माग पुरा गर्न फेरि अनशन बस्‍ने

|

काठमाडौं :  प्रा.डा. गोविन्द केसीले  २६ वर्षे  सरकारी चिकित्सा सेवाबाट विदा लिएका छन्। त्रिवि शिक्षण अस्पताल महाराजगञ्जका वरिष्ठ हाडजोर्नी तथा नशा रोग विशेषज्ञ केसीले ६३ वर्षको उमेरमा सोमबारदेखि सरकारी सेवाबाट अवकास पाएका हुन्।

 २६ वर्ष चिकित्सा सेवामा बिताएका केसी त्रिवि शिक्षण अस्पतालको चिकित्साशास्त्र अध्ययन संस्थान तत्कालीन डिन डा. धर्मकान्त बास्कोटाको बर्खास्ती माग गर्दै २०६९ को असार २१ मा पहिलो पटक अनशन बसेदेखि यता अभियान्ताका रुपमा चिनिए।

२०६९ सालमा पहिलो अनशन बसेका केसीले त्यसयता १६ पटक अनशन बसे। ती सबै अनशन उनले शिक्षण अस्पताल परिसरमा त्यहाँका विद्यार्थी चिकित्सक र अन्यको सहयोगमा बसे। ती सबै सत्याग्रह सफल भएको स्वयम् केसीले बताउँदै आएका छन्।

६३ वर्षीय डा. केसी त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा वरिष्ठ हाडजोर्नी तथा नशा रोग विशेषज्ञका रुपमा कार्यरत थिए। यस अघि डा. केसीको नागरिकता, एसएलसीको चारित्रिक प्रमाणपत्र र बढुवा फारममा फरक-फरक जन्ममिति भेटिएपछि विवादमा परेका थिए। डा. केसीको नागरिकतामा जन्ममिति २७ असोज २०१३ छ। त्यही आधारमा नै उनले सोमबारबाट सेवाबाट अवकास पाएका हुन्।

२९ वर्षसम्म शिक्षण अस्पतालमा बसेका केसीले आजबाट औपचारीक रुपमा शिक्षण अस्पताल छोड्दै छन्। त्यही क्रमा केसीले सोमबार प्रेस मिट पनि गर्न भ्याए। नले यति लामो समय बिताएको शिक्षण अस्पतालमा आफूले सकेको सहयोग गरे पनि आफूलाई केही गर्न सकेको जस्तो नलागेको बताए।

उनले भने,‘लामो समय यहाँ चिकित्सा सेवामा बिताएँ, धेरै विद्यार्थीलाई पढाएर डाक्टर पनि बनाएँ तर अब म आजदेखि यहाँबाट औपचारिकरुपमा जाँदै छु। मैले अझै केही गर्न सकेको जस्तो लागेको छैन।'

बाँकी जीवन स्वास्थ्य-शिक्षामै

२६ वर्षे सेवा अवधि पूरा गरेर त्रिवि शिक्षण अस्पतालबाट बिदा लिँदै गर्दा डा केसीले अब झन् गुणस्तरीय चिकित्सा शिक्षा कायम गर्न लड्ने समय मिलेको बताएका छन्। 

‘आजबाट म यहाँबाट मात्र अवकाश भएको हो, आखिर म डाक्टर हुँ, जसले गर्दा एक नागरिकका रुपमा भए पनि गुणस्तरीय चिकित्सा शिक्षा र स्वास्थ्यको लागि लडिरहन्छु', उनले भने। 

आन्दोलनमा उतारचढाव

पहिलोदेखि  सातौँ अनशनसम्म केसीका मागहरू चिकित्सा शिक्षासँग मात्रै जोडिएका थिए। आठौँ अनशनदेखि केसीले संवैधानिक निकायदेखि न्यायालयका प्रमुखमाथि महाअभियोगसम्मका माग राखेर अनशन बसे।

आठौँ अनशनदेखि राजनैतिक विषयले प्रवेश पायो। त्यसपछि विभिन्‍न सामाजिक संघसंस्थासहित राजनैतिक दल र तिनका नेतासमेत केसीको अनशनको पक्ष-विपक्षमा उभिने क्रम सुरु भयो।

चिकित्सा शिक्षा क्षेत्र सुधारभन्दा निजी मेडिकल कलेजलाई प्रोत्साहन गरिएको भन्दै अख्तियारका तत्कालीन प्रमुख आयुक्त लोकमानसिंह कार्कीमाथि महाभियोग लगाउनु पर्ने मागसहित उनी अनशनमा बसे।

आईओएमका डीन डा. शशी शर्मालाई सर्वोच्च अदालतले पुनर्बहाली गरेपछि केसीले पत्रकार सम्मेलन गर्दै प्रधानन्यायाधीश गोपाल पराजुली ‘माफियाको मतियार’ भन्दै उनैविरुद्ध अनशन बसे बसेपछि केसीको झनै चर्चा र विवादमा परे।

अहिले पनि केसीले बाँकी समय चिकित्सा शिक्षा स्वास्थ्य तथा समाजका अन्य विकृतिविरुद्ध खर्चिने बताएका छन्। यसपाली पनि केसीले सरकारले तोकिदिएको भन्दा बढी शुल्क असुल्ने मेडिकल कलेजहरुलाई फौजदारी मुद्दा लगाएर कारबाही गर्नुपर्ने माग गरेका छन्। 

यसका साथै उनले प्रधानमन्त्री केपी शर्मा ओलीको उपचार खर्च पारदर्शी हुनुपर्ने पनि माग राखेका छन्। यिनै मागसहित उनले १७ औ अनशनको चेतावनी दिएका हुन्। अब शिक्षण अस्पतालमा नभइ देशको जुनसुकै ठाउँमा पुगेर आफू अनशन बस्‍नेसमेत उनले संकेत गरिसकेका छन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.