ओलीले भने : देउवा र पौडेल ४५ वर्षदेखिका साथी हुन्, लोकतन्त्रप्रति मेरो निष्ठा दुवैलाई थाहा छ

|

काठमाडौं : नेपाली कांग्रेसले दशैं, दिपावली तथा छठ र नेपाल संवतको अवसरमा आयोजना गरेको चियापान कार्यक्रमले राजनीतिक दलहरूमा आपसी सम्बन्ध थप मजबुद बनाएको नेताहरूले बताएका छन्।

सरकारको नेतृत्व गरिरहेका प्रधानमन्त्री केपी शर्मा ओली, नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलगायत नेताहरूले प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको चियापान कार्यक्रमले राजनीतिक दलहरूलाई थप नजिक ल्याउन भूमिका खेलेको बताए।

नेपाली कांग्रेसले आइतबार सानेपास्थित पार्टी कार्यालयमा चियापान समारोह आयोजना गरेको थियो। झन्डै पाँच घण्टा चलेको चियापान कार्यक्रममा सबै राजनीतिक दलका शीर्ष नेताहरूसहित हजारौँले सहभागिता जनाएका थिए।

कांग्रेसको चियापान कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले सांस्कृतिक परम्पराहरूले समाजमा अनुशासन कायम राख्दै सबैको सम्मान र सत्यको जीतको सन्देश बोकेकाले राम्रा कुरालाई निरन्तरता दिनुपर्ने बताएका थिए। विजया दशमी, दिपावली तथा छठको शुभकामना दिदै प्रधानमन्त्री ओलीले संस्कृतिका नाममा विद्यमान गलत परम्परालाई परित्याग गर्दै राम्रा कुरालाई अंगाल्नुपर्ने बताएका थिए।

ओलीले समाजको सुसम्बन्ध र सुव्यवस्था बनाई राख्न तथा सत्यको जीत र असत्य पराजीत हुन्छ भन्ने सन्देश हाम्रा परम्परा र संस्कृतिले दिने गरेको भन्दै उनले राम्रा कुरालाई निरन्तरता दिने अभ्यासमा जुट्नुपर्ने बताएका थिए।

कांग्रेस सभापति शेरबहादुर देउवा र नेता रामचन्द्र पौडेल ४५ वर्ष देखि आफ्ना साथी भएको स्मरण गर्दै ओलीले आफ्नो लोकतन्त्रप्रतिको निष्ठाबारे दुवै नेता राम्रोसँग जानकार रहेको बताए। ‘शेरबहादुर देउवा, रामचन्द्र पौडेल मेरा ४५ वर्ष देखिका साथी हुनुहुन्छ। उहाँहरूलाई लोकतन्त्रप्रतिको मेरो निष्ठा राम्रैसँग थाहा छ। त्यो निष्ठालाई म तलमाथी हुन दिन्न’, ओलीले भने।

प्रधानमन्त्री ओलीले दशैंलगायतका चाडपर्वले नेपालीको संस्कृतिलाई जीवन्त राख्ने मात्र नभई आपसी सम्बन्धलाई पनि बलियो बनाउने बताए। ‘यस प्रकारका चाड र शुभकामनाका कार्यक्रमले राजनीतिक दल बीचको कटुतालाई पनि अन्त्य गर्छन्’, ओलीले भने, ‘तर अहिले त हामीमा कटुता हैन मित्रता छ। यस कार्यक्रमले हाम्रो मित्रतालाई थप बलियो बनाएको महसुस मैले गरेको छु।‘

सरकारको लोकतन्त्र प्रतिको निष्ठामा कांग्रेसले प्रश्न उठाएको छ नि भन्ने जिज्ञासामा ‌ओलीले भने, ‘शुभकामना आदानप्रदानका बेला धुलो चकमक लगाउने काम नगरौँ।’

चियापान आयोजक पार्टी नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले चिनियाँ राष्ट्रपति सी जिनपिङको भ्रमणलाई कांग्रेसले स्वागत गरेको बताए। उनले भ्रमणले दुई देशबीचको सम्बन्धलाई थप घनिष्ट बनाउने विश्वास आफुले लिएको बताए। उनले राष्ट्रपति सीले आफूलाई चिन भ्रमणको निम्तो दिएको र आफुले ‘मिलाएर आउँछु’ भनेको पनि जानकारी गराएका थिए।

नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेपाली कांग्रेसले स्थापित गरेको चियापान कार्यक्रम राष्ट्रिय राजनीतिक संस्कृति जसरी स्थापित भएको बताए। उनले परिर्वतनको सहयात्रीहरूको बीचको शुभकामनाको रूपमा आफूले चियापान कार्यक्रमलाई लिएको र सहयात्रीकै बीचमा आएको अनुभव आफूले गरेको बताए। उनले भने, ‘नेपाली कांग्रेसको यो शुभकामना आदान प्रदान कार्यक्रममा आउँदा मलाई सहयात्रीहरूकै बीचमा आएको महसुस हुन्छ। तपाईहरूसँग आउँदा सहयात्रीहरूसँगकै भेटघाटमा आएको महसुस हुन्छ। हेर्दै जाऊ आउने दिनमा राजनीतिले कसरी कोल्टो फेर्दै जान्छ। मलाई विश्वास छ हाम्रो सहयात्रा जारी रहने छ। हाम्रो एकता र शान्ति प्रतिको संकल्प जारी रहनेछ। सहयात्रीकै रूपमा हामी निरन्तर अघि बढीरहन्छौँ।‘

दुई तिहाईको सरकार छ कस्तो सहयात्राको कुरा हो भन्ने संचारकर्मीको प्रश्नमा प्रचण्डको जवाफ थियो, ’अहिले दुई तिहाइको कुरा नगरौँ।’

नेकपाका वरिष्ठ नेता एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले सत्ता र प्रतिपक्षीहरू सामाजिक कार्यक्रममा सहभागी हुने संस्कृति नेपाली राजनीतिको ‘ब्युटी’ भएको टिप्पणी गरेका थिए। विदेशमा सत्तापक्ष र प्रतिपक्षी दलका नेताहरूबीच बोलचाल पनि नहुने भन्दै उनले नेपालमा भने सांस्कृतिक कार्यक्रमहरूमा एकसाथ भेला हुने संस्कृति नेपाली राजनीतिको राम्रो पक्ष भएको बताए। उनले चिनियाँ राष्ट्रपति सी जिनपिङको नेपाल भ्रमण भव्य र शानदार भएको दाबी गरेका थिए। भ्रमणका क्रममा पर्यटन र ऊर्जाको विकास गर्ने सम्बन्धमा भएको सम्झौता दुवै देशको हितमा रहेको टिप्पणी उनले गरेका थिए।

नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले मुलुकमा राजनीतिक परिर्वतन ल्याउने समयमा भएको दलहरूबीचको सहकार्य र एकतालाई अहिले पनि निरन्तरता दिनुपर्ने बताए। उनले प्रतिपक्षी दलले राष्ट्रिय मुद्धाहरूमा सरकारसँग सहकार्य र एकता गरेर आर्थिक सम्मृद्धिको लक्षय हासिल गर्ने मार्गमा अघि बढ्नुपर्ने आवश्यकता औँल्याएका थिए।

समाजवादी पार्टी नेपालका संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराईले लोकतन्त्रको सवालमा आफुहरू सधै कांग्रेससँग सहकार्य गर्न तयार रहेको बताए। चिनियाँ राष्ट्रपति सीको नेपाल भ्रमण सफल रहेको भन्दै उनले दुवै सरकारलाई धन्यवाद र बधाई पनि दिएका थिए। उनले भ्रमणको सफलतालाई ‘मामाको कोसेली’को रूपमा विश्लेषण गर्न नहुने टिप्पणी गरेका थिए।

उनले भने, ‘हाम्रा विदेशी पाहुना आउँदा खाली केटाकेटीमा मामा आउँदा के ल्याईदिए? के कति मिठाई दिए? कति दक्षिणा दिए? भने जस्तो सोच हामीले राख्नुहुँदैन। मित्रराष्ट्रहरूसँगको सम्बन्ध भनेको राजनीतिक र समग्र सामरिक हितलाई ध्यानमा राखेर हुनुपर्छ। चीन सदैव हाम्रो मित्रराष्ट्र रहँदै आएको छ।’

कांग्रेसले आयोजना गरेको चियापान कार्यक्रममा प्रधामन्त्री ओली, नेकपाका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री प्रचण्ड, नेकपाका नेता एवं पूर्वप्रधानमन्त्रीद्वय झलनाथ खनाल र माधवकुमार नेपाल, उपप्रधानमन्त्री एवं रक्षामन्त्री ईश्वर पोखरेल, समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष एवं पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई, राष्ट्रिय जनता पार्टी नेपालका अध्यक्ष मण्डलका संयोजक महन्थ ठाकुर, नेकपा (माले)का महासचिव सिपी मैनाली, राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापालगायत विभिन्न दलका शीर्ष नेताहरूले शुभकामना दिएका थिए।

कांग्रेसलाई शुभकामना दिन विभिन्न दलका शीर्ष नेता, मन्त्रीहरू, सांसद, राष्ट्रसेवक कर्मचारी, कुटनीतिक नियोगका प्रतिनिधि, उद्योगपति एवं व्यवसायी, नागरिक समाजका अगुवा, कानून व्यवसायी, मानवाधिकारकर्मी, सञ्चारकर्मी, पार्टीका नेता कार्यकतालगायत हजारौँको उपस्थिति थियो।

कार्यक्रममा आमन्त्रण गरिएका अतिथिहरूलाई पार्टी सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, उपसभापतिद्वय विमलेन्द्र निधि र विजयकुमार गच्छदार, महामन्त्रीद्वय डा. शशांक कोइराला र पूर्णबहादुर खड्का, कोषाध्यक्ष सीतादेवी यादव, सहमहामन्त्री डा. प्रकाशशरण महतलगायतका नेताले स्वागत गरेका थिए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.