|
फिफा अध्यक्ष जियानी इन्फान्टिनोले सहभागि राष्ट्रको संख्या बढाउनुपर्ने बताउँदै आएका छन्

ज्युरिच : विश्वकप फुटबलमा अब ४८ टिमले प्रतिस्पर्धा गर्न पाउनेछन्। तर यो निर्णय कार्यान्वयन हुन अझै ९ वर्ष लाग्नेछ।

फिफाले सन् २०२६ को विश्वकपमा सहभागि टोलीको संख्यालाई ३२ बाट ४८ पुर्‍‍याउने निर्णय गरेको छ। यस निर्णयपछि सन् २०२६ को विश्वकपमा १६ समूहमा ४८ देशले प्रतिस्पर्धा गर्नेछन्। प्रत्येक समुहमा ३–३ राष्ट्र हुनेछन्।

स्विचरल्यान्डको ज्युरिजस्थित फिफाको मुख्यालयमा भएको बैठकबाट सहभागि टोलीको संख्या ४८ पुर्‍याउने निर्णय निर्विरोध पारित भएको हो। यस निर्णयपछि विश्वकपको खेलसंख्या ६४ बाट ८० पुग्नेछ। तर उपाधि जित्ने टोलीले अहिलेजस्तै ७ खेल खेल पुग्छ। प्रतियोगिता ३२ दिनसम्म चल्नेछ। यसअघि युरोपली फुटबल क्लबहरुले प्रतियोगिताको अवधि बढाउन नमिल्ने तर्क गर्दै आएका थिए।

सन् १९९८ पछि विश्वकपमा पहिलोपटक सहभागि टोलीको संख्या बढाइएको हो। यसअघि सन् १९९४ को विश्वकपमा २४ टोलीले प्रतिस्पर्धा गरेका थिए। १९९८ मा फ्रान्समा भएको विश्वकपमा सहभागि टोलीको संख्या ३२ पुर्‍याइयो। त्यसयता सन् २००२, २००६, २०१० र २०१४ को विश्वकपमा ३२ टोलीले प्रतिस्पर्धा गरे। सन् २०१८ मा रुस तथा सन् २०२२ मा कतारमा हुने विश्वकपमा पनि ३२ टोलीले भने प्रतिस्पर्धा गर्नेछन्।

किन बढाइयो?

फिफाका अध्यक्ष जियानी इन्फान्टिनोले विश्वकपको दायरा फराकिलो बनाउनुपर्ने बताउँदै आएका छन्। गत डिसेम्बरमा दुबइमा भएको सम्मेलनमा इन्फान्टिनोले सहभागि टोलीको संख्या बढाउँदा विश्वभर फुटबल विकासमा सहयोग पुग्ने बताएका थिए।

‘विश्वकपमा सहभागि हुने अवसर नै सम्बन्धित देशमा फुटबल विकासको सबैभन्दा ठूलो अवसर हो। यो भन्दा ठुलो अवसर अरु हुन सक्दैन,’ इन्फान्टिनोले भनेका थिए।

फिफाले यसरी सहभागि टोलीको संख्या बढाउँदा रेभिन्यु बढ्ने अनुमान लगाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.