|

–भरत केसी

काठमाडाैं : बुद्ध जन्मस्थल लुम्बिनीलगायत यससँग सम्बन्धित क्षेत्रमा आन्तरिक पर्यटन प्रवर्द्धन तथा विकास गर्ने उद्देश्यले प्रदेश ५ सरकारले लुम्बिनी भ्रमण वर्ष २०७६ सञ्चालन गरेको छ। 

भ्रमण वर्षमा लुम्बिनी र यससँग सम्बन्धित क्षेत्रमा विभिन्न कार्यक्रम आयोजना गरिएका छन्। यसले लुम्बिनी मात्र नभएर यससँग सम्बन्धित कपिलवस्तुमा रहेको गौतमबुद्धले २९ वर्षसम्म बिताएको राजा शुद्धोधनको दरबार तिलौराकोट क्षेत्र, कनकमुनि बुद्धको जन्मस्थल रहेको निग्लीहवा, क्रकुुछन्द बुद्धको जन्मस्थल गोटिहवा, कुदान, अरौराकोट लगायतका क्षेत्रको प्रचार-प्रसार, संरक्षण र विकासका लागि भ्रमण वर्षमा विभिन्न कार्यक्रम आयोजना भइरहेका छन्।

यस्तै नवलपरासीको रामग्राम स्तूपा, रुपन्देहीको देवदह, भवानीपुर, नवलपरासीको पण्डितपुर लगायतका क्षेत्रमा पनि भ्रमण वर्षका विभिन्न कार्यक्रम आयोजना हुँदै आएका छन्। लुम्बिनी भ्रमण वर्षको गत जेठ ४ गते बुद्ध पूर्णिमाका अवसरमा लुम्बिनीमा आयोजित कार्यक्रममा राष्ट्रपति विद्यादेवी भण्डारीले शुभारम्भ गरिन्। भ्रमण वर्षको शुभारम्भसँगै लुम्बिनी र यससँग सम्बन्धित विभिन्न क्षेत्रमा भ्रमण वर्षका कार्यक्रम आयोजना हुँदै आएका छन्।

यसअघि बुद्ध जन्मस्थल लुम्बिनीमा मात्र केन्द्रित गरेर आयोजना हुने गरेका कार्यक्रम प्रदेश सरकारले लुम्बिनी भ्रमण वर्षका कार्यक्रममा लुम्बिनीसँगै बुद्धसँग सम्बन्धित महत्वपूर्ण ऐतिहासिक सम्पदा क्षेत्रलाई समेत केन्द्रित गरेर कार्यक्रम आयोजना गरिएका हुन्।

 प्रदेश सरकारले घोषणा गरेको लुम्बिनी भ्रमण वर्षमा पनि प्रत्येक महिनाको पूर्णिमामा एउटा बौद्ध क्षेत्रमा कार्यक्रमको आयोजना गरिँदै आएको छ। यसरी कार्यक्रम आयोजना गर्दा ओझेलमा परेका ती क्षेत्र पर्यटकीय हिसाबले विकास गर्न महत्वपूर्ण अपेक्षा गरिएको छ।

भ्रमण वर्षको कार्यक्रमअन्तर्गत हरेक महिनाको पूर्णिमामा आयोजना हुने कार्यक्रम आइतबार क्रकुछन्द बुद्धको जन्मस्थल मानिएको कपिलवस्तुको गोटीहवामा असोज पूर्णिमा (फूलमुन डे) उत्सव सम्पन्न भएको छ।

यहाँ इसापूर्व २४९ मा राजा अशोकले यही स्थानलाई नै क्रकुछन्द बुद्धको जन्मस्थलका रुपमा पहिचान गरी आशोक स्तम्भ गाडेका थिए। अशोकस्तम्भको माथिल्लो भाग भाँचिएको छ भने यस क्षेत्रमा इँटाका खण्डहर, कुवालगायतका संरचना छरिएर रहेका छन्। यो क्षेत्र शाक्यमुनि राजा शुद्धोधनको दरबार क्षेत्र तिलौराकोटदेखि झण्डै आठ किलोमिटर दक्षिण पश्चिममा रहेको छ।  

प्रदेश ५ का उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयद्वारा गौतमबुद्धसँग सम्बन्धित प्राचीन ऐतिहासिक महत्वपूर्ण स्थलमा हरेक महिनाको पूर्णिमामा आयोजना गरिने पूर्णिमा उत्सव कार्यक्रम आइतबार कपिलवस्तु नगरपालिका ५ गोटीहवामा असोज पूर्णिमा उत्सव कार्यक्रम मनाइएको हो।

कार्यक्रमलाई सम्बोद्धन गर्दै प्रदेश ५ का उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री लीला गिरीले प्रदेश सरकारले अब गौतमबुद्धको जन्मस्थल लुम्बिनीसँगै त्यससँग सम्बन्धित महत्वपूर्ण प्राचीनस्थलको संरक्षण र संवद्र्धन गर्नुका साथै पर्यटकीय क्षेत्रका रुपमा विकास गर्दै लैजाने बताए।

उनले अब सबै मिलेर विकास निर्माणमा अगाडि बढ्नुपर्ने आवश्यकता औ‍‌‍ल्याए। मन्त्री गिरीले प्रदेश ५ मा अपार सम्पदा रहेको बताउँदै ती सम्पदाको उचित संरक्षण, संवर्द्धन गरी प्रचार-प्रसार गर्नसके प्रदेश मात्रै नभएर मुलुक समृद्ध बन्नसक्ने बताए। उनले बुद्ध जन्मस्थल लुम्बिनीसँगै तिलौराकोट, सैनामैना, देवदह, रामग्राम, पण्डितपुर लगायतका क्षेत्रलाई समेटेर एकीकृत विकास गर्ने प्रदेश सरकारको योजनामा रहेको जानकारी गराए।

कार्यक्रममा उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयकी सचिव राधा वाग्लेले गौतमबुद्धको जन्मस्थल र त्यससँग सम्बन्धित महत्वपूर्ण क्षेत्रको विकास र प्रचार-प्रसार गर्नसके मुलुक समृद्ध बन्नसक्ने विचार व्यक्त गरे।

कार्यक्रममा प्रदेशसभा सदस्य धर्मबहादुरलाल श्रीवास्तव, सहश्रराम यादव, कपिलवस्तुका प्रमुख जिल्ला अधिकारी गजेन्द्रबहादुर श्रेष्ठ, लुम्बिनी विकास कोषका कोषाध्यक्ष सुरेन्द्रमुनी शाक्य लगायतले कपिलवस्तु जिल्लामा गौतमबुद्धसँग सम्बन्धित धेरै महत्वपूर्णस्थल रहेको भन्दै त्यस्ता ठाउँको उचित संरक्षण, संवद्र्धन गर्दै पर्यटकीयस्थलका रुपमा विकास गर्नुपर्नेमा जोड दिए। सो अवसरमा सो स्थानमा रहेका अशोक स्तम्भमा दीप प्रज्वलनसमेत गरिएको थियो। 

लुम्बिनी भ्रमण वर्ष कार्यक्रमअन्तर्गत हरेक महिनाको पूर्णिमामा आयोजना हुने पूर्णिमा उत्सव कार्यक्रम यसअघि भदौ पूर्णिमा उत्सव कनकमुनी बुद्धको जन्मस्थल निगलिहवामा, असार पूर्णिमा उत्सव गौतमबुद्धको मावली क्षेत्र मानिएको देवदहको भवानीपुरमा आयोजना गरिएको थियो। 

यस्तै आगामी कार्यक्रम कार्तिक पूर्णिमा उत्सव बुद्धका अनन्य अनुयायी सारीपुत्रको परिनिर्माण क्षेत्र रहेको कुदानमा, मंसिर पूर्णिमा उत्सव बुद्ध जन्मस्थल लुम्बिनीमा, पुस पूर्णिमा उत्सव कार्यक्रम मगध राजा बिम्बिसारको गृह राजगिरी आगमन क्षेत्र मानिएको अरौराकोट, माघ पूर्णिमा उत्सव कार्यक्रम बुद्धले दरबार त्याग गरी हिँडेपछि कपाल मुन्डन गरेको स्थान अनोमा नदीमा र फागुन पूर्णिमा पण्डितपुरमा आयोजना गरिने मन्त्रालयले जनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.