|

बाँके : भित्र्याउने बेला बाँकेका किसानले रोपेको धानमा फौजी किराको प्रकोप देखिएपछि किसान चिन्तित भएका छन्। डुडुवा, राप्तीसोनारी गाउँपालिका र नेपालगन्ज उपमहानगरपालिकाका केही वडामा फौजी किराले धान सखाप पारेको किसानको गुनासो छ।

डुडुवा गाउँपालिका–६, कालाबन्जरमा मात्र १०० हेक्टरमा लगाएको धानमा फौजी किराले धानमा क्षति पुर्‍याएको वडाध्यक्ष मोहनराम मिश्रले जानकारी दिए। उनले छोटो समयमा धेरै धानवालीमा किराले क्षति पुर्‍याएको बताए।

फौजी किराले रातको समयमा धानको बाला काटेर खाने गरेपछि किसानले लगाएको धानबाली दिन प्रतिदिन नोक्सान हुँदै गएको छ। उनले भने, ‘सुरुमा थोरै धान खेतीमा देखा परेको फौजी किरा एक सातामै फैलिएर १०० भन्दा बढी हेक्टर जमिनमा लगाएको धानबालीमा क्षति पुगेको छ।’

डुडुवा गाउँपालिका–६, कालाबन्जरका रतिराम कुम्हारले ४० कठ्ठा जमिनमा लगाएको धान फौजी किराले काटेर क्षति पुर्‍याएको बताए। ‘यस वर्ष धान निकै राम्रो भएको थियो,’ उनले भने, ‘एक कठ्ठामा साढे दुई क्विन्टल फल्ने अनुमान गरेको थियौँ। तर घरमा भित्र्याउने बेला फौजी किराले सखाप पार्‍यो।’

स्थानीय किसान अफिद अलीले पनि ४० कठ्ठा जमिनमा लगाएको धान फौजी किराले नष्ट बनाएको गुनासो गरे। उनले एक कट्ठामा मुस्किलले पाँच किलो फल्ने बताए। उनले भने, ‘लहलह धानको बाला झुलेको खेतमा पछिल्लो समय धानको बाला नै देखिँदैन।’

बाँकेका किसानले लगाएको धानमा दिनप्रति दिन फौजी किरा फैलिँदै गएको कृषि ज्ञान केन्द्र, बाँकेका प्रमुख वरिष्ठ कृषि विकास अधिकृत सागर ढकालले बताए। बाँकेमा ५०० हेक्टरभन्दा बढी क्षेत्रफलमा फौजी किराको प्रकोप फैलिएको बताए। छिनभरमै किराले धान नष्ट पार्ने भएकाले नियन्त्रणको प्रयास भए पनि सोँचे जस्तो सफल हुन नसकेको अधिकृत ढकालले बताए। 

फौजी किराले अत्यन्तै छिटो नोक्सान पुर्‍याउँछ। ‘ढिलोगरी सूचना आएकाले क्षति कम गर्न समस्या भएको अधिकृत ढकालले बताए। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.