काठमाडाैं : पूर्व राष्ट्रपति रामवरण यादवले राजनीतिक नेतृत्वमा दीर्घकालीन सोच र दृष्टिकोण नभएको बताए।
गिरिजाप्रसाद कोइराला फाउण्डेशनले आइतबार राजधानीमा गरेको कार्यक्रमलाई सम्बोधन गर्दै पूर्व राष्ट्रपति यादवले स्वर्गीय गिरिजाप्रसाद कोइरालामा जस्तो अहिलेका नेतामा मुलुक बनाउने दृष्टिकोण नभएको बताए।
तात्कालीन सशस्त्र द्बन्द्बको अन्त्यसँगै शान्ति प्रक्रिया र लोकतान्त्रिक गणतन्त्र स्थापना गर्ने सवालमा स्व. कोइरालाले स्पष्ट दृष्टिकोण राखेकाले स्वदेशी र छिमेकी राष्ट्रको पनि साथ र सहयोग प्राप्त भएको भन्दै उनले वर्तमान नेतामा भने ‘भिजन’ नै स्पष्ट नभएको टिप्पणी गरे। उनले भने, 'अहिलेका नेताहरूमा न हृदय छ। न भिजन छ। होराइजन नै सानो देखिएको छ।'
पूर्व राष्ट्रपति यादवले शान्ति प्रक्रिया, गणतन्त्र स्थापना, राष्ट्रियता र प्रजातन्त्रमा स्व. कोइरालाको योगदान अतुलनीय रहेको बताए। कार्यक्रममा नेपाली कांग्रेसका महामन्त्री शशांक कोइरालाले राजनीतिक विकासक्रम सँगै विकास निर्माण, मेडिकल कलेजको विस्तार तथा समग्र शिक्षा प्रणालीमा गिरिजाको योगदान महत्वपूर्ण रहेको बताए।
कार्यक्रममा नेताहरू शेखर कोइराला, डाक्टर रामशरण महत, सुजाता कोइराला लगायतले स्व. कोइरालाको योगदानको चर्चा गरे।
तपाईंको ईमेल गोप्य राखिनेछ ।