। रोष्ट्रममा उभिएर भाषण गरिरहेको उहाँको त्यो भव्य व्यक्तित्व, उहाँको त्यो आत्मविश्वास मलाई अहिले पनि याद आउँछ। लावतीको नियमापत्तिमाथि रुपचन्द्रको त्यो प्रतिकृया भोलिपल्ट समाचार बनेर अखबारहरुमा आएको थियो।

इटुम्बहालको पत्रकार सम्मेलन

त्यो समय कस्तो थियो भने हामी जनपक्षधरहरुले सदनमा जतिसुकै गम्भीर कुरा उठाएपनि सरकारी सञ्चारमाध्यमहरुले हाम्रो भाषणलाई स्थान दिंदैनथे। केही निजीस्तरका पत्रपत्रिकाहरुले छाप्थे, तर त्यसका लागि उनीहरुले निकै जोखिम मोल्नुपर्थ्यो। सभासमारोह गर्न बन्देज लगाइएको थियो। बहुतै कठीन समय थियो त्यो।

रुपचन्द्र र म त्यो समयमा धेरै घनिष्ठ भएका थियौं। म उहाँकै स्कुटरमा घुम्थें। सदन सकिए पनि चिया पिउन न्यूरोडतिर जान्थ्यौं। उहाँ मेरो घरमा पनि आइरहनुहुन्थ्यो। मिठो नमिठो जे छ बाँडेर खाइन्थ्यो। कहिलेकाँही मुड चल्दा एक दुई पेग पिउँथ्यौं पनि। म सोझो खालको मान्छे भएकाले उहाँ मलाई ‘गोज्यांग्रो’ भन्नुहुन्थ्यो। तँ सोझो भएकाले अरुले तेरो फाइदा उठाइरहेका छन् भन्नुहुन्थ्यो।

एकपटक हामी जनपक्षधर राष्ट्रिय पञ्चायत सदस्यहरु चिया खाएर बसिरहेका थियौं, रुपचन्द्रले पत्रकार सम्मेलन आयोजना गर्ने प्रस्ताव राख्नुभयो। हामीलाई पनि ठीकै लाग्यो, सदनमा हामीले बोलेको कुरा यदि जनताले थाहै पाउँदैनन् भने पत्रकार सम्मेलनमार्फत आवाज बुलन्द गर्ने आईडिया ठिकै हुन्थ्यो।

म पत्रकार सम्मेलनको लागि हल खोज्न भनेर उठें। तर रुप्चनले उक्त कार्यक्रम ‘हलमा नभई इटुम्बहालमा गरौं’ भन्नुभयो। हामीलाई अचम्म लाग्यो। इटुम्बहालमा कस्तो पत्रकार सम्मेलन! इटुम्बहाल आमसभा र विभिन्न समारोह गर्ने खुल्ला डबली थियो। उहाँको प्रस्ताव कस्तो भने– आजभोलि टुँडिखेलमा पत्रकार सम्मेलन गरौं भनेजस्तो!

‘सानो पत्रकार सम्मेलनलाई किन त्यत्रो ठूलो ठाँउ माननीय?’ हामीले सोध्यौं पनि। तर उहाँले ‘त्यहीँ गरौं न, ठीकै हुन्छ’ भन्नुभयो। हामी पनि लौ भनेर लाग्यौं।

पत्रकार सम्मेलनको मिति घोषणा गरियो। म कार्यक्रमको सभापति हुने भएँ, रुपचन्द्र मूल वक्ता हुने तय भयो। रुपचन्द्रले इटुम्बहालमात्र नभई आसपासका अन्य बहालहरुमा पनि पत्रकार सम्मेलन गर्ने घोषणा गर्नुभयो।

सम्मेलनको दिन इटुम्बहालमा प्रसस्त मान्छेहरु जम्मा भए। त्यहाँ पत्रकारमात्र थिएनन्, ठूलो संख्यामा सर्वसाधारण पनि उपस्थित थिए। सरकारले आमसभा गर्न नदिने भएकाले रुपचन्द्रले पत्रकार सम्मेलनको नाम दिनुभएको थियो। प्रसासनले नबुझ्ने कुरा थिएन। सम्मेलन सुरु हुनु के थियो, पुलिसले धरपकड गरिहाल्यो। मान्छेहरुलाई तितरवितर पार्न थाल्यो। हामी माननीय भएकाले हामीलाई भने केही गर्दैनथ्यो। 

त्यहाँबाट हटाएपछि हामी नरदेविको अर्को बहालमा कार्यक्रम गर्न पुग्यौं। त्यहाँ पनि त्यस्तै! हाम्रा पछाडि सैयौं मान्छेको लस्कर हुन्थ्यो। त्यसरी हामीले तीन चार ठाउँमा कार्यक्रम गर्‍यौ।

हो, हामीले कार्यक्रममा हामीले आफ्ना कुरा राख्न पाएनौं। तर जति मान्छेहरुले कार्यक्रममा भाग लिए, उनीहरुले बुझे, देशमा वाकस्वतन्त्रताको स्थिति के छ? जनतालाई बोल्न समेत नदिने सरकारले जनताको हितमा काम गर्छु भन्छ भने कसरी पत्याउने!

रुपचन्द्र त्यसरी अपुरो–अधुरो कार्यक्रमबाटै किन नहोस् जनता जगाउने प्रयत्न गर्नुहुन्थ्यो।

रुपचन्द्रले मलाई देखेको नदेख्यै गर्नु’भो

रुपचन्द्र र म त्यो समयमा धेरै घनिष्ठ भएका थियौं। म उहाँकै स्कुटरमा घुम्थें। सदन सकिएपनि चिया पिउन न्युरोडतिर जान्थ्यौं। उहाँ मेरो घरमा पनि आइरहनुहुन्थ्यो। मिठो नमिठो जे छ बाँडेर खाइन्थ्यो। कहिलेकाँही मुड चल्दा एक दुई पेग पिउँथ्यौं पनि। म सोझो खालको मान्छे भएकाले उहाँ मलाई ‘गोज्यांग्रो’ भन्नुहुन्थ्यो। तँ सोझो भएकाले अरुले तेरो फाइदा उठाइरहेका छन् भन्नुहुन्थ्यो। एकाधपटक उहाँले मलाई सँगै मकवानपुर पनि लैजानुभएको छ। उहाँप्रति त्यहाँका जनताको सद्‍भाव देखेर म चकितै परेको थिएँ। त्यसो त उहाँलाई रुचाउने मान्छेहरु देशैभर थिए, तैपनि मकवानपुरमा विशेषै देखें।

जनआन्दोलनपछि भने हाम्रो भेटघाट पातलियो। लगभग भेटै भएन भन्दा पनि हुन्छ। अड्चालिस सालको चुनावताका एकपटक मलाई फोन गर्नुभएको थियो। उहाँ मकवानपुरबाट चुनाव लड्ने तयारीमा हुनुहुन्थ्यो। एमालेका विरोध खतिवडा उहाँका विपक्षी उम्मेदवार थिए। मैले उहाँको निर्वाचन क्षेत्रमा एमालेले उम्मेदवारी नदिने वातावरण बनाउन सक्छु कि भन्ने उहाँलाई लागेको रहेछ। तर त्यसमा मैले केही गर्न सक्ने अवस्थै थिएन। त्यो पार्टीको कुरा थियो। फेरि म कुनै पार्टीविशेषको सदस्य पनि थिइन। मैले त्यही अनुरुप मेरो कुरा राखें। उहाँले कसरी लिनुभयो, थाहा छैन।

पछि उहाँले त्यो चुनाव हारेको थाहा पाएँ।

म साथीभाईमार्फत उहाँबारे अपडेट नै थिएँ। उहाँ लगातार दुईवटा चुनाव हारेपछि धेरै निराश हुनुहुन्थ्यो। धेरै पिउन थाल्नुभएको छ भन्ने पनि सुनेको थिएँ। तैपनि भेटघाट भने भएको थिएन।

एकदिन म कालिमाटी हुँदै उहाँकै घरतिरबाट मोटरमा गइरहेको थिएँ। उहाँ बाटैमा भेटिनुभयो। निकै गलिसक्नुभएको रहेछ। मैले अभिवादनस्वरुप मोटरबाटै हात उठाएँ। उहाँले केही प्रतिकृया दिनुभएन। देखेको नदेख्यै गर्नु’भो। 

दुःख लाग्यो। त्यसैको केही समय पछि त गइहाल्नुभयो।

संगठन नबनाउनु रुपचन्द्रको कमजोरी

रुपचन्द्रका राम्रा कुरा त कति छन् कति हेर्नोस्! सानाभन्दा साना दैनन्दिन व्यवहारका कुरा होस् वा ठूलाभन्दा ठूला दर्शनका कुरा! उहाँबाट सिक्न लायक कुरा धेरै छन्। श्रम र श्रमिकप्रति अगाध सम्मान थियो। आफ्नो काम आँफै गर्नुहुन्थ्यो। तँ श्रमिकपट्टिको होस् कि शोषकपट्टिको खै हैरौं भन्दै हाम्रो हातमा ठेला भए–नभएको हेर्नुहुन्थ्यो। श्रमिकको हितमा लड्न प्रोत्साहित गर्नुहुन्थ्यो।

त्यति हुँदा हुँदै पनि संगठन नगर्नु उहाँको कमजोरी हो कि भन्ने लाग्छ। उहाँले संगठन कहिल्यै बनाउनै चाहनुभएन। संगठन बनाउने होइन, आँफै बन्ने कुरा हो भन्नुहुन्थ्यो। आवश्यक परे नागरिकहरु आँफै संगठित हुन्छन् भन्नुहुन्थ्यो। उहाँले संगठनको लागि कहिल्यै पहल नै गर्नुभएन। संगठन बनायो भने जाली फटाह पनि त्यसमा छिर्छन् र संगठनको दुरुपयोग गर्छन् भन्ने उहाँको कुरा थियो।

उहाँले पछिल्लो चुनाव लगालग हार्नुको कारण पनि त्यही हो जस्तो लाग्छ। पञ्चायतकालमा पो स्वतन्त्र लडेर चुनाव जित्न सजिलो थियो। बहुदल आएपछि त स्वतन्त्र व्यक्ति दलसँग कसरी भिड्नू! 

फेरि त्यतिखेरका परिवर्तनकारी शक्तिहरुप्रति उहाँ त्यति विश्वस्त हुनुहुन्नथ्यो। बहुदलप्रति पनि त्यति सकारात्मक हुनुहुन्थेन। बहुदलको विकृतिबारे बोल्न थाल्नुभएको थियो। व्यवस्था बहुदलीय, शासन निर्दलीय हुनुपर्छ भन्नुहुन्थ्यो। पद छाडी दल, दल छाडि पद गर्नुपर्छ भन्नुहुन्थ्यो। 

हुन पनि बहुदल आएलगत्तै दलहरुले पैसा खर्चेर चुनाव जित्न सिकिसकेका थिए। अहिल्यै हेर्नोस् न! एक करोड रुपैंया नभई चुनावमा नआँटे पनि हुन्छ भन्छन्। तर रुपचन्द्र पैसा खर्चेर नभई पर्चा बेचेर चुनाव जित्नुहुन्थ्यो। बहुदलपछि त्यस्तो अवस्थै रहेन। गाउँदेखि सहरसम्मका मान्छेहरु दलीय राजनीतिमा पोलराइज्ड भइसकेका थिए। 

मलाई अहिले पनि थक्क–थक्क लाग्छ। उहाँले संगठन गर्नुपर्थ्यो। उहाँलाई समर्थन गर्ने हज्जारौं मान्छे थिए। देशभर उहाँको प्रभाव थियो। चुनावमा धेरै राम्रो गर्न सकिने अवस्था थियो। तर संगठन नहुँदा उहाँकै आफ्नै मान्छेहरु पनि तितरवितर भए। विभिन्न दलमा गए। अन्त्यमा उहाँ एक्लै पर्नुभयो।

उहाँले संगठन नबनाउँदा देशलाई ठूलो नोक्सान भयोजस्तो लाग्छ। गरेको भए त्यो संगठन साँचो अर्थमा जनपक्षीय संगठन बन्थ्यो। सायद आज देशको रुपै अर्को हुन्थ्यो।

(पवनराज पौडेलसँगको कुराकानीमा आधारित)

 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.