देशका मौलिक विशेषतालाई ख्याल पर्नेमा नेकपाको जोड

|

टर्कीको इज्मिरमा आयोजित विश्वका कम्युनिष्ट तथा श्रमिक पार्टीहरूको २१ औं बैठकमा नेपाल कम्युनिष्ट पार्टीले आ-आफ्ना देशका मौलिक विशेषतालाई ख्याल गर्दै कम्युनिष्ट पार्टीलाई लोकप्रिय, जनमुखी र बलियो बनाउन सक्दा मात्रै परिवर्तनको सपनालाई साकार पार्न सकिनेमा जोड दिएको छ। नेकपाका तर्फबाट केन्द्रीय सदस्य तथा विदेश विभाग उपप्रमुख विष्णु रिजालले कार्यक्रमलाई सम्बोधन गर्दै नेपालमा यसैमा जोड दिएका कारण नेकपा लोकप्रिय, क्रान्तिकारी र लोकतान्त्रिक शक्तिका रूपमा स्थापित भएको स्मरण गराए।

६० देशका ७५ कम्युनिष्ट पार्टीहरूको सहभागिता रहेको उक्त बैठकको आयोजना टर्की र ग्रीसका कम्युनिष्ट पार्टीले संयुक्त रूपमा गरेका हुन्। विश्वका सबै खालका कम्युनिष्ट पार्टीहरूको साझा मञ्चका रूपमा रहेको कम्युनिष्ट तथा श्रमिक पार्टीहरूको अन्तर्राष्ट्रिय बैठक (आइएमसीडब्लुपी)नामक उक्त मञ्च सन् १९९८ बाट हरेक वर्ष आयोजना हुँदै आएको छ।

सन् १९१९ मा लेनिनको नेतृत्वमा ‘कम्युनिष्ट इन्टरनेशनल’ स्थापना भएको सय वर्षको सन्दर्भ पारेर आयोजना गरिएको बैठकको मूल नारा ‘कम्युनिष्ट अन्तर्राष्ट्रिय स्थापनाको सयौँ वार्षिकोत्सव : शान्ति र समाजवादका लागि लडाइँ जारी छ’ रहेको छ।

शुक्रबार सुरु भएको सम्मेलन तीन दिनसम्म चल्नेछ। बैठकको शुरुवात आयोजक टर्की कम्युनिष्ट पार्टीका महासचिव केमल ओकुयान र ग्रीस कम्युनिष्ट  पार्टीका महासचिव दिमित्रिस कोत्सोम्वसले गरेका थिए।

मुख्य बैठकअघि बिहीबार बसेको कार्यकारी समूह (वर्किङ ग्रुप) को बैठकले एजेन्डा तय गर्नुका साथै बैठकपछि जारी गरिने वक्तव्यको मस्यौदामा सहमति जुटाएको थियो। विश्वका २५ वटा प्रमुख कम्युनिष्ट पार्टीहरु रहेको वर्किङ ग्रुपमा नेकपा सदस्य छ।

निर्वाचनबाट सत्तामा आएको विश्वको एक मात्र कम्युनिष्ट पार्टी भएकाले नेकपालाई विशेष रूपमा लिइन्छ। कम्युनिष्ट प्रणाली भएका चीन, क्युवा, उत्तर कोरिया, भियतनाम र लाओसले पनि आ-आफ्नो देशको मौलिकताअनुसार समाजवाद निर्माण गर्नुपर्नेमा जोड दिएका थिए। कार्यक्रममा कम्युनिष्ट आन्दोलनका अनुभवबाट शिक्षा लिँदै यसको भविष्यका लागि समय सापेक्ष हुन विश्वका कम्युनिष्ट पार्टीहरूलाई नेपालका तर्फबाट आह्वान गरिएको छ।

उपप्रमुख रिजालले भने, ‘जनताका हरेक सुख-दु:खमा सधैँ साथमै रहेकाले नेपाली जनताले हामीलाई दुई तिहाई  मत दिएका छन्।’ आफ्नो पार्टी र सरकारको उद्देश्य  सामन्तवादका अवशेष र पुँजीवादका विकृतिहरूलाई समाप्त पार्दै नेपाललाई समाजवादतर्फ लैजाने रहेको उल्लेख गर्दै उनले त्यसैका लागि ‘सुखी नेपाली : समृद्ध नेपाल’ को नाराका साथ सरकारले काम गरिरहेको जानकारी विश्व समुदायलाई दिए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.