विचार

रुपचन्द्र यस्तो संविधान चाहन्थे...
SHARES

रुपचन्द्र र गणेशमानको त्यो सम्वाद

पुस २६, २०७३

    सांसद रामनारायण बिडारीले रुपचन्द्र बिष्टसँगै थाहा आन्दोलन र जनमुखी राजनीतिमा लामो समय बिताए। विद्यार्थीका रुपमा बिष्टको समिप पुगेका बिडारी कालान्तरमा उनको सहकर्मीमा रुपान्तरित हुन पुगे। छत्तिस सालको जनमत संग्रहलगत्तै बिष्टसँग राजनीतिक सहकर्मीको रुपमा जोडिएका बिडारी बिष्ट रहुञ्जेल उनको साथैमा रहे। बिष्टकै सल्लाहमा एकता केन्द्रसँग पार्टी एकीकरण गरी संसदीय राजनीतिमा छिरेका बिडारी एकता केन्द्र र माओवादी केन्द्रबीच एकीकरण भएपछि अहिले माओवादी केन्द्रमा छन्। रुपचन्द्रले बोलेका कुरा हुबहु सम्झन सक्ने क्षमताका धनी बिडारीलाई रुपचन्द प्रेमले ‘टेप–रेकर्डर’ भनेर बोलाउँथे। तिनै बिडारीले हालैको एकदिन थाहा सञ्चारकर्मी पवनराज पौडेलसँग ‘रुपचन्द्र र उनको थाहा आन्दोलन’बारे आफ्नो सम्झनाको टेप यसरी खोले।

    रुपचन्द्र मारिए रे!

    ‘रुपचन्द्रलाई सरकारले मार्‍यो रे!’

    रुपचन्द्रबारे मैले सबैभन्दा पहिले सुनेको कुरा त्यै थियो। अठ्ठाईस सालको कुरा हो। म जम्मा बाह्र वर्षको थिएँ। किन मार्‍यो होला त्यो मान्छेलाई भन्ने लाग्यो। मान्छेहरु भन्थे– सरकारको विरोध गर्थ्यो, त्यसैले मार्‍यो। बच्चै थिएँ, धेरै जान्ने बुझ्‍ने कुरो पनि भएन। गाँउमा चलेको हल्ला त्यस्तो थियो। त्यसरी पहिलो पटक रुपचन्द्रको नाम सुनेको थिएँ।

    बहुदलको आन्दोलनले जनताको संविधान त परको कुरा, जनताको सरकारसमेत बनाउन सकेन। नेपाल सरकार बनेन, श्री ५ को सरकार रहिरह्‍यो। राष्ट्रिय गानसमेत परिवर्तन गर्न सकेन, मान्छेहरुले ‘श्रीमान् गम्भीर नेपाली..’ गाइरहे। व्यवस्थापिका, कार्यपालिका र न्यायपालिकाको प्रमुख राजा नै रहे। अर्थ, सेना र प्रहरीको कानुन बनाउने अधिकार राजाकै हातमा रह्यो। सार्वभौमसत्तासमेत श्री ५ मै रह्यो।

    त्यसको केही समयपछि पढ्नका लागि काठमाडौं आइयो। गाँउमा हाईस्कुल थिएन। मेरो गाँउ मकवानपुरको बज्रबाराही, त्यहाँ प्रावि मात्रै थियो। पालुङमा निमाविसम्म थियो। माविका लागि काठमाडौं जानुको विकल्पै भएन। मैले काठमाडौंको पद्मोदय हाईस्कुलमा ६ देखि ८ कक्षासम्म पढें।

    ९ कक्षामा भर्ना हुने बेला बुबाले गाँउमै हाईस्कुल खुलेको समाचार सुनाउनुभयो। त्यसपछि गाँउमै पढ्ने सल्लाह भयो। उतै लागियो।

    स्कुलको नाम थियो– जनकल्याण मावि। यसो बुझ्छु त, मारिए भने हल्ला चलेका उनै रुपचन्द्रले पो स्कुल खोलेका रहेछन्। सरकारले पक्राउ पुर्जी जारी गरेपछि वा भनौं लाइफ–थ्रेटपछि उनी भारततिर लागेका रहेछन्। रुपचन्द्र एकाएक बेपत्ता भएकाले मान्छेहरुले मारिएको शंका गरेका रहेछन्। त्यो अवधि उनले पूर्वीय धर्मदर्शनको अध्ययनमा बिताएको पछि उनी बताँउथे।

    जनकल्याण माविमै हाम्रो पहिलो भेट भएको थियो। उनी हेडमास्टर थिए। काठमाडौंमा  पढेर गएको विद्यार्थी भएकाले मेरो दिमागमा हेडमास्टरको चित्र अर्कै थियो। तर यहाँ देख्छु, विल्कुल फरक खालको मान्छे हेडमास्टर छ। दारी–कपाल जिङरिंग पालेको छ, कहिले भोटो–कछाड लाएर आँउछ, कहिले फेरि गाँउमै बनेको खेसको कमिज–सुरुवाल लगाँउछ। कहिले ह्वाङलाङ्ङ परेको पाइन्ट लाएर आँउछ। कहिले मजेत्रो ओढेर आँउछ। उसका कैयौं कुरा फेरि बुझ्नै पनि कठिन! त्यस्ता मान्छे अब मेरो हेडमास्टर थिए।

    रुपचन्द्र हेडमास्टरको रुपमा

    स्कुल भवन निर्माण कार्य चलिरहेको थियो। रुपचन्द्र हामीलाई श्रमदान गर्न लगाउनुहुन्थ्यो। दिनको एक घण्टा हामीले ढुंगा बोक्नुपर्थ्यो। म विरोध गर्थें। ‘हामी पढ्न आएको कि ढुंगा बोक्न?’ खेलकुद अनिवार्य थियो। खेलकुदमा मेरो रुचि पटक्कै थिएन। म सोध्थें, ‘हामी खेल्न आएको कि पढ्न आएको?’ त्यो पौडी खेल हुने दिन थियो। उहाँले मलाई कपडासहित खोलामा फ्याँकिदिनुभयो। डुब्न–डुब्न लागेपछि आँफै खोलामा पसेर झिक्नुभयो। 

    म अलिक जिज्ञासु स्वभावको थिएँ। प्रश्न सोधेर हैरान पार्थें। उहाँ पनि प्रश्न सोध्न हौस्याउनुहुन्थ्यो। दुब्लोपातलो सानो बच्चो न भएँ! कुनै प्रश्न सोधेपछि जुरुक्क उचालेर टेबुलमा उभ्याइदिनुहुन्थ्यो, र भन्नुहुन्थ्यो, ‘ल सोध्! मनमा लागेको कुरा भन्! मेरै विरोध गर्नु छ भने पनि ढुक्कले गर्। अरु कसैको विरोध गर्नु छ भने पनि गर्। तलाईं कसैले केही गर्दैन। तेरो अंगरक्षक म भएँ।’

    उहाँ उत्साहित बनाउनुहुन्थ्यो। म सुर्रिन्थें।

    कक्षा पनि विहान ९ बजेदेखि साँझ ६ बजेसम्म चल्थ्यो। खेलकुद र अतिरिक्त क्रियाकलाप त छँदै थियो। एक पिरियड राष्ट्रिय र अन्तर्राष्ट्रिय राजनीति पनि पढाउनुहुन्थ्यो। त्यसरी नै टेबुलमा उभ्याएर कुनै बिषयमाथि बोल्न लगाउनुहुन्थ्यो। विद्यार्थीका लागि उहाँले चौतर्फी विकास कार्यतालिका भनेर एउटा तालिका नै डेभलप गर्नुभएको थियो। नेपालीबाहेकका कक्षा अंग्रेजीमा लिनुहुन्थ्यो। म र मेरा साथीहरु विरोध गर्थ्यौ। 

    झट्ट हेर्दा उहाँको विरोध गरेजस्तो लाथ्यो। तर हाम्रो सम्बन्ध नजानिंदो किसिमले कस्सिइसकेछ। म उहाँप्रति आकर्षित भइसकेको रहेछु।

    दश कक्षा पुगेपछि उहाँले नयाँ नियम ल्याउनुभयो। दशका विद्यार्थीहरु प्रौढ शिक्षा पढाउन जानुपर्ने भयो। ९ वटा वडामा ३६ वटा बिहानी कक्षा बनाइएको थियो। त्यहाँ एक घण्टा पढाएर हामी दश बजे स्कुल पुग्नुपर्थ्यो। त्यसरी पढाएबापत दुई रुपैयाँ तलब पनि पाइन्थ्यो। 

    रुपचन्द्रलाई स्कुल छोड्न बाध्य पारियो

    म दश कक्षामै पढ्दाको कुरा हो। एउटा पोलिटिकल क्राइसिस आइलाग्यो, रुपचन्द्रले स्कुल छोड्नुपर्‍यो।  

    जनकल्याण मावि स्थानीय स्रोतसाधनबाट चल्दथ्यो। पालुङमा उत्पादन हुने आलुमा आलुकर लगाइन्थ्यो। जम्मा भएको कर गाँउभेलाको निर्णयले स्कुल र अन्य सामाजिक काममा खर्च गर्ने थिति बसालिएको थियो। उहाँकै अगुवाईमा त्यो भएको थियो। रुप्चन् तलब लिनुहुन्नथ्यो। पछि थोरै लिनुभयो क्यारे! घर छाडिसक्नुभएको थियो। गोपाली गाउँमा बस्नुहुन्थ्यो। त्यहीँका किसानको घरमा श्रम गरेर भात खानुहुन्थ्यो।

    रुपचन्द्रलाई गाँउ पञ्चायतको मतलब थिएन। पालुङ विकास समिति भन्ने बनाउनुभएको थियो। त्यसैले कर उठाउँथ्यो। स्कुल चलाउँथ्यो। तर त्यसरी कर उठाएर स्कुल चलाएको गाउँका टाढाबाठाले रुचाएनन्। विरोध गर्न थाले। त्यही निहुँमा रुपचन्द्रले स्कुल छाड्नुपर्‍यो। सरकार आफैँले त्यो समिति विघटन गरिदियो। त्यतिखेर हामी विद्यार्थीहरुले रुपचन्द्रको पक्षमा नाराबाजी गरेका थियौं। तर उहाँ स्कुलमा फर्किने वातावरण बनेन। म पनि टेस्ट परीक्षा उत्तीर्ण भइसकेको थिएँ। एसएलसीको लागि काठमाडौैं हिँडें।

    रुपचन्द्रसँगको राजनीतिक सहयात्रा

    त्यसपछिका केही वर्ष हाम्रो भेटघाट भएन। उहाँ उतै बस्नुहुन्थ्यो। पछि चौंतिस सालतिर काठमाडौं आएपछि उहाँले कालिमाटीमा कटेरो बनाउनुभएको थियो। म पनि कालिमाटीमै डेरा गरि बस्थें। आक्कलझुक्कल भेट हुन्थ्यो। म त्यतिखेर ल क्याम्पस पढ्दै थिएँ।

    एकदिन अचानक उहाँ मेरो डेरामा आउनुभयो। २०३८ सालको कुरा। राजाले जनमतसंग्रह गराएको धेरै भएको थिएन। उनले दोस्रो बालिग मतदानको घोषणा गरेका थिए। मेरो डेरामा आएर रुपचन्द्रले भन्नुभयो, ‘बहुदललाई मतदान गर्नुपर्छ। हिँड् त्यसको पक्षमा काम गरौं!’

    म अखिलको राजनीतिमा छिरिसकेको थिएँ। मलाई बडो अप्ठ्यारो पर्‍यो। 

    पछि फेरि हेटौंडाबाटै खबर पठाउनुभयो, ‘यो चुनाव छोड्नुहुँदैन। म उठ्छु। मलाई सघाउन हेटौंडा आइज।’

    देशको माहोल अर्कै थियो। कांग्रेस–कम्युनिस्ट सबैले चुनाव वहिस्कार गरेका थिए। म अखिल छैटौंको सदस्य थिएँ। क्याम्पसमा पनि चुनाव बहिस्कार गर्नेबारे छलफल भइरहेको थियो। उता रुपचन्द्रचाहिँ म उठ्छु, तँ सघाउन आइज भन्दै हुनुहुन्थ्यो।

    त्यसपछि उहाँले चुनावको घोषणापत्र पठाउनुुभयो। घोषणापत्रको नाम जनमुखी घोषणापत्र थियो। पञ्चायतको विरोध गरिएको थियो। जननिर्वाचित प्रतिनिधिहरुले संविधान बनाउनुपर्छ भनिएको थियो। पहिले संविधान अनि चुनाव नभई ‘पहिले चुनाव अनि संविधान’ चाहिन्छ भनिएको थियो। 

    ‘काम धेरै गरीवलाई,सम्पत्ति धेरै धनीलाई। यस्तो डाँका व्यवस्था चलाउने सरकारलाई गरीवले नै, सिपाही बनेर बल दिनुपर्ने! पढेकाले हाकिम बनेर सञ्चालन गर्नुपर्ने!’ यसबारे सोच्न मान्छेहरुलाई अपिल गर्नुभएको थियो। मलाई उहाँको कुरा निकै जच्यो। त्यहीमाथि उहाँ आफैं उम्मेदवार! म क्याम्पस छोडेर उहाँलाई सघाउन हेटौंडा गएँ। अखिल छैटौं पनि छुट्यो। खै पछि मलाई कारवाही गरे-गरेनन्, थाहा भएन। 

    त्यो चुनाव रुदानेले सजिलै जित्नुभयो। सदनमा जनपक्षमा गर्जिन थालेपछि उहाँको चर्चा पनि देशव्यापी हुँदैगयो।

    रुपचन्द्रले खोजेको व्यवस्था

    रुपचन्द्र जनमुखी व्यवस्थाको पक्षपाति हुनुहुन्थ्यो। बहुदल पनि होइन, निर्दल पनि होइन। जनमुखी व्यवस्था चहिन्छ भन्ने उहाँको कुरा थियो। व्यवस्था बहुदलीय, शासन निर्दलीय हुनुपर्छ भन्नुहुन्थ्यो। पदमा जानेले दल छाड्नैपर्ने र दलमा जानेले पद छाड्नैपर्ने सिस्टम बनाउनुपर्छ भन्नुहुन्थ्यो। 

    अहिलेको हाम्रो विकृति त्यहि होइन र! जुन पार्टीको नेता प्रधानमन्त्री छ, त्यै पार्टीका मान्छेहरुको मात्र हित हेर्ने! सरकारप्रमुख त साझा हुनुपर्ने होइन?

    उहाँ के भन्नुहुन्थ्यो भने, ‘जनतालाई बहुदल चाहिन्छ। व्यक्तिलाई बहुदल चाहिन्छ। तर स्थानीय जनतालाई जनमुखी वैज्ञानिक गाउँ पञ्चायत चाहिन्छ।’

    देशव्यापी पञ्चायतविरोधी आन्दोलन चर्किरहेको समय थियो, हामीले सोध्यौं, ‘पञ्चायत किन चाहिन्छ भन्नुहुन्छ? देशभर पञ्चायतविरुद्ध आन्दोलन चलेको तपाईं देख्नुहुन्न?’

    ‘भारतमा अहिले पनि ग्राम पञ्चायत छ, त्यो तेरो महेन्द्रले ल्याएको हो?’ रुपचन्द्र रिसाउनुभयो, ‘नेपालमै २००६ सालमा ग्राम पञ्चायत थियो, त्यो तेरो महेन्द्रले ल्याएको हो? पञ्चायत एउटा इकाईको नाम न हो। स्थानीय स्वायत्तताको लागि अहिलेको पञ्चायत ठीक छैन। त्यसलाई जनमुखी बनाउनुपर्‍यो भनेको मैले।’
    मान्छेहरुले त्यसैलाई रुपचन्द्रले पञ्चायतको समर्थन गर्‍यो भनेर अर्थ्याए।  

    रुपचन्द्र र गणेशमानको त्यो संवाद

    पञ्चायतविरुद्ध कांग्रेस–कम्युनिस्ट मिलेर गरेको आन्दोलनबारे रुपचन्द्रको धारणा के थियो भन्ने प्रष्ट पार्न म एकाध घटनाको उल्लेख गर्छु। 

    छयालिस सालको आन्दोलन चल्दा कांग्रेसको सम्पर्क अफिस जमलमा थियो। पार्टी त प्रतिवन्धित नै थियो, तैपनि गणेशमानजीहरुले त्यहाँ भेटघाटको जक्सनजस्तो बनाएका थिए। त्यहाँ गणेशमान र रुपचन्द्रको सम्वाद भएको छ। गणेशमान, कृष्णप्रसाद भट्टराई, गिरिजाप्रसाद कोइराला सबै थिए। म त्यहीँ छु। न भेटघाटको कुरा न उनीहरुले बोलाएका। हामी सरारार गएका थियौं। रुपचन्द्रको शैली नै त्यस्तै थियो। रुपचन्द्र त्यतिखेरसम्म रापस नै हुनुहुन्थ्यो।

    रुपचन्द्रले गणेशमानलाई भन्नुभयो, तपाईंहरु आन्दोलनमा हुनुहुन्छ, ठीक छ। तर आन्दोलनमा एउटा संविधानको मस्यौदा सार्वजनिक गर्नोस्। सक्नुहुन्छ?
    ‘कस्तो मस्यौदा?’ गणेशमानले सोध्नुभयो।

    ‘जनमुखी वैज्ञानिक गाउँ पञ्चायत हुनेछ र जनताका ती संस्थाहरु स्वतन्त्र हुनेछन् भनी कबोल गर्नोस्। जनताको प्रतिनिधिमाथि, प्रतिनिधिको कर्मचारीमाथि, कर्मचारीको प्रहरीमाथि र प्रहरीको अपराधीमाथि शासन हुने संविधान चाहिन्छ भन्नोस्।’ रुपचन्द्रले भन्नुभयो।

    गणेशमान केही भन्न खोज्दै हुनुहुन्थ्यो, रुपचन्द्रले थप्नुभयो, ‘यदि त्यस्तो संविधान आएन भने त्यो त राजालाई नै बलियो बनाउने काम हुन्छ। जनताका संस्थाहरु कमजोरका कमजोर रहनेछन्। उल्टो व्यवस्था चल्छ यहाँ! जनताले दल हैन दलले जनता हाँक्ने व्यवस्था आउँछ। त्यस्तो मस्यौदा ल्याउन सक्नुहुन्छ?’

    ‘तपाईंको कुरा एकदम ठीक छ रुपचन्द्र! तर आन्दोलनमा कांग्रेसमात्रै छैन। सबै मिसिएका छौं। तपाईंलाई त थाहै छ। फेरि अहिल्यै राजतन्त्रसँग जुध्न पनि सकिँदैनजस्तो लाग्छ।’ गणेशमानजीले आफ्नो बाध्यता कहनुभयो।

    ‘अनि मैले पनि कहाँ अहिल्यै गणतन्त्र भनेको छु त! तर त्यो आउने बाटोमा त लाग्नुपर्‍यो नि! परेन? यो बाटो लाग्दा त्यहाँ पुगिन्छ भन्ने मेरो कुरा।’
    गणेशमानजीले गाह्रो छ भन्नुभयो। हामी उठेर हिंड्यौं। 

    रुपचन्द्र त्यसपछि टंकप्रसाद आचार्यकहाँ जानुभयो। भन्नुभयो, ‘म २००७ सालको टंकप्रसादलाई भेट्न आएको! जनमुखी संविधानको एउटा ड्राफ्ट बनाउनुस्। म राष्टिय पञ्चायतमा लगेर बजार्छु।’

    तर त्यहाँ पनि गणेशमानजीकहाँको जस्तै कुरा भयो। त्यसपछि हामी डिल्लीरमण रेग्मीकहाँ गयौं। मनमोहन अधिकारीकहाँ गयाौं। सबैतिर त्यस्तै कुरा!

    बहुदलले ल्याएको परिवर्तन

    त्यसको केही समयलगत्तै दलहरुको संयुक्त आन्दोलनले पञ्चायत ढाल्यो। 

    बहुदलको आन्दोलनले जनताको संविधान त परको कुरा, जनताको सरकारसमेत बनाउन सकेन। नेपाल सरकार बनेन, श्री ५ को सरकार रहिरह्‍यो। राष्ट्रिय गानसमेत परिवर्तन गर्न सकेन, मान्छेहरुले ‘श्रीमान् गम्भीर नेपाली..’ गाइरहे। व्यवस्थापिका, कार्यपालिका र न्यायपालिकाको प्रमुख राजा नै रहे। अर्थ, सेना र प्रहरीको कानुन बनाउने अधिकार राजाकै हातमा रह्यो। सार्वभौमसत्तासमेत श्री ५ मै रह्यो।

    २०४६ सालको परिवर्तनले जनतालाई के दियो वा के दिएन भन्ने कुरा माओवादी जनयुद्धले पुष्टि गर्छ। २०४७ सालको संविधान बदल्न त्यत्रो जनयुद्ध गर्नुपर्थ्यो? यो गहिरो विष्लेषणको कुरा छ। मैले माओवादी सधैं ठीक भइरहन्छ भन्न खोजेको होइन। तर यहाँ सोच्नुपर्ने कुराहरु प्रसस्त छन्।

    चिन्तन गरे थाहा पाउन गाह्रो छैन।

रामनारायण विडारी

अधिवक्त्ता विडारी व्यवस्थापिका संसदको सदस्य हुन् ।

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
मुक्तिश्री टावर
नयाँ बानेश्वर, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: news@thahakhabar.com
बिज्ञापनः ad@thahakhabar.com
फोन : ९७७-१- ४७८६५६२

थाहा मिडिया ग्रुप

थाहा गणितको शुत्र होइन । कुनै मन्त्र पनि होइन । थाहा त चेतनाको त्यो झिल्को हो जसले हाम्रो दृष्टिलाई फराकिलो बनाउंँछ, हाम्रो विचारलाई उघारो बनाउँछ, हाम्रो कामलाई ठिक बनाउँछ र हाम्रो जीवनलाई थप सहज बनाउँछ । थाहा एउटा प्रकृया हो ... [विस्तृत]