एक क्रान्तिकारीको कथा

|

भुइँमान्छे ब्युँताउने अभियानमा जीवन अर्पिएका कम्युनिस्ट नेता स्वनाम साथी साम्यवादी समाजको आकांक्षी हुन्। शासन र शोषणरहित समाजको वकालतमात्रै गर्दैनन्, आफूले विश्वास गरिआएको दर्शनअनुरुपको जीवन बाँच्ने कोसिस उनको रहिआएको छ। मिर्गौलासम्बन्धी समस्याका कारण लामो समयदेखि थलिएका स्वनाम हाल नयाँ बसपार्क, गोंगबुस्थित निवासमा स्वास्थ्यलाभ गरिरहेका छन्। यसै साता थाहा सञ्चारकर्मी पवनराज पौडेलसँग भएको लामो कुराकानीमा उनले कम्युनिस्ट आन्दोलन विकृत बनेकोमा चिन्ता व्यक्त गरे। आफूलाई कम्युनिस्ट बताउने तर त्यसअनुरुप व्यवहार नगर्ने कम्युनिस्ट नामधारीहरुप्रति उनको खास असन्तुष्टि थियो। स्वनामसँगको कुराकानीको मूल विषय थियो- ‘रुपचन्द्र विष्ट र उनको दर्शन।’ रुपचन्द्रसँग ऊ बेला गहिरो राजनीतिक सम्वादसमेत गरेका उनले रुपचन्द्रसँगको अनुभव र थाहा आन्दोलनप्रतिको बुझाई यसरी सुनाए।

रुपचन्द्रसँगको पहिलो भेट

रुपचन्द्र बिष्ट

रुपचन्द्र मेरो दाजु ज्ञानेन्द्रमान शेरचनको साथी हुनुहुन्थ्यो। २३–२४ सालताका म त्रिचन्द्रमा आइएस्सी पढ्दै थिएँ।  त्यस्तै १७–१८ वर्षको हुँदो हुँ। कमलाक्षीमा डेरामा बस्थ्यौं। दाजुसँगै रुपचन्द्र पनि कोठामा आइराख्नुहुन्थ्यो। गज्जबको वाककला थियो। खरो हुनुहुन्थ्यो। शरीर पनि त्यस्तै बलियो। हाम्रो कोठामा भएको खाना बनाउने ठूलो सिलावरको डेक्चिको कुच्चिएको बिट उहाँले हातैले सोझो बनाइदिएको याद छ। त्यस्तो बलियो हुनुहुन्थ्यो।

त्यतिखेरसम्म उहाँ मार्क्ससिस्ट नै हुनुहुन्थ्यो। ‘थाहा आन्दोलन’ सुरु गरिसक्नुभएको थिएन। पुष्पलालहरुसँग काम गर्नुहुन्थ्यो। पार्टीकै विभिन्न फाँटमा खासगरि मजदुरहरुलाई संगठित गर्न उहाँको भूमिका थियो। कविता पनि लेख्नुहुन्थ्यो। स्नातक चुनावताका मलाई उहाँले दिनुभएको कविताको एक पंक्ति मलाई अझै याद छ। त्यो कविताले मेरो मनमा एक किसिमको छाप पारेको थियो।

प्रकासवेगी याममा हिँडेपनि

हिँडिमात्र रहेको हो

हिँडेको त सबै आफ्नो चिहानतिर हो,

यस्तैमा केही असल गर्न सके

जीवन त्यही नै हो।

१७ सालमा पञ्चायती व्यवस्था सुरु भएपछि कम्युनिस्ट पार्टीहरु विभाजित हुने अवस्था बन्यो। निर्मल लामा, मोहनविक्रमहरु जेलमा हुनुहुन्थ्यो। रुपचन्द्र बाहिरै सक्रिय हुनुहुन्थ्यो। त्यही समयमा रुस र चीनमा पनि ठूला परिवर्तनहरु देखिए। त्यहाँका घटनाहरुले उहाँलाई भित्रैसम्म छोयोजस्तो लाग्छ। सायद यसरी हुँदैन भन्ने लाग्यो, उहाँ पूर्वीय धर्म–दर्शनको अध्ययन गर्न भारततिर हिँड्नुभयो। पहिले उहाँ लेफ्ट क्याम्पमै हुनुहुन्थ्यो। रुसको घटनाक्रम हेरिसकेपछिमात्रै उहाँले पार्टी छोड्नुभएको हो। कम्युनिस्ट आन्दोलनमा देखिएका कमीकमजोरीबारे उहाँसँग हाम्रो छलफल पनि भएको थियो। तर त्यो धेरै पछिको कुरा !

रुपचन्द्र एक कम्युनिस्ट

सबभन्दा पहिले अहिलेको यहाँको कम्युनिस्ट आन्दोलनलाई हेर्नोस् ! नेपालमा जुन आन्दोलन चलिरहेको छ, के यो कम्युनिस्ट आन्दोलन हो? कम्युनिस्ट आन्दोलन भन्न मिल्छ? कम्युनिस्ट प्रेमीहरुको, आकांक्षीहरुको वा भक्तहरुको आन्दोलनसम्म भन्न मिल्ला। कम्युनिस्ट नामको मात्रा बढी छ, भावको मात्रा निकै कम छ। अथवा नाममात्रको छ भने पनि फरक नपर्ला। यस्तोमा कम्युनिस्ट आन्दोलन केलाई भन्ने? कम्युनिस्ट कसलाई भन्ने?

हामी क्युबासँग सिक्ने कुरा गर्दैनौं। हामी त चीनसँग सिक्ने कुरा गर्छौं। हङकङसँग सिक्ने कुरा गर्छौं। दक्षिण कोरियासँग सिक्ने कुरा गर्छौं। हामीलाई चाहिएको के हो? हाम्रो प्राथमिकता के हो? हाम्रो क्रान्ति मान्छेप्रति नभई चिजविजप्रति ढल्किएको छ। रुपचन्द्र चिजविजका पुजारी थिएनन्। चिजविजपट्टिको होइन, मान्छेपट्टिका क्रान्तिकारी हुन् रुपचन्द्र!

रुपचन्द्रले आभाष गरेको कुरा त्यो हो। सोचनीय कुरो छ।

यदि कम्युनिस्ट समाजको सदस्यलाई कम्युनिस्ट भन्ने हो भने यहाँ कम्युनिस्ट कसलाई भन्ने? अहिले यहाँ कम्युनिस्ट पार्टीको सदस्यलाई कम्युनिस्ट भन्ने चलन छ। मान्छे जेसुकै वा जोसुकै होस्, कम्युनिस्ट नामधारी पार्टीको सदस्य यहाँ कम्युनिस्ट कहलिन्छ। आचार–व्यवहार अलि फरक पारे त राम्रै हुन्थ्यो ! त्यो पनि छैन। कम्युनिस्टप्रेमी हुँदैमा तपाईं कम्युनिस्ट हुनुभयो? देउताप्रेमी हुँदैमा तपाईं देउतै भइहाल्नुभयो?

यहाँ मान्छेको चेतको कुरा जोडिन्छ। विचारको कुरा जोडिन्छ। विवेक र व्यवहारको कुरा जोडिन्छ। हेर्नोस् न! मान्छेलाई पुग्ने छ, तैपनि थुपार्न खोज्छ। लेखनाथजीले लेख्नुभएको छ नि! मै खाऊँ मै लाऊँ, सुखसयल मोज मै गरौं, अरु सबै मरुन् दुर्बलहरु!

रुपचन्द्रको आँखाले हेर्ने हो भने कम्युनिस्टहरु त बहुतै बिरलै हुन्छन्। उहाँ वर्गविहीन, शोषणविहीन, उत्पीडनविहीन र राज्यविहीन समाजका मान्छेलाई कम्युनिस्ट भन्नुहुन्थ्यो। जसको राज्य हुँदैन, पार्टी हुँदैन। त्यसैले उहाँले पार्टी खोल्नुभएन। संगठन खोल्नुभएन। कम्युनिस्टको त पार्टी नै हुँदैन नि! पार्टी भनेको त वर्गीय दुनियाँमा विभिन्न वर्गहरुले आ–आफ्नो स्वार्थ रक्षाको लागि बनाएको हतियार न हो। जो राज्यसत्ताको पक्षपाती नै छैन, जसको समाजमा राज्यसत्ता नै हुँदैन, त्यसको केको पार्टी? सर्वहारा घोषणापत्रमा मार्क्स आफैँले लेख्नुभएको छ– कम्युनिस्टहरुले अलग्गै पार्टी बनाउन जरुरी छैन, भैरहेको मजदुर पार्टीमा समावेश भए हुन्छ।

रुपचन्द्रलाई यस्ता कुराले अवश्य पनि छोएको थियो।

स्वेच्छाले हुने संगठनप्रति उहाँ सकारात्मक हुनुहुन्थ्यो। आवश्यक परेको खण्डमा उत्पीडितहरु आफै संगठित हुन्छन् भन्नुहुन्थ्यो। अहिलेका हाम्रा दलहरुलाई हेर्नोस्! मान्छेलाई आवश्यक भएकैले त यी अस्तित्वमा छन्। वर्ग छ, त्यसैले मान्छेलाई पार्टी चाहिएको छ। मान्छेहरुलाई स्रोतसाधनमा पहुँच बढाउनु छ। नीतिनिर्माण प्रकृयामा पुग्नु छ। त्यसैले उनीहरुले पार्टी बनाएका छन्। पार्टी भएपछि नेताहरु पनि हुने नै भए, उनीहरुलाई पनि मान्छेले समर्थन गरेका छन्। उनीहरुको पनि आवश्यकता छ। यो दुनियाँ वर्गीय दुनियाँ हो नि!

तर जो अघिदेखि नै निवर्गीय छन्, यो वर्गीय दुनियाँमा निवर्गीय मान्छे कसरी चल्ने? रुपचन्द्र त निवर्गीय मान्छे हुनुहुन्थ्यो। बुझ्नुपर्ने कुरा छ।

रुपचन्द्र र नयाँ अर्थतन्त्र

म एउटा प्रसंग सुनाउँछु। उहाँको कालिमाटीमा एउटा घर थियो। म एकदिन गएँ। मैले त घरमै बस्नुहुन्छ होला भन्ठानेको थिएँ, बाहिर टहरा बनाएर बस्नुहुँदोरहेछ। घरमा त पुरै एक इन्ची बाक्लो धुलो जमेको! घरको साँचोमा समेत एकपत्र धुलो! उहाँ सधैं टहरामा बस्नुभयो। त्यो घरमा कहिल्यै बस्दै बस्नुभएन।

टहराको पनि एउटा कुनामा रिसाइकल गर्न मिल्ने थोत्रामोत्रा सामानहरु थुपारिएको थियो। जसलाई हामी कवाडी भन्छौं। त्यसबाट उहाँ नयाँ अर्थव्यवस्थाको पक्षधर हुनुहुन्थ्यो भन्ने झल्कन्छ। त्यो कहिल्यै पनि हामीले ख्याल गरेका छैनौं, आज त्यो म बताउँछु।

हामी अहिले जुन व्यवस्थामा छौं, पुँजीवादको नवीनतम् अर्थात् साम्राज्यवादको चरम अवस्थामा छौं। यो व्यवस्थामा जति धेरै उत्पादन र उपभोग गर्‍यो त्यति नै धेरै विकास भएको मानिन्छ। हाम्रो नेपालका सबै पार्टीहरु, पुरानो कांग्रेसदेखि अहिले आएको माओवादी केन्द्रसम्म सवै विकासको पक्षधर छन्। कस्तो विकास त? उही धेरै उत्पादन र धेरै उपभोगको विकास! बिजुली धेरै बनाउने, बाटो धेरै बनाउने, रेल धेरै बनाउने, सुरुङ धेरै बनाउने, सहर धेरै बनाउने! त्यो केका लागि त भन्दा उपभोगका लागि! बिहानदेखि बेलुकीसम्म भोग गरेको गर्‍यै गर्ने! त्यसो गर्न पाइयो भने विकास भयो। खुब इनर्जी खपत गर्ने। एउटा मान्छेले सैयौं किलोवाट बिजुली उपभोग गर्ने, एउटा मान्छेले दिनमा कैयौं लिटर पानी खर्च गर्ने। लुगा पनि बिहान एउटा, दिउसो अर्को, बेलुकी एउटा र राति अर्को लगाउने। त्यै हो विकास? त्यै हो राम्रो भन्या’? मोवाइल पनि हरेक दिन नयाँ फेर्न पाए हुने!

तपाईं हेर्न जानुभयो भने पुरानो मोबाइल फाल्ने ठाउँ नभएर मोबाइलकै पहाड बनेको छ। कहाँ लगेर डिस्पोज गर्ने! त्यसरी उपभोग गर्ने सीमित मान्छे छन् फेरि। झण्डै एक अरब पचास करोड मान्छेले त्यसो गरिरहेका छन्। यद्यपी मोबाइल प्रयोग गर्ने मान्छेहरुको संख्या दुई अरबको हाराहारीमा छ। संसारका चार अरब मान्छेहरुको त्यसमा कुनै भूमिकै छैन।

हरेक कुराबाट डरलाग्दो गरी वेस्ट निस्किएको छ। पृथ्वीका स्रोतहरुको निरन्तर विनास भैरहेको छ। हाम्रा ईच्छा–चाहना असीमित बन्दैछन्। यो भागदौडमा हामीले के बिर्सिसक्यौं भने, पृथ्वीका स्रोतहरु सीमित छन्। तैपनि हामी विकासको नाममा विनासको बाटो हिंडिरहेका छौं। यो कुरा बुझ्नुपर्ने छ।

रुपचन्द्रलाई यो कुरा थाहा थियो। नत्र कवाडीका सामानहरु किन बटुल्नपर्थ्यो? किन रिसाइकल गर्नुपर्थ्यो? उहाँलाई पैसाले नपुग्ने पनि थिएन। तर उहाँ जान्नुहुन्थ्योे, भलै हाम्रा इच्छा–चाहना असीमित होलान्, मान्छेका आवश्यकता सीमिति छन्। उहाँलाई ओभर–कन्जम्सनले निम्त्याउँदै गरेको संकटबारे राम्रो चेत थियो। यो महाउपभोगवादले संसारलाई कुन संकटतिर डोर्‍याउँदैछ, त्यसको हेक्का थियो। नेपालका राजनीतिज्ञहरु वा यहाँका विचारकहरुमध्ये बहुत थोरैले मात्रै यो संकटको ख्याल राखेका होलान्।

अझ सजिलो गरि बुझाऊँ!

अहिलेका हाम्रा नेताहरु– चाहे राजनितिक, चाहे सामाजिक, आर्थिक वा धार्मिक– उनीहरुको जुन किसिमको लाइफस्टाइल छ, अथवा युरोप अमेरिकाका मान्छेहरुको जस्तो लाइफस्टाइल छ, त्यस्तै लाइफस्टाइल संसारका सबै मान्छेहरुले अपनाउने हो भने हामीलाई साढे चारवटा पृथ्वी चाहिन्छ। यो सोच्नुपर्ने कुरा होइन? आधा पृथ्वी त हामीले भोग गरिसक्यौं। आधा वनजंगल त नासिसक्यौं। यो बाटो गएर कहाँ पुगिन्छ?

रुपचन्द्र यसबारे सचेत थिए।

मान्छेहरु रुपचन्द्रले हकार्थे, गाली गर्थे भन्छन्! मान्छे दशचोटी भन्दा पनि कुरो बुझ्दैन, के गर्ने त!

रुपचन्द्रले बहुदल स्विकारेनन्!

मैले अघि नै भनें, रुपचन्द्र कम्युनिस्ट हुनुहुन्थ्यो। साम्यवादी हुनुहुन्थ्यो। निर्वर्गीय हुनुहुन्थ्यो। अथवा त्यसलाई यसरी भनौं, उहाँ जोगी हुनुहुन्थ्यो वा भनौं योगी हुनुहुन्थ्यो। कम्युनिस्ट पनि एक अर्थमा योगी नै त हो। मुक्त मान्छे। म भावबाट मुक्त। तेरो मेरोबाट मुक्त। सम्पत्ति, पद र प्रतिष्ठाको अहंकारबाट मुक्त। शासन–शोषण र उत्पीडनबाट मुक्त। रुपचन्द्र त्यस्तो हुनुहुन्थ्यो। यो अभ्यास आजै, अहिल्यै, यहीँ सुरु गरौं भन्नुहुन्थ्यो।

जसले कहिल्यै शासन पनि गरेन, शोषण पनि गरेन। जसले कहिल्यै न सम्पत्तिको अंहकार गर्‍यो न कहिल्यै शक्तिको अहंकार देखायो। जो पहिल्यै साम्यवादी अभ्यासमा छ। रुपचन्द्रको चिन्तनको जुन धरातल थियो, त्यहाँ पुगेको मान्छेका लागि केको लोकतन्त्र, केको प्रजातन्त्र! केको निर्दल, केको बहुदल! उहाँले त भनिदिनुभयो, बहुदल भनेको बहुलाहा व्यवस्था हो। निर्दल भनेको निर्दयी व्यवस्था हो। 

तपाईं नै भन्नुस्, तपाईं यो व्यवस्थालाई कसरी समर्थन गर्न सक्नुहुन्छ? तपाईंले भोट हालेको व्यक्ति तपाईंको प्रतिनिधि हुन्छ? एक लाख मान्छेले भोट हालेका हुन्छन्। एउटा व्यक्तिले एक लाख मानिसको प्रतिनिधित्व कसरी गर्न सक्छ? ढाँट कुरा गर्ने? फटाहा कुरा गर्ने? एक लाख मान्छेका अनगिन्ति चिन्तन छन् विचार छन्, सोच छन्। कुनै–कुनै कुरा मिल्ला! तर कुनै एक व्यक्तिले एक लाख मानिसको कसरी प्रतिनिधित्व गर्न सक्छ?

यो व्यवस्था फटाहाहरुको व्यवस्था हो। यो बुझ्न गाह्रो छैन। पुँजीवादी व्यवस्थाको जम्मा दुईवटा विधि छ। एउटा, तपाईंको पैसा लिएर तपाईंलाई नोकर बनाउने। अर्को, तपाईंको भोट लिएर तपाईंलाई नोकर बनाउने।

तपाईंको पैसा बैंकमा थुपारेको छ। तपाईँहरुकै पैसाले फ्याक्ट्री खुल्छ, के–के खुल्छ। त्यसमा तपाईं काम गर्नुहुन्छ, जोतिनुहुन्छ। तपाईं पुँजीपतिहरुको साधन बन्न पुग्नुहुन्छ, चारा बन्न पुग्नुहुन्छ। तपाईं, तपाईंको छोरा नाती सबैलाई घान हालिएको छ। मेहनत एउटाले गर्छ, फाइदा अर्कैले लिन्छ।

तपाईं कसरी सपोर्ट गर्नुहुन्छ यो व्यवस्थालाई?

मान्छेहरु रुपचन्द्रले बहुदल आउँदै गर्दाको स्वर्णिम समयलाई चिन्दै चिनेन भन्छन्। उहाँले राम्ररी चिन्नुभएको थियो। नेपालमा बहुदल नआउँदै देखिसक्नुभएको थियो। भारतमा देख्नुभएको थियो, अरु देशमा देख्नुभएको थियो। यहाँको हालत के हुनेवाला छ, उहाँलाई पहिल्यै थाहा थियो।

तपाईं त्यस्तो व्यवस्थाको समर्थन गर्न सक्नुहुन्छ, जहाँ ६२ जनाको हातमा संसारको आधाभन्दा ज्यादा सम्पत्ति थुप्रिएको छ! जहाँ चार अरब मान्छेको घरबार छैन! जहाँ दुई अरब मान्छेले खानेपानी पाउँदैन! जहाँ असी करोड मान्छे हरेक रात भोकै सुत्छन्! तपाईं त्यो व्यवस्थाको समर्थन गर्नुहुन्छ?

मेरो डाटा होइन यो। वर्ल्ड बैंककै डाटा हो यो। आइएमएफकै डाटा हो। तपाईं त्यस्तो व्यवस्थाको समर्थन गर्ने! जसले संसारलाई ध्वंसको कगारमा पुर्‍याएको छ, सिंगो मानव सभ्यता नै रहने कि नरहने भन्ने स्थितिमा पुगेको छ, तपाईं कसरी समर्थन गर्न सक्नुहुन्छ! हो, अघिल्लो शासन व्यवस्थाको तुलनामा यो अलिक सहजचाहिँ छ है। करौंतिको सट्टा छुरीले रेट्ने भएकाले मर्न अलि सजिलो छ। मर्न सजिलो भएको अर्थमा तपाईं यसलाई समर्थन गर्नचाहिँ सक्नुहुन्छ।

भारत स्वतन्त्र हुँदा कवि फैज अहमद फैजले भनेका थिए– ‘यो बिहान, मैले भनेको सुनौलो बिहान होइन।’

हामीले त मुक्ति खोजेका थियौं। शासनबाट मुक्ति, शोषणबाट मुक्ति, उत्पीडनबाट मुक्ति! तर खै त्यो? सेता गए काला आए। के को सुनौलो बिहान!

बहुदल कसका लागि स्वर्णिम?

यहाँका साहुहरुका लागि यो व्यवस्था स्वर्णिम व्यवस्था हो। उत्तम व्यवस्था हो। विश्वका वा नेपालका साहुहरुका लागि यो भन्दा उत्तम व्यवस्था अर्को छँदै छैन। सर्वसमावेशी, समानुपातिक र सहभागितामूलक संघीय व्यवस्था! आफू–आफूबीचको झगडा कम गराउने र विकासको नाममा लुट शोषण कायम राख्ने। हिजो अर्कै तरिका थियो, यो अर्कै तरिका हो। यो साहुहरुको व्यवस्था हो।

आहा, सुशासन!

के हो सुशासन? मजदुरले राम्रोसँग मजदुरी गरोस्, प्रश्न नगरोस्। कामदारले राम्रोसँग काम गरोस्, प्रश्न नगरोस्। पत्रकारले राम्रो–राम्रो लेखोस्, व्यवस्थाको खण्डन नगरोस्। स्वतन्त्र चिन्तन–मनन् नगरोस्। अरे! यो त फर्स्ट क्लास व्यवस्था छ। साहुजीहरुका लागि काइदा छ।

व्यवस्था कसको लागि नराम्रो छ त? श्रमजीविहरुको निम्ति राम्रो छैन। शासितहरुको लागि राम्रो छैन। उत्पीडितहरुको लागि राम्रो छैन। यो व्यवस्था सिंगो मानव सभ्यताको निम्ति राम्रो छैन। रुपचन्द्रले बहुलाहाहरुको व्यवस्था त्यसै भन्नुभएको हैन।

उहाँले खोजेको त अरु नै व्यवस्था थियो। जहाँ राज्यै हुँदैन। पार्टी नै हुँदैन। अनि उहाँले बहुदल मान्ने कुरा हुन्छ! फटाहा कुरा गर्ने! मेरो प्रतिनिधित्व अर्कोले गरिदिएर हुन्छ? हो, केही समयको लागि यो विषयमा मेरो प्रतिनिधि तँ भइस् भन्न सकिएला। तर पाँच वर्षलाई चुनिएपछि तोकिएको काम पनि गर्न नपर्ने, जे–जे मन लाग्यो त्यै गर्दै हिँड्ने, अनि फिर्ता बोलाउन पनि नपाइने! यही हो उत्तम व्यवस्था? यहि हो स्वर्णिम व्यवस्था?

त्यसैले रुपचन्द्रले भन्नुभयो– यो साहुहरुका लागि उत्तम छ, गरिवहरुका लागि छैन। शासकका लागि उत्तम छ, शासितका लागि छैन। तपाईँ जसलाई भोट हाल्नुहुन्छ त्यसले तपाईंको काम कहिल्यै पनि गर्दैन। अहँ, गर्दै गर्दैन। अमेरिकामै हेर्नोस्, मान्छेहरु भोट हालेको हाल्यै छन्। त्यहाँका दुई करोड मान्छे आज गाडीमै सुत्छन्, या पुलमुनी सुत्छन्, या बाटैमा सुत्छन्– भोट त हाल्या–हाल्यै छन्! सबैका घर छ, तर घरमा बस्ने समय छैन, भोट त हाल्या–हाल्यै छन्। दुई करोड मान्छे अक्षर चिन्दैनन् , भोट त हाल्या–हाल्यै छन्। उनीहरुकै डाटा हो यो, मैले बनाएको होइन।

पचास वर्षअघि एउटा अमेरिकनले आठ घण्टा काम गर्दा परिवार पाल्न सक्थ्यो। अहिले लोग्ने–स्वास्नी गरि १६ घण्टा काम गर्छन्, तैपनि मुस्किल छ। ऋण पनि तिर्न सक्दैनन्। सुविधा छ, नभएको होइन। गाडी छ, घर छ, टीभी छ, सबैथोक छ। तर त्यो बैंकको नाममा छ। हरेक कुरा किस्ताबन्दीमा छ। बल्लबल्ल किस्ता तिर्‍यो, अनि आफू पनि मर्‍यो। मिडिल क्लासको हालत त्यस्तो छ। त्यस्तो बनाइएको छ। रुपचन्द्रले कसरी समर्थन गर्नुहुन्छ? होसमा हुँदा त कुरै छाड्दिनुस्, निन्द्रामा पनि गर्नुहुन्न। रक्सी खाएको बेलामा समेत समर्थन गर्ने प्रश्नै उठ्दैन।

बहुदल आँउदा उहाँले पञ्चायतकै समर्थन गरेर बसेको हो र! होइन नि। पञ्चायतलाई त उहाँले अघेरै, निर्दयी व्यवस्था भनिसक्नुभएको छ। ४६ सालको चेञ्जलाई अन्य कतिपय वामपन्थीहरुले पनि रुचाएनन्। तर अहिले आएर हेर्दा पुँजीवादी व्यवस्थालाई लेफ्टहरुले पनि एक हदसम्म मानेको देखिन्छ। तर रुपचन्द्रको त्यस्तो थिएन। अहिल्यै नै अर्को व्यवस्था बनाउन सकिन्छ भन्ने उहाँलाई लाग्थ्यो। बारम्बार भन्नुहुन्थ्यो– अविद्या र अज्ञानले हामीलाई छेकेको छ।

रुपचन्द्र एक अथक क्रान्तिकारी

विद्रोही नभई क्रान्तिकारी बन्न सकिँदैन। कसैले आफूलाई लागेको बेठिकको, आफूलाई लागेको गलत वा नराम्रोविरुद्ध जबसम्म असहमति जनाउँदैन, त्यो त उसैको सहभागी भैहाल्यो नि! गलतकै सहयात्री भैहाल्यो नि! जिउँदो मान्छे हो भने त्यसको कुन न कुनै ढंगले विरोध गर्नुपर्दैन? त्यसको राम्रो उदाहरणको रुपमा रुपचन्द्रलाई लिन सकिन्छ। उहाँ आफ्नो ब्रम्हले ठिक देखेको कुराको पक्षमा र बेठिकको विपक्षमा  सटिक ढंगले निर्भिकताका साथ बोल्नुहुन्थ्यो। चाहिएजति खस्रो ढंगले बोल्नुहुन्थ्यो।

उहाँ जननेता त हुँदै हो, विद्रोही त हुँदै हो, क्रान्तिकारी पनि हुनुहुन्थ्यो। उहाँको विरोध एउटा श्रृंखलामा थियो। तपाईं एउटा घटनाविशेषमा विद्रोह गर्न सक्नुहुन्छ। मन लागेको केटी बिहे गर्न पाइएन भनेर बासँग विद्रोह गर्न सक्नुहुन्छ। म टिका लगाउँदिन भन्नसम्म सक्नुहोला। त्यो एउटा घटनाविशेषको विद्रोह भयो। रुपचन्द्रले त जीवनभर श्रृंखलावद्ध ढंगले गलतको विरुद्ध विद्रोह गरिरहनुभयो। सारा संसारभर कम्युनिस्ट आन्दोलनको लहर उठेको बेला ‘सेना र नोकरशाहीतन्त्र बोकेर साम्यवाद आउनेवाला छैन’ भन्नु चानचुने कुरा हो र! यो बहुतै गम्भीर कुरा छ।

आज हेर्नोस्, हाम्रो आँखाअगाडि कैयौं अत्याचार भैरहेको छ, तर हामी केही नभएजसरी बसिराखेका छौं। ब्राजिलपछि जलस्रोतमा दोस्रो धनी देश हाम्रो। हामी ट्यांकरमा पानी किनेर खाइरहेका छौं। बोतलको पानी खाइरहेका छौं। तैपनि चुपो लागेर बस्छौं। मानौं, सब गजब छ। काइदा छ। अहिले हाम्रो पूर्व–पश्चिम रेल कुँदाउने कुरा छ। पोखरा–काठ्माडौं रेल दौडाउने कुरा छ। त्यो पनि चाहिएको छ, चाँहिँदैन भनेको होइन। तर पहिले पानी महत्वपूर्ण कि रेल? प्राथमिकता के हो?

तपाईं क्युवामा जानूस्, त्यहाँ त्यत्रो चौडा बाटो पनि छैन। गाडी पनि ५० वर्ष पुरानो गुडिरहेको छ। तर त्यो त्यस्तो देश हो, जहाँ बालमृत्यु दर संसारभरकै न्यून छ। त्यस्तो देश जहाँका मान्छे विषादि हालेको तरकारी खाँदैनन्। जहाँ निःशुल्क स्वास्थ्य र शिक्षाको व्यवस्था छ। खेतीपाती पनि हातैले गर्छन्, ट्रयाक्टरको प्रयोग अन्यन्तै न्यून छ। रेल पनि नयाँ छैन विचराहरुसँग!

तर हामी क्युवासँग सिक्ने कुरा गर्दैनौं। हामी त चीनसँग सिक्ने कुरा गर्छौं। हङकङसँग सिक्ने कुरा गर्छौं। दक्षिण कोरियासँग सिक्ने कुरा गर्छौं। हामीलाई चाहिएको के हो? हाम्रो प्राथमिकता के हो? हाम्रो क्रान्ति मान्छेप्रति नभई चिजविजप्रति ढल्किएको छ। रुपचन्द्र चिजविजका पुजारी थिएनन्। चिजविजपट्टिको होइन, मान्छेपट्टिका क्रान्तिकारी हुन् रुपचन्द्र!

मान्छे जगाउने प्रयास

रुपचन्द्रसँग उहाँको पछिल्लो समयमा भेटघाट बाक्लियो मेरो। त्यसअघि म आफ्नै काममा थिएँ, उहाँ आफ्नै काममा हुनुहुन्थ्यो। काम भने एउटै थियो– मान्छे जगाउने काम। नेपाली श्रमजीवि जनतामाथि शोषण भैरहेको छ, उनीहरुलाई त्यहाँबाट मुक्त गर्न उनीहरुलाई जगाउनुपर्छ भन्ने हाम्रो विचार थियो। रुपचन्द्रसँग त्यसमा कुरा मिल्थ्यो।

तपाईंलाई बन्धन छ भने मेरो बन्धन फुकालेर त भएन! तपाईंकै बन्धन फुकाउन पर्‍यो नि! सहयोगसम्म हामीले गर्न सकौंला। रुपचन्द्रले भन्ने गरेको ‘छाप्रेको राजनीति’ त्यही हो। मुक्ति चाहिएको भए उनीहरु आफै जाग्नुपर्‍यो नि! म मुक्तिदाता हो र! रुपचन्द्र मुक्तिदाता हो र! हामी त यसो सहयोगीसम्म न हो। पिँधका मान्छेलाई जगाउने प्रयत्नसम्म न गरेका हौं।

पछि हामी शसस्त्र संघर्षको तयारी गर्न थाल्यौं। उहाँ त्यतापट्टिको बाटो लाग्नुभएन। गर्न खोजेको कुरा भने उस्तै थियो– शोषणरहित समाज बनाउने। तर आन्दोलनमार्फत हामीले धेरै गर्न सक्यौं भन्ने भएन। श्रमजीविलाई जगाउने आन्दोलन अपेक्षित गतिमा अघि बढ्न सकेन। रुपचन्द्रको आन्दोलन पनि त्यस्तै अवस्थाबाट गयो। सोभियत संघको विघटन र माओको निधनपछि चीनले समातेको बाटोबारे समीक्षा गर्न बाध्य भयौं। रुपचन्द्रले यसमा हामीलाई मद्दतै गर्नुभयो भनौं।

सेना बोकेर साम्यवाद!

त्यहाँनेर उहाँले भनेको कुरा म सम्झन्छु।

‘सेना साथमा लिएर र नोकरशाही संयन्त्र बोकेर साम्यवादमा पुगिँदैन।’

उहाँले यही भन्नुभएको थियो। सेनाजस्तो फाँसिस्ट संयन्त्र, जो आदेशको भरमा काम गर्छ। जसले कहिल्यै आफै सोच्दैन। जहाँ विवेकको कुनै मूल्य छैन। त्यस्तो संयन्त्र बोकेर कसरी साम्यवादमा पुगिन्छ? माथिकोले जे आदेश दिन्छ, सेनाले त्यो पालना गर्छ। यो कुरा ठिक–साँचो हो। हिजो सोभियत संघमै त्यो हुन्थ्यो, केन्द्रीय समितिमा जसको बहुमत छ, सेनाले त्यसैको कुरा सुन्थ्यो– अर्को पक्षलाई सिध्याउँथ्यो। चीनमा पनि त्यहि भयो। माओ छउञ्जेल माओको कुरा सुन्थ्यो, पछि अर्को आयो त्यसको सुन्न थाल्यो। सेनाले निशाना कहाँ लगाउने भन्नेमा विवेक गर्न सक्छ, तर त्यहाँ किन निशाना लगाउने भनेर विवेक गर्दैन। माथिको आदेश पाए पुग्यो। सेना भनेको त्यही होइन? दायाँ फर्क भन्दा दायाँ फर्कन्छ, बायाँ फर्क भन्दा बायाँ फर्कन्छ। तर किन फर्कने? बायाँ नफर्किंदा के हुन्छ? त्यो सोध्ने चलन सेनामा हुँदैन।

रुपचन्द्र यसमा प्रष्ट हुनुहुन्थ्यो। रुपचन्द्रले सिकाउने पनि त्यै हो। कसैले दाहिने फर्की भन्दा दाहिने किन फर्किने? कमारो हो तिमी? दास हो तिमी? दाहिने फर्की भन्दा देब्रे फर्किए के हुन्छ? त्यस्तो प्रश्न गर्न सिकाउने मान्छे हुन् रुपचन्द्र। नोकरशाहीको कुरामा पनि त्यहि हो। जहाँ राज्यसत्ता नै छैन, प्रशासनै चलाउन पर्दैन, जहाँ सबै कुरा स्वचालित ढंगले चल्छ, त्यहाँ के को नोकरशाही! मान्छेहरु सल्लाह गर्छन् , मिलेर बस्छन्, आफ्नो शासन आफै चलाउँछन्।

महाभारतमा ‘राज्य धर्मले चल्छ’ भनिएको छ। भिष्मले भन्नुभएको छ,

न राज्यं न राजाऽसीन्न दण्डयो न च दाण्डिकः

धर्मेणैव प्रजास्सर्वा रक्षन्ति स्म परस्परम् ।।

राज्य पनि छैन, राजा पनि छैन। त्यहाँ के को सिपाही चाहियो, के को नोकरशाही चाहियो!

रुपचन्द्र साम्यवादी कम्युनिस्ट हुनुहुन्थ्यो। तर मार्क्सीय कम्युनिष्टको फरक के हो भने यो केही समयको लागि हो भन्ने छ। मार्क्स स्वयंले पनि वर्गीय दुनियाँ सदियौं रहन्छ भनेजस्तो मलाई लाग्दैन। मार्क्स पनि साम्यवादी क्रान्तिकै मान्छे हुन्। लेनिन पनि साम्यवादी क्रान्तिकै मान्छे हुन्।

यो तेस्रो विश्वमा आइसकेपछि गडबड मच्चिन्छ यहाँ। किनभने मार्क्सले वैज्ञानिक समाजवादको कुरा गरेका छन्। त्यो पनि केही समयको लागि मात्र समाजवादमा जानुपर्छ भन्ने छ। वैज्ञानीक समाजवाद संक्रमणकालको व्यवस्थापन गर्नको लागिमात्र हो भनेका छन्। त्यो चरणलाई उनले ‘साम्यवादकै पहिलो हिस्सा’ भनेका छन्। राज्यसत्ता कत्रो हुने, अधिकार कत्रो हुने आदिको व्यवस्थापनको लागि समय त लाग्छ नि! यो गहिरो कुरा छ।

राज्यकै कुरा गर्ने हो भने राज्य त सबै अधिनायकवादी हुन्। जतिसुकै प्रजातान्त्रिक भनिए पनि ति सवै अधिनायकवादी नै हुन्। के को डेमोक्रेसी! फ्याक्ट्रीमा कहीँ डेमोक्रेसी देख्नुभएको छ? कर्मचारीतन्त्रमा डेमोक्रेसी देख्नुभएको छ? खाली राजनीतिमा डेमोक्रेसीको कुरा छ। सम्पत्तिमा वा नाफामा कहीँ डेमोक्रेसी देख्नुभएको छ? तैपनि हामी आनन्दसँग स्वीकार गरिहरेका छौं। लोकतन्त्र छ भन्या‘छौं, बस्या’छौं। यदि यो डेमोक्रेसी हो भने सबै ठाउँमा हुनुपर्‍यो नि! रुपचन्द्रले उठाएको कुरा त्यही थियो।

रुसकै कुरा गर्ने हो भने त्यहाँ विभिन्न परिस्थिति आइलाग्यो, उनीहरु साम्यवादमा जान सकेनन्। निजी सम्पत्ति गएन, परिवार गएन, राज्यै गएन। राज्य लोप भएर जान्छ भनिएको हो, तर त्यो भएन। निवर्गीय समाज बनाउने भनिएको हो, त्यो गर्न सकिएन। तर रुपचन्द्रले त बकाइदा त्यो अभ्यास गर्नुभयो। निवर्गीय भएर रहनुभयो। त्यसको अर्थ छ। मज्जाको कुरा छ यहाँ!

तपाईं दिनको ८ घण्टा निवर्गीय बन्नुहुन्छ, कम्युनिस्ट बन्नुहुन्छ। किनकि तपाईं सुत्नुहुन्छ। त्यतिखेर न तपाईं माओवादी रहनुहुन्छ, न कांग्रेस वा एमाले रहनुहुन्छ। शासन–शोषणको त त्यहाँ सवालै भएन। तर जब तपाईं होसमा हुनुहुन्छ, तब?

तपाईं खेलकुद–कसरतमा हुनुहुन्छ, त्यतिखेर पनि तपाईं कम्युनिस्ट नै हुनुहुन्छ। जब तपाईं संगीत सुन्नुहुन्छ, मनोरञ्जन गर्दै हुनुहुन्छ, हिमाल हेर्दै हुनुहन्छ अथवा झरीको आवाज सुन्दै हुनुहन्छ, तपाईं शासन–शोषणबाट मुक्त हुनुहुन्छ। मान्छेको जीवनमा यी सबै कुराहरु हुन्छन् नि, हुँदैन? ती कुरा नभई त मान्छे टिक्नै सक्दैन। मान्छेले के बुझ्दैन भने कम्युनिस्ट भनेको एकदम अलौकिक, भयंकर भन्ठान्छ। त्यस्तो कुरा केही हुँदै होइन। सामान्य कुरा हो कम्युनिस्ट हुने भनेको। शासन–शोषण–उत्पीडनको हिस्सा नहुने– त्यसैमा आनन्द छ भन्या न हो। यै कुरा नबुझेर मान्छेले दुःख पाइराखेको छ।

निदाएको अवस्था र मनोरञ्जनको अवस्था, यत्ति दुई अवस्थामा हामी कम्युनिस्ट हुने हो भने बाँकी जम्मा ८ घण्टा रहन्छ। जहाँ हामी वर्गीय दुनियाँमा हुन्छौं। त्यहाँ हामीले हाकिमको कुरा सुन्नुपर्ने हुन्छ वा हाकिम भएर अह्राउनुपर्ने हुन्छ। तर त्यहाँ पनि त हामीले शासन–शोषण कम गर्न प्रयत्न गर्न सक्छौं। सक्दैनौं? घरमै पनि तपाईं अलिकति वातावरण फेर्न सक्नुहुन्छ। बच्चाहरुलाई फ्रि गर्न सक्नुहुन्छ। सहयोगी बन्दिन सक्नुहुन्छ। सिंगो समाजमा यो कुरा लागू गर्न सकिन्छ।

शासन–शोषण नगर्ने न भन्या हो। ल आफूले त गरेन रे! तर अरुले कतै गलत गरिराखेको छ भने विरोध गर्नुपर्छ कि पर्दैन! तपाईंलाई कहीँ गलत भैरहेको जस्तो लाग्छ भने तपाईंले कैयौं तरिकाले विरोध गर्न सक्नुहुन्छ। थाहा छ तपाईंलाई, हामीले नमान्दिए यहाँ के हुन्छ! तपाईंले कुनै साहुको सामान किन्दिनुभएन भने भोलि उसको दोकान बन्द हुन्छ। कुनै टेलिफोनको सेवा प्रयोग गर्दिनुभएन भने भोलि त्यो बन्द हुन्छ। तपाईंको हातमा त्यो हक छ। कुनै कम्पनीको बस चढ्न बन्द गर्न सक्नुहुन्छ। तपाईं एउटा पसल बहिस्कार गर्न सक्नुहुन्छ, तपाईं एउटा पार्टी बहिस्कार गर्न सक्नुहुन्छ। त्यति धेरै ताकत छ तपाईंसँग। कुनै सुदुर भविष्यको कुरै होइन, आजको कुरा हो।

तपाईंलाई त्यसो गर्न मन छ? छैन।

श्रीमतीसँग साम्यवादी हुन तपाईंलाई कसले रोकेको छ! आजबाट घरमा श्रीमतीप्रतिको थिचोमिचो सबै बन्द। अह्राईपराई बन्द। उसलाई जोताउने काम अब बन्द। एक कप चिया बना त, भन्ने काम बन्द! त्यसो गर्न सक्नुहुन्छ? प्रेम त फेरि सकेसम्मकै गरे हुन्छ। सद्भाव जत्ति राखे हुन्छ। एक कप चिया आफै बनाएर दिए हुन्छ, किन हुँदैन? दिनभरि काम गर्नुभएको होला, थाक्नुभा’होला, तर केही फरक पर्दैन। त्यति गर्न सकिन्छ नि! आफ्टर अल, यु लभ हर भेरी मच्! छिमेकीप्रति मुसुक्क हाँस्दा हुन्छ ए! के बिग्रन्छ? पैसा दिनुपर्ने हो र! बुद्धि, विवेक, मन, हृदय, भावना...दिन मिल्ने कुरा धेरै छन् नि!

भलै यो पर्याप्त छैन। तर सुरु गर्न सकिन्छ। यो व्यवस्था कुनै अलौकिक व्यवस्थै होइन। म जुन व्यवस्थाको कुरा गर्दैछु, त्यहाँ के अनावृष्टि हुँदैन? खडेरी पर्दैन? पोहोरकोजस्तो भुईंचालो आउँदैन? सुनामी आउँदैन? आउँछ नि! त्यहाँ पनि सबै कुरा हुन्छ। सुख हुन्छ, दुःख हुन्छ। शासन र शोषण नगरौं भन्ने कुरासम्म न हो। अस्सलमा कुरै यत्ति हो।

त्यसैले रुपचन्द्र कहाँनेर फरक थिए, त्यो जान्नुपर्छ। रुपचन्द्रले न कहिल्यै शासन गरे न कहिल्यै शोषण गरे। त्यो महत्वपूर्ण कुरा छ! अहिल्यै गर्न नसकिने कुरा के छ? साम्यवाद अरु कसैले ल्याइदिने हो र? हामीले नै अभ्यास गर्ने कुरा हो। शासन–शोषणरहित समाज अरुले ल्याइदिने कुरा हो र? हामीले नै गर्ने कुरा हो। अहिले यो वर्गीय दुनियाँ छ, वर्गीय दुनियाँमा निवर्गीय अभ्यास गर्न सकिन्छ कि सकिँदैन, त्यो अर्कै सवाल हो। तर कति सकिन्छ त्यति त गर्नुपर्‍यो नि! रुपचन्द्रले एउटा म्यासेज दिन खोज्नुभएको थियो, त्यो म्यासेज मान्छेले बुझेजस्तो मलाई लाग्दैन।

 

(२०७३ पुस २६ गते पहिलोपटक प्रकाशित सामग्री सम्पादनसहित पुन: प्रकाशित : सम्पादक)

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.