भ्रमण भव्य भएको दुवै नेताको निष्कर्ष, थप समीक्षा सचिवालयले गर्ने

|

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओली र नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले चीनका राष्ट्रपति सी जिनपिङको नेपाल भ्रमणको समीक्षा गरेका छन्।

सी भ्रमणको थप समीक्षा र पार्टी एकता लगायतका कामको टुंगो लगाउन सचिवालय बैठक बोलाउनेबारे पनि दुवैबीच छलफल भएको बताइएको छ। तर, सचिवालय बैठक बस्ने मिति निश्चित भइसकेको छैन। 

ओली र प्रचण्डले सोमबार बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा राष्ट्रपति सीले गरेको नेपालको राजकीय भ्रमणको समीक्षा गरेका हुन्।

चीनबाट राष्ट्रपतिस्तरमा २३ वर्षपछि भएको भ्रमण भव्य भएको दुवै नेताको निष्कर्ष रहेको बालुवाटार स्रोतले बताएको छ। दुई देशबीच भएका सन्धि, व्यवस्थापन र सुरक्षाका दृष्टिले पनि सीको भ्रमण सफल रहेको दुवै नेताको समीक्षा छ।

सी भ्रमणको थप समीक्षा गर्न नेकपाले सचिवालय बैठक बोलाउने भएको छ। सीको भ्रमण र पार्टीका एकताका बाँकी काम सम्पन्‍न गर्न पनि सचिवालय बैठक छिट्टै बोलाउनेबारे दुवै अध्यक्षबीच छलफल भएको बताइएको छ।

तत्कालीन एमाले र माओवादीबीच एकता भएर नेकपा गठन भएपछिको एकता प्रक्रिया टुंगो लागेको छ। नेकपाले लेखा परीक्षण आयोग, केन्द्रीय अनुशासन आयोग, निर्वाचन आयोग लगायतका केन्द्रीय आयोग गठन र एकता गर्न बाँकी रहेको छ।

अबको सचिवालय बैठकमा सत्य निरुपण तथा मेलमिलाप र बेपत्ता छानबिन आयोगमा नियक्ति प्रक्रियाबारे पनि छलफल हुने बालुवाटार स्रोतले बताएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.