|

दमक : झापा लखनपुरको आदिवासी रंगशालाको नाममा निर्माण प्रारम्भ भएर रोकिएको रंगशालाको नाम परिवर्तनको विषयमा फेरि विवाद भएको छ।

केपी ओली नेतृत्वको सरकारले ल्याएको बजेटमा रंगशालाको नाम परिवर्तन गरी मदन भण्डारी अन्तराष्ट्रिय रंगशाला उल्लेख गरेसंगै उठेको विवाद मंगलबार ओली सहभागी कार्यक्रममा फेरि पनि देखा पर्‍यो।

मंगलबार दमक नगरपालिकाले निर्माण गरेको आकाशेपुलको उद्घाटन गर्दै एमाले अध्यक्ष ओलीले ओलीले रंगशाला निर्माणस्थलमा पहिले भएका चिहान हटाएर स्मारक निर्माण गरिसकिएकोले भावनाको राजनीति नगर्न आग्रह गरेका थिए।

उनले भने,‘ हामीले आदिवासीको नाममा स्मारक बनाएकै छौं, जननेता मदन भण्डारीको नाममा रंगशाला बनाउदा के भो त? विकासमा बाधा नगरौं, राजनीतिका नाममा के के गर्नेहरुले विकास हुन दिएनन्।’

ओलीले आफ्नो भनाई टुंग्याएपछि नेपाली कांग्रेसकी सांसद महेन्द्रकुमारी लिम्बुले माइक्रोफोन खोसेर रंगशालाका बिषयमा ओलीको भनाइप्रति आपत्ति जनाइन्। कार्यक्रममा पहिले नै मन्तव्य राखिसकेकी उनले आदिवासी जनजातिका दिवंगत पितृहरुको अपमान हुने गरी ओलीले दिएको अभिव्यक्तिले आफूहरुको भावनामा चोट पुगेको गुनासो गरिन्। ‘हाम्रो बाबु, बाजेको चिहान खनेर भण्डारीको नाममा रङशाला निर्माण गर्न दिदैनौं' सांसद सुब्बाले झोँक्किदै भनिन्,‘शक्तिको आडमा कसैलाइ पनि मनपरी गर्न छुट छैन।’

उनले शक्ति हातमा लिएर रङ्गशालाको निर्माणमा एमालेले आफ्नो स्वार्थ खोज्नु लज्जाको विषय भएको बताइन्। ‘आदिवासी रङ्गशालाको नाम फेरिदैन’ सांसद सुब्बाले कडा चेतावनी दिदै भनिन्,‘एमालेले साथ नदिएपनि हामी रङ्गशाला बनाउछौं।’

सांसद लिम्बु आकाशे पूल उद्घाटन कार्यक्रमको विशिष्ट अतिथि समेत थिइन्।  उनले सो रंङ्गशाला निर्माणको योजना प्रारम्भ हुनुअघि समाधि रहेका दिवंगतहरुका परिवार, स्थानीयबासी, राजनीतिक दलहरु समेतको सहमति अनुसार सो रंगशालाको नाम आदिवासी रंङ्गशाला राखिएको भन्दै आदिवासीहरुको भावनामाथि चोट पुग्ने गरी एमाले र ओलीले नाम परिवतर्नन गर्न लगाएर दिवंगतका परिवारको भावनामा चोट पुर्‍याएको बताइन्। 

रंगशालालाई गत आर्थिक वर्ष २०७१/७२ को नेपाल सरकारको नीति तथा कार्यक्रममा मदन भण्डारी रंगशाला नामंकन गरेको थियो। तत्कालिन अर्थ मन्त्री रामशण महतले सरकारको नीति तथा कार्यक्रममा मदन भण्डारी रंगशाला भनेयता रंगशाला तथा स्मृति पार्क निर्माण कार्य समितिले विरोध गर्दा विवाद उत्पन्न भएपछि रंगशाला निर्माणको काम अलपत्र परेको थियो।

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले त्यतिबेला मदन भण्डारी रंगशाला नबनाएसम्म बजेट पास नै हुन नदिएको पूर्व अर्थ मन्त्री महतले दमक आउँदा बताएका थिए। आदिवासी जनजातिहरुको करिब ७४५ वटा समाधिहरु उत्खनन् गरेर नेपाल सरकारले आदिवासीको नाममा रंगशाला बनाइदिने भनेको थियो।

२०६६ सालमा आदिवासीको समाधिस्थल रहेको र त्यस स्थानलाई सरकारले आदिवासीका नाममा अन्तर्राष्ट्रिय स्तरको रंगशाला बनाउने भनेका कारण त्यहाँ रहेको समाधिहरु उत्खनन् गरेको निर्माण समितिका अध्यक्ष नित्यानन्द ताजपूरीयाले जानकारी दिए।

रातो किताबमा नै आदिवासी रंगशालाको नाम समावेश भएपनि केपी ओली नेतृत्वको सरकारले मदन भण्डारीको नाममा गत अर्थिक वर्ष २०७१/७२ मा ४० लाख रुपैयाँ विनियोजन गरेको भएपनि हालसम्म रंगशाला निर्माण हुन सकेको छैन।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.